अजय हमाल/शरदप्रकाश धिताल
काठमाडौ, भाद्र १७ - साताको एक दिनमात्र अभ्यास गरेर सुरज पाण्डेले माउन्टेन ड्यु पहिलो डाउनहिल राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिपको उपाधि बुधबार हात पारेका छन् । नेपाल साइक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा सुरजले १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाए । फर्पिङस्थित हात्तीवनमा भएको च्याम्पियनसिपमा उनले ३ मिनेट ३३:१५ सेकेन्डमा रेस पूरा गरे ।
'उपाधि जित्न सकेकामा खुसी छु,' सुरजले भने, 'यसले झनै हौसला बढेको छ । लगातारको अभ्यासले यो सफलता मिलेको हो ।' उनले आफूभित्र डाउनहिलको कला भर्न मदत गर्ने कुमार पुनलाई पनि पछि पारे । कुमारले उनलाई साइक्लिङबारे सिकाउँदै आएका थिए । उनले जितको श्रेय कुमारलाई दिन भने बिर्सेनन् । 'यसको श्रेय कुमारलाई जान्छ,' उनले भने, 'कुमारले लगातार मलाई सिकाए । उनले मलाई डाउनहिलमा कसरी साइकल कुदाउनुपर्छ भन्ने सिकाए ।'
उपाधिसम्मको यात्राका लागि सुरजले पनि निकै मिहिनेत गरेका थिए । उनी हरेक शनिबार दिनभर साइकल कुदाएरै बिताउँथे । उनले हिट रेसमा ३ मिनेट ३५:१६ सकेन्डमा दूरी पूरा गरे । उपाधि जितेपछि सुरजले भने, 'सफलताका लागि सबैभन्दा पहिले लक्ष्य निर्धारण हुनुपर्छ । त्यसपछि अभ्यास र कलाका लागि पनि मिहिनेत गर्नैपर्छ ।'
जितसँगै उनले तीन सातापछि दक्षिण कोरियामा हुने १६ औं एसियाली डाउनहिल च्याम्पियनसिपको स्थान पक्का गरेका छन् । कोरियामा सहभागी हुने, नहुनेबारे उनले पक्का गरेका छैनन् । 'सहभागी हुने सम्भावना कमै छ,' नयाँ अफिसमा काम गरेकाले जान नमिल्ने तर्क दिँदै उनले भने, 'म नगएपछि दोस्रो हुने खेलाडी जान सक्छन् ।' दोस्रो स्थान कुमारले हासिल गरे । उनले ३ मिनेट ४४:०९ सकेन्डमा १.७२ किलोमिटर दूरी पार गरे ।
'चिप्लिएकाले समय राम्रो निकाल्न सकिनँ,' सिंगापुरमा साइकल सिकेका कुमारले भने, 'आगामी दिनमा राम्रो गर्ने विश्वास छ । एसियाली डाउनहिलका लागि मिहिनेत गर्नेछु ।' उनले हिटमा ३ मिनेट ३९:६४ सकेन्डमा रेस पूरा गरेका थिए । तेस्रो स्थान १९७४ एडीका सदस्य नीराकार याकथुम्बाले प्राप्त गरे । उनले निर्धारित दूरी ३ मिनेट ५१:४४ सकेन्डमा पूरा गरे ।
'यो समयबाट सन्तुष्ट छु,' नीराकारले भने, 'रेस कोर्स चिप्लो भएकाले डर लाग्यो । त्यसमा पनि भोलि ब्यान्डसँगै अस्ट्रेलिया जान लागेकाले लडेर चोट लाग्छ कि भन्ने थियो ।' नेपालमा १४ औं एसियाली माउन्टेनबाइक च्याम्पियनसिपमा डाउनहिल समावेश गरिए पनि डाउनहिलको राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन । एसियाली च्याम्पियनसिप भने चोभारमा गरिएको थियो ।
कोर्स राम्रो नभएको र प्राविधिक रूपमा सक्षम नभएकाले पनि डाउनहिल प्रतियोगिता ढिला सुरु भएको नेपाल साइक्लिङ संघका अध्यक्ष छिमी उर्गेन गुरुङले बताए । 'डाउनहिल पनि गर्न सकेकोमा खुसी छौं,' च्याम्पियनसिप सम्पन्न भएपछि अध्यक्ष गुरुङले भने, 'क्रसकन्ट्री जस्तो डाउनहिल गर्न सजिलो छैन । यसका लागि अलि फरक कोर्स आवश्यक
पर्छ । सबैको सहयोगले डाउनहिल पनि गर्न सफल भयौं ।'
उनले कोर्स रहेको सेतीदेवी गाविस र चम्पादेवीका स्थानीयवासीबाट ठूलो सहयोग पाएको बताउँदै अब निमा रेस कोर्सलाई सुधार्दै लैजाने जानकारी पनि दिए । डाउनहिलका लागि चेन इंकले साइक्लिङ संघलाई सघाएको थियो । चेनले आफ्नै पहलमा खोकनामा सिक्नका लागि झन्डै एक किलोमिटरको डाउनहिल कोर्स बनाएको छ ।
'हामीले साइक्लिङ विकासमा सहयोग गर्न सकिन्छ कि भनेर चेन इंक खोलेका हौं,' चेनका सदस्य उपेन्द्रशमशेर राणाले भने, 'युवा खेलाडीलाई साइक्लिङमा आकषिर्त गर्न चाहन्छौं । नेपालमा साइक्लिङको सम्भावना राम्रो छ र अवसर पाएमा खेलाडीले पनि राम्रो गर्न सक्छन् ।' उनले चेनले प्रतियोगिता आयोजना गर्न साइक्लिङ संघलाई लगातार सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे । प्रतियोगितामा पुरुष खेलाडीमात्र सहभागी थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks