काठमाडौं , भाद्र १९ - पाँचौंपल्ट प्रधानमन्त्री छान्न ७ भदौको मध्याह्न संविधानसभामा चुनावको सुरसार भइरहेका बेला माओवादीका सभासद् बाबुलाल पासवान भीमसेनगोलाबाट टेम्पो चढे । भोट हाल्न संविधानसभा भवन नयाँ बानेश्वर पुग्न उनी हतारिँदै थिए । तर, नयाँ बानेश्वर नपुग्दै टेम्पो जाममा पर्यो । संविधानसभा भवनअगाडि जनजाति महासंघसहित आधा दर्जन साना दल र युवा समूहको धर्नाले तीनपाङ्ग्रेलाई बे्रक लाग्यो ।
'फेरि के भयो आज,' टेम्पोकी एक महिला यात्री रन्थनिइन् । 'त्यही प्रधानमन्त्री छान्ने गाईजात्रा होला नि,' अर्की महिलाले जवाफ फर्काइन्, 'यिनीहरूलाई त समातेर पटापट हिर्काउनुपर्ने ।'
यो तिखो नारी आवाजले सभासद् पासवान झस्किए । ६० नाघेका वृद्धको मनमा भय पलायो, यिनले मलाई सभासद् भनेर चिने भने त लछारपछार पार्न सक्छन् । उनको ध्यान आफ्नो छातीमा टल्किएको सभासद्को लोगोतिर गयो । 'अब लोगोलाई नलुकाए यो घानमा परिन्छ,' उनलाई लाग्यो । त्यसपछि आत्माले अह्रायो, 'ल यो लोगोचाहिँ लुकाइहाल् ।' हत्तपत्त कोट मिलाउने बहानामा उनले लोगो लुकाए । 'महिला दिदीबहिनीहरू त्यसरी रिसाएको बेलामा मैले बोलेको मात्र भए कुटाइ नै खान्थें होला,' पासवान भन्छन्, 'बोल्नुभन्दा लोगो लुकाउनै बेस ठानें ।' यो घटनापछि पासवानलाई सभासद्को लोगो लगाएर हिँड्ने मन मरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks