काठमाडौ, आश्विन २ - कांग्रेस महाधिवेशनमा सफलताको शुभकामना दिन र सदभाव व्यक्त गर्न आएका प्रायः सबै विदेशी नेताले लोकतान्त्रिक बाटोबाटै शान्ति र संविधान सुनिश्चित हुनुका साथै समृद्धितर्फ अघि बढ्न सकिने बताएका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार खुलामञ्चमा बोल्दै भारत, श्रीलंका र चीनका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका हुन् ।
श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र श्रीलंका फ्रिडम पार्टीको तर्फबाट आएका अनुराग पि्रयादर्शनाले नेपालले लोकतान्त्रिक अभ्यासबाटै शान्ति, स्थिरता र समृद्धि हासिल गर्ने बताए । 'लोकतान्त्रिक आन्दोलनबाटै कांग्रेसले एक सय चारवर्षे राणा शासन हटाउन र प्रजातन्त्र तथा गणतन्त्र स्थापना गरेको इतिहास साक्षी छ,' श्रीलंकाका वातावरणमन्त्रीसमेत रहेका उनले भने, 'यही बाटोबाट नेपालले आफ्नो प्रगतिको यात्रा तय गरी विकसित मुलुक बन्नेछ ।'
कांग्रेस आईका नेता सदानन्द सिंहले लामो संघर्षपूर्ण इतिहास बोकेको राजतन्त्रलाई समाप्त पारी लोकतन्त्र ल्याएको कांग्रेसको मुलुकप्रति ठूलो उत्तरदायित्व रहेको बताए । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले यसका लागि निकै मेहनत गरेको उल्लेख गर्दै उनले भने, 'कांग्रेसले उहाँहरूको अभावमा पनि आफूलाई अझ सशक्त र मजुबत पार्दै लोकतन्त्रलाई संस्थागत गर्ने हाम्रो विश्वास छ ।' संघर्षको दौरान बीपीले लामो समय बिहार, उत्तरप्रदेशमा राजनीतिक शरण लिएको समेत उनले स्मरण गरे ।
बीपीले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत भूमिका खेलेको जनाउँदै पटनाको एउटा मार्गको नाम नै 'बीपी कोइरालापथ' भएकोमा आफूहरूलाई गर्वको अनुभूति भएको सिंहले बताए । उनले अखिल भारतीय कंग्रेस समितिका अध्यक्ष (कंग्रेस आई) की अध्यक्ष सोनिया गान्धीले पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभएको जानकारी गराए । भाजपा नेता भरत कोसियारीले नेपाल र भारत नजिकको छिमेकी भएकाले एकअर्काको सुखदुःख दुवैलाई आफ्नैजस्तो लाग्ने बताए ।
'अहिले परिरहेको पानी मेरो घरनजिकै हुम्ला, जुम्ला, दार्चुला र बैतडीका जनताका लागि नयाँ युग आइरहेको संकेत हो,' सिमसिम परेको पानीप्रति संकेत गर्दै उनले भने, 'नेपालमा स्थिर सरकार बनोस्, संविधान बनोस् ।
अहिले सगरमाथा संसारमा सबैभन्दा अग्लो छ, एक दिन नेपाल मुलुक नै संसारमा सबैभन्दा उँचो हुनेछ ।' बीपी कोइरालाको पालादेखि अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पालासम्म लोकतान्त्रिक संघर्षले निकै उतारचढाव बेहोरेको उनले बताए ।
'मेरो हिमालयको राष्ट्र नेपालमा धेरै रगत बगेको छ, अब यहाँ रगत होइन पानीमात्रै बगोस्,' उनले भने, 'जुन महाकालीको पानी तपाईं पिउनुहुन्छ म पनि त्यहींको पानी पिउँछु । त्यसैले तपाईंहरूको सुखदुःख मेरो पनि हो ।' नजिकको छिमेकी हुनुका नाताले, नेपालप्रतिको आत्मीयताका कारण एकै दिनमा नेपाली बुझेको जनाउँदै भने, 'कोइरालाजी -सुशील) र प्रचण्डले मलाई एक महिना यता बोलाए, म नेपाली बोल्न पनि सक्छु ।'
चिनियाँ राजदूत क्यु गो होङले नेपालको शान्ति प्रक्रियाले अहिले चुनौतीको सामना गर्नुपरे पनि राजनीतिक दलहरूले छिट्टै सहमतिमा पुग्नेमा विश्वास व्यक्त गरे । 'एउटा प्रमुख दल भएकाले शान्ति प्रक्रिया टुंग्याउने, नयाँ संविधान निर्माण गर्ने र राष्ट्रियताको पक्षमा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,' चिनियाँ सरकारको प्रतिनिधित्व गर्दै उपस्थित उनले भने । भारतीय समाजवादी पार्टीका नेता विजयप्रतापले प्रजातान्त्रिक कांग्रेसको महाधिवेशनमा आउँदा मञ्चमा आसीन नेताबाट व्यक्त समावेशीको कुरामा त्यतिबेला आफूलाई विश्वास नभएको बताए ।
'सबै नेताले लोकतान्त्रिक नेपालमा सबै निकायमा, पार्टीमा मधेसी, जनजाति, दलितको स्थान हुनेछ भनेर संकल्प गरेका थिए । त्यसबेला मलाई लागेको थियो कि नेताहरूले मन र मस्तिष्कबाट नभई आफ्नो मुखबाट मात्रै त बोलिरहेका छन्,' उनले भने, 'त्यतिबेला अविश्वास गर्दा गरेको अपराध म कबुल गर्छु । अहिलेको संविधानसभामा तमाम जाति, समुदायको सशक्त उपस्थिति देख्दा म निकै खुसी छु ।' यति थोरै हिंसाबाट दुनियाँको लोकतन्त्रको इतिहासमा यस्तो ऐतिहासिक उपलब्धि कहीं हासिल नभएको तथ्यलाई ध्यानमा राख्यो भने अगाडिको बाटो पनि सजिलो हुने उनले बताए ।
भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का नेता गिरीश शर्माले नेपालको लोकतन्त्र औंला समातेर हिँड्ने शिशुजस्तो रहेको बताए । 'आज नेपालका अगाडि संविधान निर्माण, शान्ति स्थापना र करोडांै जनतालाई रोजगारी, शिक्षा, स्वास्थ्य, आवास र विकास दिनेजस्ता चुनौती छन्,' उनले भने, 'राजतन्त्रको समाप्तिमा निणर्ायक भूमिका खेलेको नेपाली कांग्रेसले अन्य लोकतान्त्रिक शक्तिसँग मिलेर नेपालको पुनर्निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निभाउने छ । यो महाधिवेशन नेपालका गरिब, शोषित, पीडित, किसान, मजदुरको जीवनमा नयाँ प्रकाश ल्याउनका लागि कोसेढुंगा सावित हुनेछ ।'
भाकपा माक्र्सवादीका नेता जोगेन्द्र शर्माले नेपाली जनता राजतन्त्रसँग संघर्ष गरिरहेका बेला आफ्नो पार्टीले सदैव समर्थन गरेको र नेपाल तथा भारतमा रहेका नेपालीको निकट भएर सहयोग गरेको बताए । 'लोकतान्त्रिक अभ्यास र शान्ति प्रक्रियाको यस्तो नमुना दुनियाँमा कहीं छैन । त्यसो त अमेरिकी साम्राज्यवादले पनि लोकतन्त्रको दुहाई दिन्छ, त्यहाँ लोकका लागि नभई केही व्यक्तिका लागिमात्रै लोकतन्त्र छ । लोकतन्त्रको अर्थ भोट दिएर सरकार चुन्नु होइन, शान्तिका साथ प्रगति गर्नु र त्यसको फल गरिबभन्दा गरिब जनतासम्म पुर्याउनु हो,' उनले भने । जनताले नै इतिहास बनाउने भएकाले राजतन्त्र समाप्त गरेजस्तै नेपाली जनताले शान्ति र संविधान बनाउने र नेपाल दुनियाँका विकाससिल मुलुकको कोटीमा पुग्ने उनले बताए ।
भारतका वरिष्ठ समाजवादी नेता सुरेन्द्र मोहनले पनि शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र स्थापना गरेर नेपालले दुनियाँलाई उदाहरण प्रस्तुत गरेको बताए । चेक सोसिएल डेमोक्रेटिक पार्टी, स्विडिस सोसिएल डेमोक्रेटिक पार्टी, फ्रेन्च सोसिएल पार्टी, सोसिएल डेमोक्रेटिक पार्टी जर्मनी, बुल्गेरिएन सोसिएल डेमोक्रेटिक पार्टी, लेबर पार्टी बेलायत, सोसिएल डेमोक्रेटिक पार्टी अस्टि्रया, सोसिएल डेमोक्रेटिक पार्टी डेनमार्क, भारतका समाजवादी नेता जर्ज फर्नान्डिजलगायतले महाधिवेशनको सफलताको शुभकामना पठाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks