चितवन, आश्विन ७ - अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घ शाखाले बिहीबार चितवनका पेट्रोल पम्पबाट तेल बिक्री बन्द गरेको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन सँग २०६६ मङ्सिर १७ गते भएको सहमति पालना नभएको भन्दै मजदुरले आन्दोलन स्वरुप आज तेल विक्रि बन्द गरिएको जनाएका छन् । चितवनका सबै पम्पहरुबाट तेल बेच्न नदिने र अमलेखगन्ज डिपोबाट तेलको आपूर्ति बन्द गर्ने अखिल नेपाल पेट्रोलियम मजदुर संघ चितवनले जनाएको छ ।
मजदुरले पेट्रोलियम डिलर्स एसोसिएसनको चितवन कार्यालयमा तालावन्दी गरिदिएका छन् । अखिल नेपाल पेट्रेलियम मजदुर सङ्घका अध्यक्ष सनद श्रेष्ठले मजदुरलाई सम्झौता अनुसार नियुक्तिपत्र नदिने पेट्रोल पम्पहरुमा तेल झार्न नदिने बताए । उनका अनुसार चितवनको कैलाश आयलले मात्र मजदुरहरुलाई नियुक्तिपत्र दिएको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले भने मजदुरहरुले भने जस्तै आफूहरुले नियुक्तीपत्र दिइसकेको र केहीले दिनेक्रममा रहेको दावी गरे । पेट्रोल पम्पका सञ्चालहरुले बन्दको विकल्प रोज्न मजदुरहरुलाई आग्रह गरेका छन् । ओमसाई पेट्रोल सेन्टर रामनगरका म्यानेजर भुवन सुवेदीले मजदुर र एसोसिएसनका पदाधिकारी वार्तामा बसेर समस्याको समाधान निकाल्नुपर्ने बताए । चितवनमा एसोसिएसनमा आवद्ध ८० वटा पेट्रोल पम्पहरु रहेका छन् । चितवनमा २ लाख लिटर पेट्रोलियम पदार्थ दैनिक खपत हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सवै पेट्रोल पम्पहरु बन्द हुदा पुर्वी चितवनको टिकौली सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा तेल हाल्नेको लाम लागेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks