काठमाडौ, भाद्र १८ - माओवादी केन्द्रीय समिति बैठकमा सबैभन्दा आलोचनाको विषय बन्यो, 'पार्टीमा विकृति बढ्यो ।' १० दिनसम्म चलेको बैठकमा एक सय ४० मध्ये अधिकांशले नेतृत्वको आलोचना गर्दै पार्टी एमालेजस्तो बनाउन लागेको बताए ।
'पद, प्रतिष्ठा र पैसाका लागि पार्टीमा जे पनि हुन थाल्यो भन्ने आवाज उठेको छ,' बैठकमा नेताहरूले उठाएको निचोड निकाल्दै देव गुरुङले कान्तिपुरसँग भने, 'पार्टी बिग्रन थाल्यो । ठेक्कापट्टा, कमिसनको खेल भयो । पार्टीले विकृति छानबिन गरी कारबाही गर्नुपर्यो भन्ने चिन्ता भयो ।'
केन्द्रीय सदस्य कालीबहादुर मल्लले पार्टीलाई बिरामी र उपचार गर्ने डाक्टर र वैद्यसँग दाँजे । 'वैद्य (मोहन वैद्य) कहाँ गयो भने नयाँ (औषधि) नखानु भन्छन्, डाक्टर (बाबुराम) पुरानो नखानु भन्छन्,' उनले बैठकमा भने, 'एक्काइसौं शताब्दीका डाक्टर (दाहाल) नयाँ र पुरानो दुवै खानु निको हुन्छ भन्छन् ।'
उनले पार्टी सही ढंगले अघि बढ्न उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको विचारलाई अध्यक्षले संश्लेषण गर्नुपर्ने बताए । उनले तीन नेताको फरक-फरक प्रतिवेदनलाई मिलाउनेबारे परीक्षामा आउने प्रश्नपत्रको सम्झनासमेत
गरे । 'भिन्नता छुट्याऊ प्रचण्ड, जोडा मिलाऊ बाबुराम र खाली ठाउँभर वैद्य,' उनले भने, 'आफूलाई ठीक लागेकामा चिह्न लगाऊ केन्द्रीय सदस्य ।'
दस दिनसम्म चलेको बैठकमा मल्लले रोचक ढंगले व्यंग्य गरेपछि माहौल रमाइलो भएको एक केन्द्रीय सदस्यले बताए । त्यस्तै केन्द्रीय सदस्य खगराज भट्टले पार्टी शुद्धीकरणको विषय कहिलै पूरा नहुने 'एकादेशको कथा,' जस्तो भएको टिप्पणी गरे । 'दर्जनौंपटक बैठक बसे, पार्टी शुद्धीकरणको कुरा भयो,' बैठकमा उनको भनाइ थियो, 'पार्टीमा शुद्धीकरण गर्ने विषय एकादेशको कथाजस्तो भयो ।'
शुद्धीकरण गर्न भन्दै वैद्यको संयोजकत्वमा आयोग बनेको महिनौं भयो, त्यसले कामै गर्न सकेन । 'नेताहरूको जीवनशैली भव्य हुँदै गएको छ,' एक सदस्यले भने, 'अनि कसरी हुन्छ शद्धीकरण ?'
केन्द्रीय सदस्य पूर्ण घर्तीले 'सबैको उत्थान गर्ने भनेर सुरु गरेको युद्ध आफ्नो उत्थान गरी समाप्त हुन लागेको,' बताए । 'जनयुद्धमा शुद्धीकरण भएका हामी शान्ति प्रक्रियामा आइसकेपछि भ्रष्टीकरण हुँदैछौं,' उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'अहिले आफ्नोमात्र उत्थान गर्ने काम भएको छ, जनताले हेरिरहेका छन् ।' उनले 'युद्धका बेला पार्टीलाई गहना बुझाएका महिलाहरू ब्युटी पार्लर जानु,' कुन संस्कृति हो ? भनी प्रश्न गरे । 'युद्धले स्थापित गरेको सर्वहारा संस्कृति शान्ति प्रक्रियाले ध्वंस गरेको,' भन्दै अधिकांश नेताहरूले दर्जनौं प्रश्न तेस्र्याए । त्यतिमात्र होइन, उनीहरूले क्रान्ति, शान्ति र संविधानबारे पनि प्रश्न गरे । दाहाल पक्षले 'शान्तिसँगै क्रान्ति,' वैद्य पक्षले 'क्रान्तिबाटै क्रान्ति' र भट्टराई पक्षले 'शान्तिको सफलतापछि क्रान्ति' भने । तीनै पक्षले साझा रूपमा भने, 'तीनै पक्षका राम्रा विचार नसमेटेर अघि नबढे मुलुकमा प्रतिक्रान्ति हुन्छ ।'
अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको खुलेर आलोचना गरेपछि त्यसको जवाफको तयारी गर्न बैठक केही दिनका लागि स्थगित भएको छ । नेताहरूले उठाएको प्रश्नको जवाफ अब बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय वैद्य र भट्टराईले दिने छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks