Loving nepal news

Wednesday, September 8, 2010

ठूला बैंकले बढाए नेप्से

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २४ - ठूला वाणिज्य बैंकको सेयर मूल्यमा सुधार आएपछि नेपाल स्टक एक्सचेन्ज परिसूचक बढेको छ । बुधबार नबिल बैंकको १० प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकको ३ दशमलव ४३ प्रतिशत सहित अन्य बैंकको सेयरमूल्य बढेपछि बैंकिङ समूह ९ दशमलव ४५ अंकले सकारात्मक छ ।

बजार बढ्नमा नबिल बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको प्रतिफल मुख्य आधार भएको सेयर दलाल बताउँछन् । बैंकले ३० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

जलविद्युत्, वित्त र बिमा समूह पनि बढेका छन् । यी समूहको योगदानले समग्र बजार ४ दशमलव २९ अंकले बढेर ४ सय २० दशमलव २५ विन्दुमा पुगेको छ ।

विकास बैंक र अन्य समूहमा भने गिरावट आएको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य १ दशमलव ३४ प्रतिशतले घटेपछि अन्य समूह ७ दशमलव ०५ अंकले तल झरेको छ ।

कारोबार भएका ७३ कम्पनीका सेयरमध्ये ३५ को मूल्य बढेको छ भने २४ वटाको घटेको छ । ८ सय ५७ कारोबारमार्फत ९० हजार कित्ता सेयर खरिदबिक्री भएका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड, नबिल, बैंक अफ काठमाडौं, एनआईसी र एनएमबी बैंकले धेरै रकमको कारोबार गरेका छन् । दिनभर ३ करोड ६१ लाख रुपैयाँ बराबर सेयर खरिद-बिक्री भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks