Loving nepal news

Saturday, September 11, 2010

प्रहरीका हतियार 'जोखिमपूर्ण'


केदार ओझा


काठमाडौ, भाद्र २७ - नेपाल प्रहरीको ४ हजार ५ सय १९ थान हतियार बिगि्रएको अवस्थामा छ । प्रहरीका देशभरि रहेका नौ मुख्य कार्यालय मातहत ४४ हजार ४ सय ९६ थान साना/ठूला हतियार छन् ।

हातहतियार शाखाका डीएसपी अमृतकुमार गुरुङले केहीअघि देशभरिका मुख्य नौ कार्यालयको स्थलगत भ्रमण गरी तयार पारेर प्रधान कार्यालयलाई बुझाएको विस्तृत गोप्य प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

हालै थपिएको दरबन्दीसहित ६० हजार ७६ जनशक्ति रहेको प्रहरीमा ठूला ३५ हजार ४ सय ८२ र साना ९ हजार १४ थान हतियार छन् । सम्बद्ध अधिकारीका अनुसार ठूला ३५ हजारमध्ये दस प्रतिशत हतियार पनि व्यावसायिक कामका लागि उपयुक्त छैनन् ।

स्रोतका अनुसार भारतबाट खरिद गरिएको एसएलआर नेपाल प्रहरीका लागि भरपर्दा देखिएनन् । अधिकांशमा केही न केही समस्या देखिएको छ । फायरिङ गर्दै जाँदा ग्यास भरिएर फायरिङ रोकिन्छ । कतिपय अवस्थामा फायरिङ गर्ने नै घाइतेसमेत भएका छन् । छुट्टै थप म्यागजिन नभएका कारण पनि समस्या बढेको छ ।

प्रयोग भएको हतियारले 'जिरोइङ' (निसाना मिलाउने कार्य) समयमा नगर्ने गरेकाले अधिकांश खुट्टामा ताकेर हान्दा टाउकामा लाग्ने गरेको हतियार जानकार एक अधिकृतले बताए । जीउमै लुकाएर बोक्ने पेस्तोल, रिभल्वरजस्ता हतियारलाई साना हतियार भनिन्छ भने राइफल, थ्रीनट थ्री, हर्नेट, सटगन एसएलआर, एसएमजी र एलएमजीलाई ठूला ।

प्रहरीले स्थानीय साधन स्रोतबाट विभिन्न धातुहरूलाई ढालेर, गालेर, घोटेर हतियारमा आवश्यक ४७ प्रकारका पार्टपुर्जा उत्पादन गर्छ । त्यसरी स्थानीयस्तरमै अव्यावसायिक व्यक्तिबाट उत्पादन र मर्मत गरिएको हतियार एकदमै असुरक्षित भएको अधिकृतहरू बताउँछन् । कैयौं पटक फायरिङ गर्दा हतियार पड्केर तालिमे प्रहरी घाइते भएका छन् । हतियार मर्मत शाखाले फलाम, तामा, पित्तल, सिल्भर र टिन जस्ता घातुबाट पार्टपुर्जा उत्पादन गर्छ ।

प्रहरीका ती हतियार पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्ज र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल, भरतपुर तालिम केन्द्र, नेपाल प्रहरी प्रतिष्ठान महाराजगन्ज, एक नम्बर गण नक्साल र महानगरीय आयुक्तको कार्यालय रानीपोखरी मातहत छन् ।

बिगि्रएका हतियारमध्ये साना ५ सय ६६ थान र ठूला ३ हजार ९ सय ५३ थान तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

हतियार राख्ने जिम्मेवारी पाएका देशका ९ स्थानमा हतियारको सामान्य मर्मतमात्रै हुने गर्छ । छुट्टै मर्मतकक्ष र बजेट नहुँदा अधिकांश बिगि्रएका हतियार जोखिम मोलेर केन्द्रमै ल्याउनुपर्ने बाध्यता छ । केन्द्रमा ल्याएका हतियार मर्मत गरेर फर्काउन दुई महिनासम्म लाग्ने गरेको अधिकृतहरू बताउँछन् ।

स्रोतका अनुसार एक क्षेत्रमा हाल साना/ठूला औसत सात हजार हतियार छन् । तिनको मर्मतका लागि जम्मा दुई जना प्राविधिक मात्रै परिचालित छन् । त्यसरी खटिएका दुई जनालाई पनि कार्यालय प्रमुखले प्राविधिक कामको सट्टा प्रशासनिक काममा खटाउने गरेको गुनासो मर्मत शाखाको छ । खटिएका प्राविधिकहरूको पनि कार्य प्रकृतिसँग मेल नखाने गरी दरबन्दी कायम गरिएका छन् ।

'हतियार मर्मतका लागि जनशक्ति र बजेट अभाव छ,' प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने, 'हतियार मर्मत शीर्षकमा रकम हँुदैन, दैनिक भ्रमण भत्तालगायत शीर्षकबाट खर्च गर्नुपर्ने अवस्था छ ।' शर्माका अनुसार तत्कालै केन्द्र र क्षेत्रीयस्तरमा व्यवस्थित मर्मतशाला एकदमै जरुरी छ ।

स्रोतका अनुसार थन्किएका हतियारको समयमै मर्मत गर्न प्रत्येक क्षेत्रमा कम्तीमा दस जना राख्नुपर्ने आवश्यकता छ ।

हतियार मर्मतका सिलसिलामा आवश्यक पर्ने विभिन्न पार्टपुर्जाहरू बनाउन विभिन्न किसिमका धातुहरू गाल्न, ढाल्न र तताउन चाहिने 'आरन' कुनै पनि क्षेत्रमा नभएकाले केन्द्रमै ल्याउनुपर्ने बाध्यता छ ।

मातहतका नौ कार्यालयहरूले मर्मतका लागि उपयुक्त कक्ष उपलब्ध नगराएकाले अधिकांश प्राविधिकहरू जिन्सी कोठा र क्वाटरगार्डमा मर्मत गर्छन् । हतियारहरू भने कोतघरमा राखिने प्रचलन छ ।

हतियार मर्मतका लागि देशका पाँच तालिम केन्द्रहरूमध्ये दिपायल, नेपालगन्ज, बुटवल, हेटौंडा र विराटनगरमा एक एक थान लेथ र ग्य्रान्डिङ मेसिन छन् । भरतपुरस्थित तालिम केन्द्र, १ नं. गण नक्साल र महानगरीय कार्यालय रानीपोखरीमा ती सामान्य मेसिनहरू पनि छैनन् ।

स्रोतका अनुसार प्रहरीले कार्यालय सुरक्षाका लागि ड्युटीका क्रममा बोक्ने थ्रीनट थ्री राइफल मात्रै ३ हजार थान कामै नलाग्ने भएका छन् । त्यसबाहेक ९ सय ५३ थान थ्रीनट थ्री हतियार छिट्टै मर्मत चाहिने अवस्थामा छन् । मर्मत नहुने स्तरका हतियारहरूलाई नेपाली सेनासँग सट्टापट्टा गर्न उपयुक्त हुने सुझाव डीएसपी गुरुङले दिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीमा हाल रहेको हातहतियार मर्मत शाखा २०४२ सालमा आर्मोरर शाखाको रूपमा स्थापना भएको हो । उक्त शाखामा हाल एक डीएसपीको नेतृत्वमा १६ जना कार्यरत छन् । पाँचवटा क्षेत्रीय हातहतियार तालिम मर्मत केन्द्रमा जम्मा दस जना कार्यरत छन् । हतियार शाखाले तत्काल केन्द्रमा दस जना र क्षेत्रमा २० जना थप्न माग गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks