कास्की- , भाद्र २८ - एक गाउँ एक उत्पादन भनिएको यस क्षेत्र आसपासका गाउँलेले कृषि पर्यटनलाई बढावा दिन लागिपरेका छन् । स्थानीय समुदायको सीपलाई सदुपयोग गरी उनीहरूको आर्थिक विकास एवं गरिबी न्यूनीकरणमा सहयोग पुर्याउन, नेपाल सरकार, लेखनाथ उद्योग वाणिज्य संघ तथा कृषि उद्यम केन्द्रको पहलमा दुई वर्षअघि थालिएको यो अभियानमा गाउँले जुटेका हुन् ।
यो कार्यक्रम लेखनाथको तालचोकदेखि बेगनासताल हुँदै पचभैया, सुन्दरीडाँडा, छिचोल्दै हंसपुर र थुम्की गाविससम्म तोकिएको छ । कार्यक्रमले यस क्षेत्रका बासिन्दाले माछापालन, मौरीपालन, भैंसीपालन, सुन्तला खेती, कफी व्यवसायलाई थप व्यवसायीकरण गरी आयआर्जनमा वृद्धि गर्न सक्षम भएका छन् ।
संघले उनीहरूलाई माछाका लागि पोखरी निर्माण, भैंसीका लागि भैंसी, मौरीका लागि घार, कफीका लागि मेसिन, सुन्तलाका लागि कलमी बिरुवा प्रदान गर्नुका साथै विभिन्न तालिम र किसानलाई हौसला दिने कार्यक्रम सञ्चालन गरिरहेको छ । 'गाउँगाउँमा पर्यटक पुगुन् र स्थानीयले लाभ लिन सकुन् भनेर यो कार्यक्रम सञ्चालनमा आएको हो,' लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम जमरकट्टेलले भने, 'सात तालको बगैंचा सहरमा यो कार्यक्रमले कृषि पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याएको छ ।' उनका अनुसार कार्यक्रम लागू भएपछि यहाँका १ हजारभन्दा बढी बासिन्दाहरू लाभान्वित भएका छन् ।
यस कार्यक्रमले स्थानीय रूपमा आफ्नै विशेष पहिचान भएको वस्तुको उत्पादनलाई सिंगो गाउँभरि नै व्यावसायिक उत्पादन गरी आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न गाउँले सफल हुँदै गएका छन् । यसै कार्यक्रममार्फत कफी खेती सुरु गरेका पचभैयाका कफी किसान अर्जुन लम्सालले कफी पाठशाला सञ्चालन गरी गाउँलेलाई सिकाएपछि अहिले सिंगो गाउँ कफीको व्यावसायिक खेतीतर्फ लागेको छ ।
कफी गाउँका रूपमा चिनिएको पचभैयाको कफी अहिले अमेरिका जापान, नेदरल्यान्डसम्म पुग्न थालेको छ । 'एक गाउँ एक उत्पादनले हाम्रो आयस्रोत बढ्नुका साथै कृषि पर्यटनलाई समेत बढावा दिएको छ,' लम्सालले भने, 'गाउँमा पर्यटक भित्र्याउन यस्ता कार्यक्रमले हामी किसानलाई राहत मिलेको छ ।'
कार्यक्रमपछि गाउँलेले होटल रिसोर्ट, लज तथा अन्य व्यवसायको संख्यामा समेत वृद्धि गर्न सफल भएका छन् । त्यस्तै सुन्तला खेतीको क्षेत्रफल २२ हेक्टर, १२ सय मौरीघार र करिब १८ सय केजी मह उत्पादन, कफी खेतीको क्षेत्रफल ९ हेक्टर पुगेको जनाइएको छ । गाउँगाउँमा कृषि पर्यटनलाई प्रवर्द्धन गर्न होमस्टे, विभिन्न साइनबोर्ड, पर्यटकलाई गर्ने व्यवहारको तालिमसँगै अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks