काठमाडौ, भाद्र २८ - संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद थपका बारेमा छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भिम रावल, संस्कृति मन्त्री मिनेन्द्र रिजाल, दाहाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । दाहाल डेढ वर्षअघि प्रधानमन्त्रीबाट हटेपछि प्रधानमन्त्री निवास पुगेको यो पहिलो पटक हो ।
सरकार र माओवादी दुवै पक्षले अनमिनको म्याद थप्ने बारेमा छुट्टछुट्टै पत्र पठाएपछि उत्पन्न अप्ठ्यारालाई सम्बोधन गर्न साझा पत्र तयार पार्नका लागि नेताहरुबीच छलफल भइरहेको छ । यसअघि माओवादी तर्फबाट श्रेष्ठ र स्थायी समिति सदस्य बर्षमान पुन तथा सरकारका रावल र रिजाल रहेको कार्यदलले यस विषयमा छलफल गर्दै आएको थियो । कार्यदलको तहमा टङु्गो नलागेपछि प्रधानमन्त्री नेपाल र अध्यक्ष दाहालबीच बैठक भएको हो ।
सरकारले नेपाली सेनालाई अनमिनको अनुगमन मुक्त गर्ने र चार महिनाका लागि म्याद थप्ने पत्र पठाएको छभने माओवादीले त्यसमा असहमति जनाउँदै पुरानै कार्यदेशमा छ महिनाका लागि म्याद थप्न अनुरोध गर्दै अर्को पत्र पठाएको छ ।
भदौ ३० गते अनमिनको म्याद सकिंने हुँदा मंगलबारसम्ममा राष्ट्र संघको सुरक्षा परिषद्ले यस सम्बन्धमा निर्णय गर्नुपर्ने भएको छ । नेपालबाट साझा पत्र पठाउन नसकिए निर्णय गर्न परिषद्लाई आप्ठ्यारो पर्नेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks