काठमाडौ, भाद्र २८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, संविधान, राष्ट्रियता र स्वाधीनताका लागि नयाँ ढंगको विद्रोह गर्नुपर्ने बताएका छन् ।
'शान्ति र संविधान प्रमुख नारा बनाएर अघि बढ्नुपर्छ । तर विदेशी शक्तिको चलखेल र आन्तरिक प्रतिक्रियावादीका कारण यसको सम्भावना टर्दै गएको छ,' केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'विगतका उपलब्धि रक्षा गर्दै क्रान्ति सम्पन्न गर्न नयाँ ढंगको विद्रोहको तयारी गर्नुपर्छ । विद्रोहको प्रमुख आधार राष्ट्रियता र राष्ट्रिय स्वाधीनता हुनेछ ।'
नीतिगत अस्पष्टता भएको गुनासोको खण्डन गर्दै उनले आफ्नो राजनीतिक प्रतिवेदन क्रान्तिकारी, माक्र्सवादी र वैज्ञानिक भएको दाबीसमेत गरेका छन् । 'वैद्यजी अवैज्ञानिक खालका पुराना कुरामात्रै गर्नुहुन्छ, उहाँको प्रतिवेदन जडसूत्रवादी छ,' दाहालले भने, 'भट्टराईजीचाहिँ नयाँ-नयाँ कुरा गर्ने नाममा संशोधनवादी भासतिर जान लागेजस्तो देखिएको छ, उहाँको प्रतिवेदन बुर्जुवा सुधारवादी खालको छ ।' कतिपय विषयमा दुवै उपाध्यक्ष एकांकी भएको समेत आरोप लगाए । उनले वैदेशिक चलखेल कम गर्न र राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिन पनि आफू तयार रहेको बताएका थिए ।
उपाध्यक्ष मोहन वैद्यले मौलिक गणतन्त्रका नाममा लोकतान्त्रिक गणतन्त्रमै रुमल्लिएर पुरानै संसदीय प्रणालीलाई निरन्तरता दिने काम भएको भन्दै छुट्टै प्रतिवेदन पेस गरेका थिए । उनको प्रतिवेदनमा जनयुद्धको जगमा टेकेर जनगणतन्त्र स्थापनाका लागि जनविद्रोहको तयारी गर्नुपर्ने उल्लेख छ । अर्का उपाध्यक्ष भट्टराईको प्रतिवेदनमा एक्काइसौं शताब्दीको जनवाद स्थापनाका लागि शान्ति प्रक्रियाकै बाटो उपयुक्त भएकाले बाधा/अवरोध आए मात्रै जनतालाई पहिले सूचित गरी विद्रोहमा जानुपर्ने उल्लेख छ ।
माओवादीले तत्कालका लागि भने दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित जनताको संघीय गणतन्त्रको नीतिलाई कार्यदिशा बनाउने तथा शान्ति, संविधान र राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । बैठकले शान्ति, संविधान र राष्ट्रिय स्वाधीनताका लागि असोजभर देशव्यापी भित्तेलेखन र केन्द्र तथा जिल्लामा आमसभा, जनसभा तथा जनपरिचालन गर्नेजस्ता संघर्षका कार्यक्रम तय गरेको उनले जनाए ।
'राष्ट्रिय स्वाभिमान र स्वाधीनतामाथि आन्तरिक र बाह्य शक्तिबाट निरन्तर प्रहार भइरहेको छ । त्यसैले राष्ट्रिय स्वाभिमानका लागि सशक्त संघर्ष गर्ने निर्णय गरिएको छ,' प्रवक्ता शर्माले भने, 'यसका साथै संघर्षका क्रममा जनजीविकाका सबाललाई पनि उठाउनेछौं ।'
भावी कार्यदिशासम्बन्धी विवादको टुंगो भने कात्तिक ६ देखि सुरु हुने विस्तारित बैठकबाट गर्ने भएको छ । त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबाट आएका फरक-फरक प्रतिवेदन 'राज्य' र जिल्ला समितिमा छलफलका लागि पठाइने प्रवक्ता दीनानाथ शर्माले बताए ।
प्रधानमन्त्री चुनावबाट बाहिरिन सक्ने माओवादीले जारी प्रधानमन्त्री निर्वाचनबाट बाहिरिन सक्ने निर्णय पनि गरेको छ । बैठकमा बोल्ने अधिकांश सदस्यले परिणाम नआउने निर्वाचनको प्रक्रियाबाट बाहिरिनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्रीका प्रत्यासीद्वय माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेल दुवै सात पटकसम्म लगातार भएको निर्वाचनमा पराजित भइसकेका छन् । प्रधानमन्त्रीको आगामी निर्वाचन असोज १० गते हुने भएको छ । 'हामीलाई मत दिने दल तथा सभासद र मत नदिने मधेसी मोर्चामा आबद्धलगायतका दलसँग गम्भीर छलफल गरेर यो प्रक्रियाबाट बाहिरिने सम्बन्धमा चाँडै निष्कर्षमा पुग्ने निर्णय भएको छ,' शर्माले भने, 'केन्द्रीय कमिटीले यससम्बन्धी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ ।'
टेप साँचो हुन सक्छ’माओवादीले अपरिचित चिनियाँसँग आफ्ना विदेश विभाग प्रमुख कृष्णबहादुर महराले आर्थिक लेनदेनका विषयमा गरेको अडियो टेप साँचो पनि हुन सक्ने बताएको छ । 'त्यो टेप साँचो हुन पनि सक्छ, नहुन पनि सक्छ तर त्यसरी टेपिङ गरेर बाहिर ल्याउनु राष्ट्रिय सुरक्षा र मानव अधिकार तथा सम्बन्धित व्यक्तिको गोपनीयताको हकमाथिको नांगो हस्तक्षेप हो,' प्रवक्ता शर्माले भने, 'आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको विदेशी शक्तिले निर्वाचनको मुखमा षड्यन्त्रपूर्ण तरिकाले टेप सार्वजनिक गरेको हो । कुनै दूतावासले त्यसरी टेपिङ गरेर बाहिर ल्याउनु राष्ट्रिय स्वाधीनतामाथिको प्रहार हो ।'
प्रवक्ता शर्माले नेपालमा त्यसरी टेलिफोन ट्याप गर्न सक्ने तीन निकाय भएको जानकारी पार्टीले पाएको र त्यससम्बन्धमा छानबिन गर्ने जनाए । 'अमेरिकी र भारतीय दूतावासले टेलिफोन गरिरहेका छन्,' उनले भने, 'मुलुकभित्रको हकमा पहिले राजाहरूले नारायणहिटीमा प्रयोग गर्दै आएको टेलिफोन ट्याप गर्ने उपकरण नेपाली सेनाले प्रयोग गर्दै आएको हाम्रो जानकारीमा छ । यससम्बन्धमा पार्टीले छानबिन गर्नेछ । माओवादी बैठकले राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद अहिलेकै कार्यादेशमा ६ महिना थप गर्नुपर्ने निर्णयसमेत गरेको छ ।
पेरिसडाँडामा फोटोसेसन’केन्द्रीय समिति बैठक सकिएपछि माओवादीका सबै केन्द्रीय सदस्यले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा 'फोटोसेसन' गरेका छन् । माओवादीले आफ्नै कार्यकर्ता परिचालन गरी 'फोटोसेसन' गरेका हुन् । समाचार संकलनका लागि पुगेका सञ्चार माध्यमका क्यामरा पर्सन र फोटो पत्रकारलाई भने 'फोटो सेसन' को तस्बिर खिच्न रोक लगाइएको थियो । पार्टी कार्यालय प्रांगणमा पहिलो लहरमा ५० जति कुर्सी राखेर अध्यक्ष दाहाललगायतका नेता शीर्ष नेता वरीयताक्रमअनुसार लहरै बसेका थिए । बाँकी केन्द्रीय सदस्यहरू पछाडिपट्ट िउभिएर 'फोटोसेसन' गरेका थिए । माओवादी केन्द्रीय समितिमा १ सय ४७ सदस्य छन् । विभिन्न समाचार माध्यमका एक दर्जन बढी क्यामरा पर्सन र फोटो पत्रकारलाई माओवादी कार्यकर्ताले तस्बिर नलिन आग्रह गर्दै रोक लगाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks