Loving nepal news

Tuesday, September 28, 2010

'सहमतिपछि उम्मेदवारी फिर्ता'

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन १३ - माओवादी-एमालेको सहमति आफूलाई एक्ल्याउने प्रपञ्च भएको आशंका गर्दै कांग्रेसले खास मुद्दाहरूमा प्याकेजमै सहमति नहुन्जेल प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने बताएको छ ।

सभामुख सुवास नेम्वाङको पहलमा मंगलबार सिंहदरबारमा भएको सात दलका नेता र प्रमुख सचेतकहरूसँगको बैठकमा कांग्रेसले शान्ति र संविधानका विषय टुंगो लगाउने प्याकेजभित्रै उम्मेदवारी फिर्तालाई पनि एउटा विषय बनाउन सकिने धारणा राखेको छ ।

शान्ति र संविधानका विषय नमिलाई पहिले उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव मान्य नहुने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबारै आयोजना गरेको १० दलको छलफलमा पनि कांग्रेसले त्यही धारणा राखेको

छ । 'शान्ति प्रक्रिया र संविधानको कुरा पहिले गरौं अनिमात्र सत्ता र त्यससँग जोडिएका कुरामा

प्रवेश गरौं भन्ने हाम्राे प्रस्ताव छ,' कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले भने, 'ती कुरामा सहमति नगरी अन्यमा प्रवेश गर्न सकिँदैन ।'

माओवादी र एमालेका नेताहरूले भने दुई दलले राष्ट्रिय सहमतिको पहल गरेको भन्दै कांग्रेसलाई आश्वस्त तुल्याउने प्रयास गरेका थिए । उनीहरूले उम्मेदवारी फिर्ता लिएर सहमतिको वातावरण बनाउने दिशामा अघि बढ्न कांग्रेसलाई सुझाव दिएका थिए । 'समग्र विषयमा नै सहमति खोजौं भन्ने हाम्राे धारणा हो त्यसका लागि कांग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्छ,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'उम्मेदवारी कायमै राख्दा मुलुल अन्योलमा फसिरहने भएकाले निकासको बाटोमा लागौं भनेका हौं ।'

कांग्रेसले भने दुई दल मिलेर सरकार बनाउने रणनीतिअनुसार मुद्दामा सहमति नगरी पहिले उम्मेदवारी फिर्ता गराउन लागेको भन्दै आपत्ति जनाएको छ । 'पहिले उम्मेदवारी फिर्ता लिऔं अनि राष्ट्रिय सहमति गरौं भन्ने उहाँहरूको आसय छ,' बैठकपछि कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरेले भने, 'सबै विषयमा सहमति गरौं र त्यसभित्र उम्मेदवारी फिर्ताको कुरा पनि राख्न सकिन्छ ।' विशेष गरी माओवादीले अन्य समझदारी अघि नै उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव गरेको घिमिरेले जनाए ।

'उहाँहरूले भन्न खोजेको कुरा अन्ततोगत्वा एमाले र माओवादी मिलेर सरकार निर्माण गर्नेतर्फ परिलक्षित छ,' घिमिरेले भने, 'सरकार बनाउनुहोस् मतलब भएन तर मुद्दामा सहमति हुनुपर्छ भन्ने हाम्रो अडान छ ।'

माओवादी र एमालेबीच गत १ गते राष्ट्रिय सहमतिका लागि नयाँ शिराबाट पहल थाल्ने तीन बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार प्रधानमन्त्रीको आठौं चरणको चुनावमा माओवादीले उम्मेदवारी फिर्ता लिएको थियो । माओवादीको उम्मेदवारी फिर्तापछि कांग्रेस उम्मेदवार एक्लै प्रधानमन्त्रीको निर्वाचनको दौडमा छ । सभामुखसँगको छलफलमा एमाले नेताहरूले राष्ट्रिय सहमतिका लागि आफूहरूले पहिलेदेखि नै अडान राख्दै आएकाले अविश्वास गर्नुपर्ने ठाउँ नरहेको धारणा राखेका थिए । 'संविधानसभामा रहेका सबै दलकै सहमति जुटाउन हामी लागेका छाैं,' एमालेका प्रमुख सचेतक भीम आचार्यले भने, 'त्यसका लागि कांग्रेसको पनि सहयोग चाहिन्छ ।'

प्रधानमन्त्री माधवकुमार नेपालले पनि १० दलको बैठकमा माओवादी र एमालेबीच भएको सहमति दुई दलीय गठबन्धनका लागि नभएको भन्दै आशंका नगर्न आग्रह गरेका थिए । उनले उम्मेदवारी फिर्ता गर्ने र निर्वाचनमा भाग नलिने बाहेक कुनै पनि विषयमा माओवादीसँग गोप्य सहमति भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटाउने पहलमा सबै दलको सहयोगी भूमिका हुनुपर्ने बताएका थिए ।

सभामुखसँगको छलफलमा संविधान निर्माण प्रक्रिया अघि बढाउन भने प्रमुख तीन र मधेसी दल तयार भएका छन् । विषयगत समितिका प्रतिवेदन संवैधानिक समिति नपुग्दा संविधान लेखन कार्य गत चैतदेखि ठप्प छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks