Loving nepal news

Saturday, September 4, 2010

विश्वकै लामो पदमार्ग 'ग्रेट हिमालयन ट्रेल'

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १९ - पर्यटन वर्षका लागि पहिचान गरेको लामो पदमार्ग 'ग्रेट हिमालयन ट्रेल' को सन् २०११ को जनवरी १४ (पुस ३० गते) औपचारिक उदघाटन हुने भएको छ ।

यो विश्वकै सबैभन्दा लामो पदमार्ग हो । पश्चिमको दार्चुला, हुम्ला हुँदै कञ्चनजंघासम्म पुग्न सकिने यो ट्रेलअन्तर्गत पदयात्रा पूरा गर्न १ सय ५० दिनजति लाग्नेछ । पर्यटन वर्ष कार्यान्वयन समितिले विश्वभरिका पदयात्रीलाई आकषिर्त गर्ने उद्देश्यले 'ग्रेट हिमालयन ट्रेल' को उद्घाटन कार्यक्रम तय गरेको हो । हाल पदयात्राका लागि आउने पर्यटकमध्ये ९५ प्रतिशत अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्र जान्छन् भने बाँकी मात्र अन्य क्षेत्रमा पुग्ने गरेका छन् । 'यस पदमार्गबाट नेपाललाई पाकिस्तान, चीन (तिब्बत क्षेत्र), भारत, भुटान र म्यानमारसँग जोड्ने लक्ष्य हो,' पदमार्ग निर्माण आयोजनाकी परामर्शदाता लिजा चोग्यलले भनिन्, 'यसले हिमालय शृखंलाको ४ हजार ५ सय किलोमिटरलाई समेट्नेछ ।'

विश्वका ९ औं उच्च हिमाल पाकिस्तानको नांगा पर्वत यो पदमार्गको पश्चिमी विन्दुमा पर्छ । भारतको प्रख्यात नदी गंगाको माथिल्लो भाग हुँदै नेपालको अन्नपूर्ण, सगरमाथा, कन्चनजंघाको तल्लो किनार हुँदै सिक्किमसम्म पुग्छ । त्यसपछि भुटान हुँदै भारतको अरुणाञ्चल प्रदेश, म्यानमारलाई जोडेर तिब्बतको नाम्चे बारवासम्म पुग्नेछ । विश्वकै लामो यो पदमार्ग पूरा भएपछि पर्यटकले विश्वका ८ हजार मिटर अग्ला सबै हिमाल हेर्दै पदयात्रा गर्न पाउने्न् । तर यसका लागि अध्ययन गरेर योजना बनाउन बाँकी रहेकेा लिजाले बताइन् । नेपालभित्रका लागि भने यसको विस्तृत अध्ययन सन् २००८ मै गरिएको थियो ।

जसको ट्रेल निर्माण कार्य केही समय अगाडि पूरा भएको हो । पदयात्राको पहिलो चरणमा हुम्ला र डोल्पा क्षेत्रको मार्गका लागि डिएफआईडीको आर्थिक सहयोगमा नेदरल्यान्डको संस्था एसएनभिले काम थालेको थियो । त्यस्तै दोस्रो चरणमा सिन्धुपाल्चोक, मकालु-बरुण, दार्चुला, मुगु, ढोरपाटनलगायत क्षेत्रमा काम भएको थियो ।

यो पदमार्ग निर्माण योजनाको अर्को उद्देश्य अविकसित जिल्लाको विकास, रोजगारी सिर्जना र हिमाली क्षेत्रका समुदायका लागि अवसर प्रदान गर्नु रहेको लिजाले बताइन् ।् सन् २००४ मा एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक संगठनले पर्यटन योजनामा ग्रेट हिमालयन ट्रेललाई महत्त्वपूर्ण स्थान दिएको थियो । भौगोलिक बनोटका आधारमा नेपालले धेरै नाफा पाउन सक्ने देखेपछि नेदरल्यान्डको संस्था एसएनभी र इसिमोडले पनि २००६ मा यो योजनालाई सघाएको थियो ।

पर्यटकले नयाँ गन्तव्य खोजेपछि र सरकारले पनि पर्यटनमा विविधता थप्ने योजना अपनाएपछि ग्रेट हिमालयन ट्रेलको योजनालाई कार्यान्वयनमा ल्याइएको पर्यटन बोर्डका अनुसन्धान, योजना विभागका निर्देशक काशीराज भण्डारीले बताए । 'यो पूर्ण रूपमा नयाँ होइन, यस पदमार्गमा पुरानो र नयाँ दुवै पदमार्गलाई समायोजन गरिएको छ,' उनले भने । ट्रेल पूरै निर्माण भइसकेपछि यसको स्व्ाामित्व नेपाल सरकारमा हस्तान्तरण हुनेछ ।

स्वामित्व कस्तो प्रकारको हुनेबारे निर्णय नभएकाले यसका लागि एसएनभी र नेपाल सरकारबीच छलफल भइरहेको छ । यसका लागि छुट्टै समिति बनाएर छलफल भइरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्कीले बताए । 'समितिले स्वामित्व कस्तो हुनेबारे निर्णय लिन सघाउनेछ,' उनले भने ।

समितिले ट्रेलअन्तर्गत पर्ने जिल्ला र प्रत्येक आइटेनरीलाई पुनरावलोकन गरी वातावरण संरक्षण र अन्य अवसरका लागि जिम्मवारपूर्ण काम भए/नभएको स्पष्ट गर्नेछ । 'सरकारले स्वामित्व पाएपछि प्रवर्द्धन र ब्रान्डिङका लागि भने निजी क्षेत्रलाई जिम्मेवारी दिइनेछ,' उनले भने, 'यी सम्पूर्ण काम औपचारिक उद्घाटन अगाडि सक्ने लक्ष्य छ ।'

केही पुराना रुटलाई समावेश गरिए पनि यसले पदयात्रीलाई छुट्टै र रोमाञ्चक अनुभव प्रदान गर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले बताए । 'सरकारका विकास कार्यक्रमबाट फाइदा उठाउन नसकेका वर्गका लागि पनि यसले सजिलै जीविकोपार्जनका लागि सघाउनेछ,' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks