कान्तिपुर संवाददाता
म्याग्दी, आश्विन १ - मानव स्वास्थ्यमा हानि पुर्याएको भन्दै 'स्लाइस' नामक पेय पदार्थको उत्पादक वरुण बेभरेजविरुद्ध मुद्दा दायर भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्लाइसलाई अखाद्य पुष्टि गरेपछि वरुण बेभरेजलाई विपक्षी बनाई प्रशासन कार्यालयले मुद्दा दायर गरेको हो । कम्पनीका स्थानीय डिलर रामसन्देश स्टोरलाई समेत मुद्दामा विपक्षी बनाइएको छ ।
कानुनी प्रक्रिया पुर्याई १५ दिनभित्र मुद्दाको अन्तिम किनारा लगाउँछौं,' प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । खाद्य ऐनअन्तर्गत दर्ता भएको मुद्दाको फैसला गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई छ । स्लाइसका बोटलभित्र लेदो, काठका टुक्रा, फोहोरलगायत अखाद्य पदार्थ भेटिएपछि प्रशासनले केही नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाएको थियो । विभागले 'नमुनामा तैरिएको पदार्थ चारित्रिक गुणअनुरूप नपाइएको' प्रतिवेदन दिएको थियो ।
'खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको प्रतिवेदनले कम्पनीले गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको प्रस्ट देखाएकाले खाद्य ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको हो,' अनुसन्धान अधिकृतसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले भने । स्लाइसमा अखाद्य पदार्थ भेटिएलगत्तै स्थानीय प्रशासनले सदरमुकाम बेनीमा यसको बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । बिक्रीका लागि राखिएका स्लाइसका बोटलभित्र अखाद्य पदार्थ भेटिएपछि प्रहरी, प्रशासन कार्यालय, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले सदरमुकाम बेनीका पसलहरूमा छड्के अनुगमन गरी संकलन गरिएका एक हजार बोतल स्लाइसमध्ये चार सयभन्दा बढी बोटलमा फोहोर भेटिएको थियो ।
खाद्य ऐनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने खाद्य पदार्थ उत्पादन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना, ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले अखाद्य वस्तु फेला परेका सबै स्लाइसलाई नियन्त्रणमा लिई गोदाममा सिलबन्दी गरेर राखेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks