Loving nepal news

Wednesday, September 15, 2010

काठमाडौं-ल्हासा बस सेवा सुरु गर्न समझदारी

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ३१ - नेपाल र तिब्बतको ल्हासाबीच सुरु भएर चार वर्षअघि बन्द भएको बस सेवा सञ्चालन गर्न दुवै देश सहमत भएका छन् ।

पर्यटन वर्ष २०११ लाई यसबाट सघाउ पुग्ने अपेक्षा गरिएको छ । नेपाल-तिब्बत संयुक्त पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराई र चीनको स्वशासित तिब्बतको पर्यटन ब्युरोका प्रमुख बा झुले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली टोली तिब्बत भ्रमणबाट हालै फर्केको छ ।

२००५ को मे १ देखि सुरु भएको दुई देशबीचको बस सेवा एक वर्ष नपुग्दै बन्द भएको थियो । सरकारी स्वामित्वको साझा यातायातले साताको दुईपल्ट तिब्बतसम्म सेवा सञ्चालन गरेको थियो । दुवै पक्षले २००८ मा पुनः सेवा सुरु गर्ने योजना बनाए पनि कार्यान्वयन हुन सकेन ।

यसैबीच तिब्बतमा टेलिभिजन, रेडियो र होर्डिङमार्फत नेपाल पर्यटन वर्ष २००१ प्रवर्द्धन गर्ने विषयमा पनि बैठकमा सहमति भएको छ । यसैगरी नेपाली हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई नियमित रूपमा नेपालबाट मानसरोवरसम्म उडान सञ्चालन गर्न दिने र नेपालबाट अन्तर्राष्ट्रिय पर्यटकहरूलाई तिब्बतको भिसा उपलब्ध गराउने विषयमा पनि सहमति भएको पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अर्को नोभेम्बरमा यस्तो बैठक नेपालमा गर्न समकक्षीहरूलाई नेपाली टोलीले निमन्त्रणासमेत दिएको जनाइएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks