Loving nepal news

Thursday, September 16, 2010

नेपाली काङ्ग्रेसको १२औं महाधिवेशन आजदेखि सुरु

देशभर र विभिन्न मुलुकका जनसम्पर्क समितिबाट छानिएका करिब ३ हजार १ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिने

काठमाडौं १ असोज (दैनिकी)

‘शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान, नेपाली काङ्ग्रेसको अभियान’भन्ने मुल नाराकासाथ नेपाली काँग्रेसको १२ औ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको दिउँसो २ बजे कार्यवाहक सभापति सुशील कोइरालाले काठमाडौंको खुलामञ्चमा हुने विशेष समारोहकमा उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ठाँउ बानेश्वर, कालिमाटी, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानबाट निस्कने जुलुस खुलामञ्चमा पुग्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा मित्रराष्ट्रका पार्टी प्रतिनिधि र मुलुकभित्रका नेपालका राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य दिने कार्यक्रम छ । देशभर र विभिन्न मुलुकका जनसम्पर्क समितिबाट छानिएका करिब ३ हजार १ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् । छिमेकी मुलुक चीन भारतसहित अमेरिका र युरोपेली मुलुकका प्रतिनिधिहरु काठमाडौं आइपुगिसकेको काङ्ग्रेसले जनाएको छ ।
उपत्यकाका चोक र गल्लीमा झन्डा, होर्डिङ बोर्ड, ब्यानर र स्वागतद्वारसहित पोस्टरमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको तस्बिर र उनीहरूका उद्गार उद्धृत छन् । अबको कार्यसमिति ८५ सदस्यीय हुने तय भइसकेको छ । बाँकी सदस्य सभापतिले पछि मनोनयन गर्ने काङ्ग्रेस विधानमा प्रावधान छ । यसैबीच काङ्ग्रेस महाधिवेशनलाई ध्यानमा राख्दै सरकारले सुरक्षा व्यवस्थामा विशेष निगरानी बढाएको छ ।
दुई काङ्ग्रेस एकीकरण भएपछि महाधिवेशन पहिलोपटक हुन लागेको हो । सभापति पदको उम्मेदवारमा कार्यवाहक सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा र नेता भीम तामाङको बीचमा प्रतिस्पर्धा हुने पक्का भएको छ भने महामन्त्रीमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र नरहरि आचार्य तथा कोषाध्यक्षमा पद्मनारायण चौधरी र चित्रलेखा यादव भिड्दै छन् । असोज ५ सम्म चल्ने महाधिवेशनको बन्द सत्र भृकुटीमण्डप र चुनावी कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks