फूलमान वल
काठमाडौ, भाद्र २२ - मिस नेपाल-२०१० को ताज पहिरिएपछि नयाँबानेश्वरकी १९ वर्षीया सदीक्षा श्रेष्ठलाई फुर्सद मिलेको छैन । कहिल्यै 'मिडिया फेस' नगरेकी उनले सोमबार साँझसम्म पनि अन्तर्वार्ताकै लागि व्यस्त हुनुपर्यो । 'जीवनकै पहिलो अटोग्राफ पनि दिएँ,' सोमबार साँझ दरबारमार्गस्थित नाङ्लो बेकरीमा उनले मुसुक्क हाँस्दै भनिन्, 'फस्ट टाइम प्रमुख अतिथि बनेर पनि गएँ ।'
मिस नेपाल बनेपछिको पाँच दिनभित्र सदीक्षाले जे अनुभव गरिन्, यसले उनलाई आफ्नो अठोटमा लागिरहन बल मिलिरहने बताइन् । निणर्ायक मण्डलको 'युवाहरूलाई उत्तरदायी बनाउने अवसर मिलेमा कुन-कुन क्षेत्रलाई प्राथमिकता दिन्छ्यौ ? प्रश्नमा उनले भनेकी थिइन्, 'उद्योग, विज्ञान-प्रविधि र ग्रुमिङ -आत्मविश्वास बढाउने काम) ।'
'युवाहरू शिक्षित त भइरहेकै छन्,' उनले आफूलाई थप पुष्टि गर्न चाहिन्, 'उद्योगधन्दा भएन भने क्षमताले काम पाउँदैन र विश्वसँग काँध मिलाउन विज्ञान-प्रविधिमा ध्यान दिनुपर्छ । अनि निरन्तर हौसलाका लागि आत्मविश्वास चाहिन्छ ।' सेन्ट जेभियर्समा आइएस्सी सकाएर बसेकी सदीक्षाले अबको दुई वर्ष भने विश्व वन्यजन्तु कोष र पर्यटन वर्ष-२०११ का लागि काम गर्नुपर्नेछ । आर्किटेक्ट आमा र एकाउन्टेन बुबाका जेठी छोरी सदीक्षा त्यसबाहेक समाजसेवा गर्न चाहिन्छिन् ।
जितको पहिलो जस कसलाई दिनुहुन्छ ?
मेरा प्रतिस्पर्धी १७ साथीहरू । पहिलो थ्याङक्स् उनीहरूलाई नै जान्छ । उनीहरू नभइदिएको भए म मिस नेपाल हुने नै थिइनँ । उनीहरू भएर न म भएँ ।
त्यसपछि ?
आमा-बुबा । मेरी आमाले ६ हप्ते प्रशिक्षण अवधिमा निकै सघाउनुभयो । फाइनल प्रतिस्पर्धाको बेला बुबाले त झुम्का र ड्रेस नै लिएर आउनुभयो । उहाँहरूको हौसलाले नै म अघि बढें ।
मिस नेपाल हुनुअघि र पछिको अनुभव ?
म अहिले जसरी तपाईंसँग खुलेर बोलिरहेकी छु नि आत्मविश्वासका साथ, यो पहिलो फरक अनुभव । लाइफ लङ -लामो समयसम्मका लागि) साथीहरू भेटें, जुन कहिल्यै भुल्न सक्दिनँ । आफूभित्रको क्षमता के हो ? र कसरी बाहिर ल्याउने पत्ता लाएकी छु ।
हार्ने साथीहरूप्रति सहानुभूति लागेन ?
खै, कसले हारेको छ र ? मेरो विचारमा सबैले जितेका छन् । मैले जे सिकें, त्यो सबैले सिकेका छन् । सबैले आफूलाई फरक पाएका छन् । सबैले आफ्नो व्यक्तित्व विकास र आत्मबल बढाएका छन् । उपलब्धि यिनै त हुन् नि । त्यसकारण कसैले पनि यो प्रतियोगिता हारेको भन्ने मलाई लाग्दैन ।
ताज पहिरिन्छु जस्तो लागेको थियो ?
ताजकै लागि भाग लिएकी थिएनँ । मिस नेपाल बन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने पनि मलाई लागेको थिएन । सहभागी भएर जे सिकिन्छ त्योचाहिँ मेरो लागि महत्त्वपूर्ण थियो । केही आशाचाहिँ हँुदो रहेछ । त्यो पूरा भो ।
जीवनमा के बन्ने योजना छ ?
अहिले सोचिसकेकी छैन । अब दुई वर्ष त मिस नेपाल भएबापत् गर्नुपर्ने कामहरूमा व्यस्त हुनुपरिनै हाल्यो । त्यसपछि सोचविचार गर्नुपछि कि ?
यसअघि डाक्टर बन्ने लक्ष्य व्यक्त भएको थियो...।
हो, मेरो आमा-बुबाले डाक्टर बनाउन चाहनुहुन्थ्यो । सानोमा हस्पिटल जाँदा डाक्टरले सेतो कोट लाएको देख्दा मलाई पनि खुब रमाइलो लाग्थ्यो । सानो छँदा डाक्टर, इन्जिनियर, पाइलट बन्ने भन्ने पनि एउटा फेसन रहेछ । मान्छेलाई डोहोर्याउने परिस्थिति र इच्छाले हो, जुन बदलिरहन पनि सक्छ ।
भनेपछि खास लक्ष्य छैन...।
लक्ष्य लिने उमेर त भर्खर त हुँदै छ नि । केटाकेटीमा के सोचियो भन्ने कुरा अहिले खोजेर हुन्न । फेरि मेरो आमा-बुबा एकदमै बुझ्ने हुनुहुन्छ । उहाँहरू मेरो इच्छालाई हरदम सपोर्ट गर्नुहुन्छ ।
सौन्दर्य प्रतियोगिता किन विरोधरहित हुन नसकेको होला ?
यो आ-आफ्नो बुझाइको कुरा हो । तर मेरो आग्रह के हो भने जसले विरोध गर्नुहुन्छ उहाँहरूले कम्तीमा यस्तो प्रतियोगिता के हो भने नजिकबाट बुझ्नुपर्छ, अध्ययन गर्नुपर्छ । बाहिर जे सुनिन्छ, त्यसको पछाडि दौडेर हुन्न ।
यसपटक पनि विरोध भयो नि ?
अँ, त्यस्तै सुनें । मेरो विचारमा अब भुइँतलामा बसेर मात्रै हुन्न । सयौं तलाको भवनहरू ठडिन थालिसकेपछि सबैभन्दा माथिल्लो तलामा गएर वरिपरि पनि हेर्नुपर्छ र फराकिलो बुझाइ बोक्नुपर्छ । भुइँतलाको मानसिकताले सधंै पछि मात्रै पार्छ ।
भावी योजना ?
युवा चेतना जगाउनेबारे सोचिरहेकी छु । उनीहरू निराश हुनुहुन्न । मुलुकका सबै कुरा बुझ्नुपर्छ । यो देश हाम्रो हो र हामीले बनाउनुपर्छ भन्ने भावना हुनुपर्छ । देशमा संविधान किन बनिरहेको छैन ? किन प्रधानमन्त्रीको चयन हुन सकिरहेको छैन ? यो चासो सबैभन्दा बढी युवाले लिनुपर्छ र उनीहरूले राजनीति बुझ्नुपर्छ । -हाँस्दै) हुन त हाम्रो देशमा ४५/५० वर्षका नेताले पनि आफूलाई युवा नेता नै भनिरहेका हुन्छन्, सबैभन्दा बढी दिक्क यसैमा लाग्छ ।
अब के गर्नुपर्ला त ?
युवाहरू राजनीतिमा आउनुपर्यो । पार्टीहरूमा युवा नेतृत्वले चान्स पाउनुपर्यो । 'पलिटिक्स इज अ डर्टी गेम' (राजनीति फोहोरी खेल हो) भन्दै युवाहरू अब तर्किनुहुन्न । हुन त १४-१५ वर्षको उमेरमा मलाई पनि त्यस्तै लाग्थ्यो । पछि बुभmदै आउँदा हामी सबैलाई राजनीतिले छुँदोहरेछ । मेरी आमाले बजारमा किन्ने तरकारी र मेरा बुबाले खाने एकाउन्टेनको तलबलाई पनि मुलुकको राजनीतिले असर गर्दोरहेछ । अनि अब हामी युवाले राजनीति नबुझेर सुख ?
राजनीति गर्ने विचार पनि छ कि क्या हो ?
त्यसका लागि अहिले म परिपक्व छु जस्तो लाग्दैन । पछि इच्छा भयो भने गर्न सकिन्छ ।
प्रेमबारे नि ?
यो पनि त मेरो उमेर भएको छैन नि । भर्खरै १९ वर्षकी मात्रै भएँ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks