कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन १२ - राजधानीमा मात्रै वाषिर्क ६५ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात हुने गरेको छ । आन्तरिक उत्पादनले नै माग थेग्न सक्ने सम्भावना भए पनि ढुवानी समस्या र आपूर्ति संयन्त्र प्रभावकारी नहुँदा स्याउमा मात्रै ठूलो रकम बिदेसिने गरेको छ ।
व्यवसायीका अनुसार चीनबाट करिब ९ हजार र भारतबाट ४ हजार टन स्याउ राजधानीका बजारमा भित्रने गरेको छ । किलोको ५० रुपैयाँ मात्रै राख्दा पनि त्यसको मूल्य ६५ करोड हुन आउँछ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २१ हजार ९ सय ७० टन स्याउ आयात भएको थियो । त्यसमा करिब ७७ प्रतिशत चिनियाँ र २३ प्रतिशत भारतीय स्याउ छन् । ढुवानी समस्या र आपूर्ति संयन्त्र प्रभावकारी नहुँदा दुर्गम भेगको स्याउले उचित मूल्य र बजार पाउन सकिरहेको छैन ।
मुलुकमा स्याउ खेतीको कुल क्षेत्रफल ९ हजार ४ सय २२ हेक्टर रहे पनि उत्पादित क्षेत्र भने ४ हजार २ सय ४० हेक्टर छ । त्यसमा वाषिर्क ३९ हजार टन उत्पादन हुने गरेको मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए । जुम्लामा मात्रै करिब ५ हजार टन स्याउ फल्ने गरेको तथ्यांक छ । 'तर काठमाडौंको बजारमा ५/७ क्विन्टल पनि आइपुग्दैन,' उनले भने । काठमाडौंका उपभोक्ताले गुणस्तरहीन स्याउ चर्को मूल्य तिरेर उपभोग गरिरहेका बेला जुम्लालगायत हिमाली क्षेत्रका स्वादिलो स्याउले बजार पाउन सकेको छैन । सडकको पहुँच नहुँदा हवाईमार्गबाट चर्को मूल्य तिरेर ढुवानी गर्नुपर्छ ।
बिक्री भएको स्याउले पनि उचित मूल्य पाउन सकेको छैन । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा स्याउको स्थानीय मूल्य किलोको १०/१२ रुपैयाँ छ । ढुवानी लागत चर्को भएकाले उक्त स्याउ सुर्खेत ल्याइपुर्याउँदा किलोको झन्डै ८० रुपैयाँ पर्न जाने अधिकारीहरू बताउँछन् । जुम्लाको करिब २० प्रतिशत मात्रै स्याउ बाहिर जान्छ । बाँकी त्यहीँ किनबेच वा खेर जाने गरेको छ ।
जुम्लाको अर्गानिक स्याउ काठमाडौंको बजारमा किलोको डेढ सय रुपैयाँमा बिक्री भइरहेको छ । गैरअर्गानिक स्याउ ८० देखि सय रुपैयाँ पर्ने व्यापारी बताउँछन् । सरकारले जुम्लाको १ सय टन स्याउको कार्टुनमा प्याकिङ र ढुवानी गर्न २२ लाख रुपैयाँ अनुदान दिएको छ । 'कृषि सहकारी संघमार्फत उक्त अनुदान किसानलाई जाने गरेको छ,' दाहालले भने । एसएनभी र वल्र्ड भिजनले स्याउको ग्रेडिङ र प्याकेजिङमा केही सहयोग दिने गरेका छन् । 'सडक कालोपत्रे हुन सके उत्पादनले बजार पाउने थियो,' उनले भने, 'स्थानीय रूपमै वाइनलगायत कारखाना स्थापना गरेर पनि मूल्य अभिवृद्धिबाट राम्रै आम्दानी गर्न सकिन्छ ।' सरकारले गत वर्षको बजेट भाषणमा खाद्य संस्थानको जहाज खाद्यान्न पुर्याएर र्फकदा सिमी, बोडी र स्याउ लिएर फर्किएमा ढुवानी अनुदान दिने घोषणा गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । सन् २००७ को तथ्यांकअनुसार विश्वमा करिब ५ करोड टन स्याउ उत्पादन हुन्छ । त्यसमा झन्डै आधा उत्पादन चीनले र १० प्रतिशत अमेरिकाले गर्छ । विश्व स्याउ बजारमा चीनको हिस्सा करिब २० प्रतिशत र अमेरिकाको १५ प्रतिशत छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks