काठमाडौ, भाद्र २१ - नेपाली काँग्रेसको आउँदो १२ औँ महाधिवेशनमा रु तीन करोड खर्च हुने भएको छ ।
सबैभन्दा ठूलो खर्च आवास तथा भोजनमा हुनेछ । त्यसको लागि रु डेढ करोड खर्च हुने अनुमान छ ।
आगामी असोज १ देखि ५ गतेसम्म राजधानीमा हुने महाविधेशनमा तीन हजार ८८ महाधिवेशन प्रतिनिधि र अन्य गरी तीन हजार २०० को लागि पार्टीले आवास र भोजनको व्यवस्था गर्नेछ ।
खर्च जुटाउन पार्टीले संस्थागतरुपमा रु दुइ करोड र आफ्नो सङ्गठनबाट रु एक करोड सङ्कलन गर्ने तयारी गरेको महाधिवेशन अर्थ सङ्कलन समितिका संयोजक दीपकुमार उपाध्यायले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
'रु दुइ करोड संस्थागत र रु एक करोड साङ्गठनिक तहबाट उठाउँछौं,' उपाध्यायले भने ।
पार्टीले पहिलोपटक बैंक, रसिद र संस्थागत तवरले पारदर्शी ढङ्गले आम्दानी खर्चको हिसाब राख्ने र त्यसलाई लेखा परीक्षण गरेर सार्वजनिक गर्नेछ । सहयोगका लागि उद्योगी, व्यवसायी, बैंकलगायतका विभिन्न व्यावसायिक सङ्घसंस्थालाई काँग्रेसले पत्राचार गरेको छ ।
'चन्दा सहयोग स्वेच्छिक हुने र त्यसमा कुनै दबाब हुने छैन । कसैले चन्दाको लागि दबाब दिएको सूचना पाए तुरुन्त रोकथाम गरिनेछ' पार्टीले भनेको छ ।
असोज १ गते खुल्लामञ्चमा हुने उद्घाटन समारोहपछिका बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनको मञ्च व्यवस्थापनमा रु १० लाख खर्च हुने अनुमान छ ।
केन्द्रीय निर्वाचन व्यवस्थापनका लागि रु १५ लाख छुट्याइएको छ । आन्तरिक व्यवस्थापनलाई रु २०, सुरक्षा र साँस्कृतिक कार्यक्रममा पाँच/पाँच, प्रचारप्रसारमा रु २५, स्टलमा रु १५, विदेशी सत्कारमा रु १५ र अन्यमा रु ४० लाखका दरले खर्च हुने पार्टीको प्रारम्भिक अनुमान छ ।
पार्टीको स्थानीय निकायको अधिवेशनअघि भएको सक्रिय सदस्यता नवीकरणबाट झण्डै रु चार करोड सङ्कलन भएको थियो ।
उक्त रकम पार्टीको भवन र जग्गा खरिदमा उपयोग गर्ने सोच भएकाले महाधिवेशनको लागि व्यावसायिक संस्थाहरू र केही आन्तरिक तवरबाट खर्च सङ्कलन गर्ने सोच बनाएको बताइएको छ ।
पार्टीका क्रियाशील सदस्यता सङ्ख्या तीन लाख १७ हजार पुगेको छ । सङ्गठनबाट सहयोग सङ्कलन गर्ने क्रममा महाधिवेशन आर्थिक समितिका १६ पदाधिकारीबाट रु ६ लाख उठिसकेको छ ।
संसदमा पार्टीका तर्फबाट सचेतक, मुख्य सचेतकलगायत विभिन्न पदमा रहेका सभासद्हरुबाट रु १५ देखि ३० हजार गरी रु १८ लाख ७० हजार, केन्द्रीय समितिका सदस्यबाट न्यूनतम रु १० हजार गरी रु तीन लाख ७० हजार र थप स्वेच्छिक रु १० लाख आम्दानी हुनेछ ।
महाधिवेशनमा आउने तीन हजार २०० सहभागीबाट प्रति सहभागी रु एक हजारका दरले सहयोग सङ्कलन गरिने पार्टीले जनाएको छ । सरकारमा रहेका मन्त्रीबाट रु चार लाख ५० हजार उठ्ने अनुमान छ ।
महाधिवेशनमा उम्मेदवार हुन चाहने केन्द्रीय सदस्यलाई रु पाँच हजार र पदाधिकारीको लागि रु १० हजार दस्तुर लाग्नेछ ।
कुल ८५ सदस्यीय केन्द्रीय समितिमा करिब ३०० उम्मेदवार हुने अनुमान गरी त्यसबाट रु १५ लाख आम्दानी हुने आर्थिक समितिले बताएको छ ।
ट्रेड यूनियन काँग्रेसबाट सधै झै महाधिवेशन प्रतिनिधिको लागि झोला उपलब्ध गराइएकोमा यस वर्षपनि रु १५ लाख बराबरको सहयोग हुने बताइएको छ ।
विगतमा संस्थागत प्रक्रिया एवम् पारदर्शीताका सम्बन्धमा भएका कमी कमजोरीलाई सुधार गर्दै १२ औँ महाधिवेशनमा गरिने अर्थ सङ्कलन र खर्चका विवरणलाई पारदर्शी ढङ्गले अभिलेख गरी आयव्यय विवरण सार्वजनिक गरिने संयोजक उपाध्यायले बताए ।
"व्यक्तिका लागि होइन, पार्टीका लागि संस्थागतरुपमा सहयोग र समर्थन जुटाउने हाम्रो अभियानमा देश विदेश सबैबाट सहयोगका लागि अपिल गर्र्छौं," संयोजक उपाध्यायले भने ।
महाधिवेशनमा सहयोग दिनेलाई अर्थ सङ्कलन समितिको नाममा डिसिबीएल बैंकमा ००५ देखि - ०२७८९ सीओ नम्बर खाता खोलिएको छ । सिनं. ०१ देखि १०००० सम्मका सहयोग रसिदको माध्यमबाट संस्थागत सङ्कलन प्रक्रिया थालनी भएको पार्टीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks