Loving nepal news

Wednesday, September 8, 2010

प्वालबाट छिरेर बाँच्न सफल भएँ

मनोज बस्नेत

काभ्रे, भाद्र २३ - सुमन परियार (१२ वर्ष)

ज्याम्दी-६, रामपुर, काभ्रे

दिउँसोदेखि नै पानी परिरहेको थियो । खाना खाएर सोमबार साँझ साढे ८ बजेतिर एउटा खाटमा म सुतेको थिएँ, अर्को खाटमा बा (रामकाजी), आमा (शान्ति) र ५ वर्षे भाइ (सुजन) सुतेका थिए । निदाइरहेका बेलामा ड्याङ्ग गरेको आवाज सुनें, ब्युँझिएर यसो टाउको उठाउन खोज्दै थिएँ, माथिबाट ढुंगा आएर मेरो टाउकोमा लाग्यो ।

म रन्थनिएँ, ५/६ वटा दलिन पनि आएर मलाई किच्यो । म अत्तालिएँ । वरिपरि केही देख्न मुस्किल भयो । अगाडि सानो प्वाल देखें । मलाई किचेको दलिनमुनि छिरेर त्यसलाई समात्दै प्वालबाट बाहिर निस्किएँ । राति पानी परिरहेकै रहेछ । बत्ती पनि गएको थियो । बाहिर निस्केर 'आमा...' भनेर कराएँ, आमा बोलिन् । अनि म आमा भएको ठाउँ नजिकै गएँ ।

त्यहाँ ढुंगामाटोले पुरेको थियो भने आमा र बालाई दलिनले किचेको थियो । बाले 'छिटो पल्लो घरको हजुरबालाई बोलाएर लेरा..' भन्नुभो । म पल्लो घरको हजुरबालाई बोलाउन गएँ । मान्छेहरू लिएर आउँदा बा-आमा, कोही पनि बोलेनन् । गाउँकै मान्छेले भत्किएको घर पन्छाउँदा बा र भाइको मृत्यु भइसकेको रहेछ । आमाको सास मात्र बाँकी थियो । घर भत्कँदा लागेको ढुंगाले मेरो टाउको फुटेको थियो, धुलिखेल अस्पतालमा उपचार भयो । ठीक हुन्छ कि !

आमाको पनि धुलिखेल अस्पतालमै उपचार जारी छ । आमा 'म कसरी बाँचें, सबै गाउँले आश्चर्य चकित बनेका छन्' भन्दै हुनुहुन्छ रे । किनकि घर गल्र्यामगुर्लुम भत्केर हामी सबैलाई थिचेको थियो । उपचार गरिरहनुभएका डाक्टर सुमित शाहका अनुसार आमाको देब्रे करङ भाँच्चिएको छ । दाहिने 'हिप बोन' पनि पूरै भाँच्चिएर नचल्ने भएको छ । अवस्था गम्भीर छ रे ।

मलाई पछि थाहा भो, घटना राति १० बजेतिर भएको रहेछ । ढुंगामाटोले बनेको जस्ताले छाएको दुई तलाको घर थियो हाम्रो । घर पुरानो पनि होइन, पोहोर मात्र तलो थपिएको थियो । पानी करेसामा जम्मा भई जगभित्र पसेपछि भाँच्चिएर भत्केको हो कि भनेर मामाघरको हजुरबा -रामबहादुर परियार) ले भन्नुभो । आमालाई के हुने हो भनेर हजुरबा पनि रोइरहनुभएको छ । म टुहुरो हुने भएँ । चिन्ता गरिरहनुभएको छ ।

म बागदेवी माविमा कक्षा ७ मा पढ्छु । बा मलाई तैंले एसएलसी पास गरेर जागिर खानुपर्छ । राम्रोसँग पढ भन्नुहुन्थ्यो । गरिबीका कारण सानोमा पढ्न नपाएर आफ्नो परिवार गरिब भएको बताइरहनुहुन्थ्यो । गाउँलेले उद्धार गरेकाले आमालाई पुरिएको ठाउँबाट झिक्न सकियो । बा र भाइले छाडेर गए । बा नभएपछि अब मैले पढ्न नपाउने भएँ । रुनमात्र मन लागिरहन्छ । अब म के गरुँ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks