Loving nepal news

Monday, September 27, 2010

राष्ट्रपति 'चिन्तित'

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन १२ - राष्ट्रपति रामवरण यादवले देशको बिग्रँदो राजनीतिक वातावरणबाट आफू चिन्तित भएको भन्दै कानुनी परामर्श तीव्र पारेका छन् । केही कानुनविद्सँग छलफल गरेको साता नबित्दै उनले नेपाल बार एसोसिएसनका प्रतिनिधिसँग सोमबार भेटेका हुन् ।

भेटमा राष्ट्रपतिले राजनीतिक गतिरोधले कसरी निकास पाउला भन्नेबारे छलफल गरेका थिए । 'आठ-आठ पटक पनि प्रधानमन्त्री चुनिन नसकेपछि उहाँ निकै गम्भीर हुनुहुन्छ,' बारका अध्यक्ष प्रेमबहादुर खड्काले कान्तिपुरसित भने, 'समयमै संविधान बनाउने र शान्ति स्थापना गर्ने काम भाँडिएला भन्ने चिन्ता उहाँमा बढिरहेको छ ।' यादवले हालै खड्कालाई एक्लै पनि भेटेका थिए । राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलले देशको अवस्था बिग्रँदै गएकाले राष्ट्रपति सचेत हुनु स्वाभाविक भएको बताए । 'आफ्नो ढंगबाट प्रयास गरिरहनुभएको छ,' ढुंगेलले भने, 'परामर्श त्यसैको पाटो हो ।'

बार प्रतिनिधिले राष्ट्रपतिलाई सक्रियतापूर्वक सहजकर्ताको भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । 'दलहरू आपसमा मिलिरहेका छैनन्,' खड्काले भने, 'हामीले उनीहरू एकै ठाउँमा बस्ने वातावरण मिलाइदिन आग्रह गर्‍यौं ।' जवाफमा राष्ट्रपतिले आफू संविधानले दिएको अधिकार बाहिर जान नसक्ने बताएका थिए । 'मैले केही भन्यो कि टिप्पणी उठिहाल्छ,' राष्ट्रपतिलाई उद्धृत गर्दै खड्काले भने, 'यस्तोमा कसरी अघि बढ्ने ?'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks