Loving nepal news

Wednesday, September 8, 2010

लुटपाट गर्दै हिँड्ने लडाकु सेक्सन कमाण्डरबारे अनुसन्धान सुरु

घनश्याम गौतम

गुल्मी, भाद्र २३ - ग्वाघा गाविसका तीन घरमा दुई साता अघि हतियार देखाएर लुटपाट गर्ने माओवादी सेनाका दुई सेक्सन कमाण्डरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले नवलपरासीको आरुणखोला झ्यालटुङडाँडास्थित चौथो डिभिजन क्याम्पका सेक्सन कमाण्डर रमेश भन्ने राजु बस्याललाई बुटवलबाट पक्राउ गरी मंगलबार यहाँ ल्याएको हो । त्यस्तै नवलपरासीबाटै पक्राउ परेकी सेक्सन कमाण्डर अर्पणा भन्ने बिन्दु पुन मगरलाई भने नवलपरासी प्रहरीले नै अनुसन्धान शुरु गरेको छ ।

गुल्मीको ग्वाघा गाविसका तीन घरमा लुटपाट गरेको आरोपमा अनुसन्धान गर्न अदालतले बुधवार ३ दिन म्याद दिएको छ । यस अघि पक्राउ परेका सहितको अनुसन्धान गर्न प्रहरीले अदालतसँग ६ दिन समय मागेको थियो ।

यस अघि पर्बतको फलेबास प्रहरी चौकीले घटनाको २४ घण्टा नबित्दै पक्राउ गरेका रोल्पाको जेलबाङ-१ घर भै बुटवलमा वाईसिएलका सक्रिय कार्यकर्ता मनेन्द्र रोकाया र सोही स्थानकै तर अहिले पोखरामा मजदुरी गर्ने राजन बुढा मगरलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार मध्ये कमाण्डर बस्याल, बुढामगर र रोकायाले लुटपाट स्वीकार गरेको प्रहरीले जनाएको छ । कमाण्डर बिन्दुले भने आफ्नो डेरामा झोला राख्न दिएकोले आफुले नहेरी राखिदिएको दावी गरेकी छन् ।

पक्राउ परेका तीनै जनालाई डाँका चोरी तथा हातहतियार मुद्धा चलाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले बताए । पक्राउ पर्ने मध्य कमाण्डर बस्याल गुल्मीकै खड्गकोट-५ का हुन् । उनले आमा बिरामी भएकोले बिदामा आएको र आमाको उपचार खर्च अभाव भएपछि डिभिजनकै प्लाटुन कमाण्डर बिशालको नेतृत्वमा लुटपाटमा लागेको बयान दिएका छन् । डिभिजन कमाण्डर बिशालको समेत प्रहरीले खोजी गरिरहेको छ ।

अत्याधुनिक हतियार सहितको १२/१३ जनाको टोलीले भदौ ८ गते ग्वाघा गाविसका भवानीप्रसाद गौचनको घरबाट ३ लाख नगद, तिन तोला सुन, मोवाईल सेट, नारायण थापाको घरबाट २२ हजार ७ सय नगद, चार तोला सुन, मोवाईल र रामअबतार थापाको घरबाट ६० हजार नगद, सुन र मोवाईल लुटेको थियो । प्रहरीले फलेबासमा पक्राउ पर्नेबाट अमेरिकन पेस्तोल र कमाण्डार बिन्दुको नवलपरासीको नयाँबेलहानी-४ स्थित डेराबाट कटुवा पेस्तोल, रिभल्बर, चाईनिज पेस्तोल, गि्रनेड दुई थान, गोली पाँच थान, कम्ब्याट डे्रस बरामद गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks