काठमाडौ, आश्विन ९ - कांग्रेस केन्द्रीय कार्यसमितिमा समावेशी कोटाबाट महिला ६, दलित ५, मधेसी ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति र महामन्त्रीमा पराजित देउवा पक्ष समावेशी कोटाको केन्द्रीय सदस्य पदमा वर्चश्व कायम गरेको छ । समावेशीतर्फको शुक्रबार राति घोषित १६ सिटमा सभापति सुशील कोइराला नेतृत्वको संस्थापन पक्षका ६ र प्रतिद्वन्द्वी शेरबहादुर देउवा समूहका १० जना निर्वाचित भएका छन् ।
महिलातर्फको कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा पुष्पा भुसाल, मीना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी डिना उपाध्याय र ईश्वरी न्यौपाने निर्वाचित भएका छन् । भुसाल १५ सय २, पाण्डे १४ सय १३, पन्त १२ सय ६८ बस्नेत १ हजार ८८, उपाध्याय १ हजार ७ र न्यौपाने ८ सय ३१ मत प्राप्त गरी विजयी भएका
हुन् । पाण्डे र पन्त संस्थापन पक्ष तथा भुसाल, बस्नेत, उपाध्याय र न्यौपाने देउवा समूहका हुन् । पाण्डे, बस्नेत र उपाध्याय यसअघिसमेत कांग्रेस केन्द्रीय सदस्य थिए, ६ जना नै पार्टीबाट संविधानसभा सदस्य छन् ।
दलिततर्फको पुरुष तीन जनाको कोटामा संस्थापन पक्षका मानबहादुर विश्वकर्मा र जीवन परियार तथा देउवा पक्षका मीन विश्वकर्मा निर्वाचित भएका छन् । मानबहादुर १४ सय ५, मीन ११ सय ४५ र जीवन ९ सय ५९ मतले विजयी भएका हुन् । मानबहादुर कांग्रेसको अघिल्ल्लो महाधिवेशनबाट समेत निर्वाचित केन्द्रीय सदस्य हुन्, परियार कांग्रेसको भ्रातृ संगठन दलित संघका महासचिव तथा मीन विश्वकर्मा दलित संघकै पूर्वमहासचिव हुन् ।
दलित महिला २ सिटमा सुजाता परियार र कविता सरदार (बातर) निर्वाचित भएका छन् । सुजाताले १६ सय ४८ र सरदारले १२ सय ३७ मतले विजयी भएका हुन् । परियार देउवा पक्ष तथा सरदार संस्थापन समूहकी हुन् । नेविसंघबाट राजनीति सुरु गरेकी परियार महिला संघकी पूर्वउपाध्यक्ष र दलित आयोगको सदस्यसमेत थिइन् । सरदार समानुपातिक सिटबाट संविधानसभा सदस्य छन् ।
मधेसीतर्फको ३ जनाको कोटामा उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव तथा मधेसी महिला कोटामा मिनाक्षी झा, पार्वती डिसी
(चौधरी) निर्वाचित भएका छन् । उमाकान्त १ हजार ८७, चौरसिया ९ सय ६३, यादव ९ सय १४, डिसी (चौधरी) १४ सय ५७, झा १४ सय ४४ मत ल्याएर विजयी भएका हुन् ।
मधेसी कोटाबाट उमाकान्त मात्र संस्थापन पक्षका हुन्, बाँकी सबै देउवा पक्ष । उमाकान्त पनि महाअधिवेशनका क्रममा देउवासँग रुष्ट भई संस्थापन पक्षमा लागेका हुन् ।
कांग्रेसमा मुस्लिम कोटाबाट संस्थापन पक्षका नेता आफ्ताव आलम यसअघि नै केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।
आदिवासी जनजातिको ५/५ सिटमा राति १० बजेसम्मको मतगणनाको परिणामअनुसार भीष्मराज आङदम्बे, सूर्यमान गुरुङ, धनराज गुरुङ र इन्द्रबहादुर गुरुङ अगाडि छन् । राति १० बजे मतगणना स्थगित गरी शनिबार बिहान ८ बजे नै गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । आदिवासी जनजाति महिला २ सिटमा सीता गुरुङ, रत्ना शेरचन, सुवर्ण ज्वाहरचन, भीमकुमारी बुढामगर, ममता थेवे अग्रस्थानमा छन् ।
निर्वाचत समितिका अनुसार केन्द्रीय समितिको खुलातर्फ २५, १४ अञ्चलका १४ सिटमा पनि शनिबार बिहानदेखि मतगणना सुरु हुनेछ । खुलातर्फ र अञ्चल सिटमा एक-एक ठाउँमा मात्र मतगणना गर्ने तय भएकाले केन्द्रीय समितिको पूरै परिणाम आउन सोमबार बिहानसम्म प्रतीक्षा गर्नुपर्ने जानकारी निर्वाचन समिति स्रोतले दिएको छ ।
आरक्षणतर्फ निर्वाचित
महिला
पुण्या भुसाल, मीना पाण्डे, कमला पन्त, अम्बिका बस्नेत, महालक्ष्मी डिना उपाध्याय, उमा रेग्मी
(पाण्डे, पन्त र रेग्मी संस्थापन तथा भुसाल, बस्नेत र उपाध्याय देउवा पक्ष)
दलित
मानबहादुर विश्वकर्मा, जीवन परियार, मीन विश्वकर्मा
सुजाता परियार र कविता सरदार (दलित महिला)
(मानबहादुर र जीवन, कविता संस्थापन, मीन र सुजाता देउवा पक्ष)
मधेसी
उमाकान्त चौधरी, अजय चौरसिया, महेन्द्र यादव
मीनाक्षी झा र पार्वती डीसी चौधरी (मधेसी महिला)
(उमाकान्त मात्र संस्थापन पक्ष)
आदिवासी जनजातिको गणना जारी । खुल्लातर्फ २५ र अञ्चलस्तरीय १४ सिटको गणना शनिबार सुरु हुने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks