काठमाडौ, आश्विन ६ - माओवादी स्थायी समिति बैठकले एमालेसँग भएको तीनबुँदे सहमतिलाई अनुमोदन गर्दै कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन औपचारिक आग्रह गरेको छ । महाधिवेशन सकिनेबित्तिकै कांग्रेससँग सहमतिका लागि छलफल गर्ने निर्णय पनि उसले गरेको छ ।
'कांग्रेसको महाधिवेशनपछि सहमतिका लागि अधिकतम प्रयास गरिनेछ,' सचिव गजुरेलले भने, 'कांग्रेस सहमतिमा नआए नयाँ प्रक्रियामा जान सकिँदैन ।' कांग्रेस सहमतिमा आएपछि संसद्को कार्य सञ्चालन नियमावली संशोधन गरी नयाँ प्रक्रियामा जान सकिन्छ । मधेसवादीलगायत अन्य दलसित राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अनमिनको म्याद थपिनु, सेना समायोजन तथा पुनःस्थापन विशेष समितिको लडाकुसम्बन्धी निर्देशिकामा हस्ताक्षर हुनु र एमालेसँग सम्झौता हुनुलाई बैठकले उपलब्धिका रूपमा लिएको छ । 'एमालेसँगको सहमतिले राजनीतिक गतिरोध अन्त्य गर्ने काम गर्छ भन्ने विश्वास छ,' स्थायी समिति सदस्य देव गुरुङले भने, 'प्रमुख दलहरूबीच नयाँ प्रक्रियाका लागि सहमति गर्न दुई पार्टीबीच सहमति गरिएको हो ।'
माओवादी र एमालेबीच जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया छाडेर नयाँ प्रक्रियामा जान गत साता तीनबुँदे सहमति भएको थियो । कांग्रेसले भने सहमतिलाई 'रणनीतिक' भन्दै आपत्ति जनाएको छ ।
माओवादीको केन्द्रीय विस्तारित बैठक कात्तिक ६ देखि चितवनमा गर्ने निर्णय गरिएको छ । आगामी कार्यादिशाबारे अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच बाझिएको मतबारे विस्तारित बैठकमा छलफल हुनेछ । लामो समयदेखि हुन नसकेका जनवर्गीय संगठन -विद्यार्थी, मजदुर, शिक्षक, किसान आदि) का राष्ट्रिय सम्मेलन पनि मंसिरभित्र गरिसक्ने निर्णय भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks