Loving nepal news

Thursday, September 23, 2010

पार्टी सन्तुलनप्रति देउवा पक्ष आशंकित

कुलचन्द्र न्यौपाने

काठमाडौ, आश्विन ८ - कांग्रेसमा सभापतिमा सुशील कोइराला र महामन्त्रीमा प्रकाशमान सिंहको विजयसँगै संगठनमा संस्थापन पक्षको पकड देखिने संकेत देखिएको छ । यस परिणामबाट वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पार्टी भावनात्मक रूपमा एक हुनेमा आशंका जनाउन थालेका छन् । संस्थापन पक्षका नेताहरू भने निर्वाचनका बेला दुई खेमामा विभक्त भए पनि पार्टी एक हुनेमा विश्वस्त छन् ।

निवर्तमान उपसभापति गोपालमान श्रेष्ठले शिक्षण अस्पतालमा भर्ना भएका कोइरालालाई पार्टीमा भावनात्मक एकता कायम गर्न सुझाव दिँदै मनोनीत हुने पदहरूमा पराजित भएको पक्षलाई पनि समेट्नुपर्ने बताए ।

'मिलाएर लैजाने कुरा मुखले नभएर व्यवहारमा नै हुनुपर्छ, पराजितहरूलाई पनि सम्मान दिएर पार्टीभित्र समेट्नुभयो भने पूर्ण सहयोग हुन्छ र पार्टी पनि एक भएको सन्देश जान्छ भनेर मैले सुझाव दिएको छु,' श्रेष्ठले कान्तिपुरसँग भने, उहाँले मिलाएर लैजान्छु भन्नुभएको छ । व्यवहारमा हेर्न बाँकी छ ।'

पार्टीको प्रमुख कार्यकारिणी पद सभापति र महामन्त्रीमा पराजय भोगेपछि देउवा पक्ष पार्टीभित्र सन्तुलन कायम हुनेमा सशंकित

छ । आफ्नो समूह खडा गरेर त्यसैमा रमाउने कोइरालाको विगतका पृष्ठभूमिका कारण पनि मनोनीत पदाधिकारी तथा सदस्यमा समेट्ने आशंका देउवा पक्षले लिन थालेका छन् । यद्यपि ६१ केन्द्रीय सदस्यको नतिजा भने आउनै बाँकी छ ।

कांग्रेस विधानअनुसार एक उपसभापति, महामन्त्री, सह-महामन्त्री र २१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ । २१ केन्द्रीय सदस्यमा महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिमबाट एक-एक जना ल्याउनुपर्ने र १६ जना खुलाबाट मनोनीत गर्न पाउने अधिकार छ । निर्वाचनका बेला आफ्नै समूहभित्रको सन्तुलन मिलाउन कतिपय नेतालाई अगाडि नै 'वचन' दिएका कारण मुख्य पदाधिकारीमा देउवा पक्षलाई समेट्न चुनौती कोइरालालाई देखिन्छ ।

'सभापति भइसकेपछि कोइराला आफ्नो चौघेराबाट बाहिर निस्कन सक्नुपर्छ, पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई सम्मान गर्दै मनोनयनमा साझा सहमति जुटाउनुपर्छ,' देउवानिकट एक नेताले भने, 'देउवालाई भूमिका नदिएर खुम्च्याउन खोजियो भने पार्टी एक भएको सन्देश जाँदैन ।'

देउवाले प्रधानमन्त्रीको उम्मेदवारको निर्णय गर्ने बेला पनि आफ्नो भूमिका खोजी गरेका थिए । पार्टी सभापतिमा पराजित भएपछि अहिले त्यही भूमिकाको खोजीमा उनी देखिन्छन् । 'गिरिजाप्रसादको निधनपछि देउवा नै वरिष्ठ नेता हो भनेर मानेको हो, त्यसलाई सम्मान दिएर भूमिका दिनुपर्छ,' श्रेष्ठले भने, 'पराजित भएको भन्ने मानसिकताबाट नहेरी सम्मानका साथ सल्लाहमा अघि बढेमा मात्रै पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ ।' संस्थापन पक्षका नेताहरूले नीतिमुखी रूपमा पार्टी अघि बढेपछि भावानात्मक एकता स्वतः बन्दै जाने बताएका छन् । 'पहिला नीतिमुखी थिएन । नेतामुखी पार्टी थियो,' संस्थापन पक्षका नेता अर्जुननरसिंह केसीले भने, 'निर्वाचनका बेला भएका व्यक्तिको टकराव र वाद-प्रतिवाद लोकतान्त्रिक अभ्यासका बेला मात्रै हुने हो । अब कांग्रेस हारजितमा नअलमलिई एकढिक्का भएर अघि बढ्छ ।' केसीले देउवा पार्टीको वरिष्ठ नेता भएकाले भूमिका आफैं खोज्नुपर्ने बताए । पराजितपछि सार्वजनिक अभिव्यक्ति नदिएका देउवाले आफ्ना कार्यकर्तामाझ हारलाई सहज रूपमा लिएको बताएका छन् । देउवाले कोइरालालाई बुधबार फोनबाट र बिहीबार शिक्षण अस्पतालमा भेटेरै बधाई र शुभकामना दिएका थिए । यसैबीच निवर्तमान महामन्त्री विमलेन्द्र निधिले आफूलाई मत दिने १२ सय २६ मतदातालाई विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै निधिले मत नदिएका तर आफ्नो मताधिकार प्रयोग गरेर आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने अभ्यासमा योगदान दिने सबैप्रति पनि सम्मान व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks