काठमाडौं, आश्विन ६ - माओवादी लडाकुको रेखदेख, नियन्त्रण र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहत गठन हुने सचिवालयमा माओवादीले आफ्ना सेनाका कमान्डर नन्दकिशोर पुनको नाम प्रस्ताव गरेको छ ।
माओवादी सेनाका लडाकुको कमान्ड कन्ट्रोल गर्ने सचिवालयको नेतृत्व दाबीसहित माओवादीले सेनाका कमान्डर पुनलाई पठाउने निर्णय गरेको एक शीर्ष नेताले बताए । 'शान्ति प्रक्रियाको एउटा प्रमुख साझेदार भएकाले सचिवालयको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक रहन्छ । समग्र जनसेनाको प्रतिनिधित्व गर्दै जाने भएकाले जनसेनाकै कमान्ड कन्ट्रोल गर्ने सचिवालयको नेतृत्व हामीले गर्दा प्रक्रिया अगाडि बढाउन सहज पनि हुन्छ,' माओवादी सेनाका कमान्डर पुनले भने ।
शान्तिमन्त्री रकम चेम्जोङले भने सचिवालयको नेतृत्व कसले गर्ने भन्ने विषयको अन्तिम टुंगो विशेष समितिले सहमतिमा गर्ने जनाए । 'अहिलेसम्मका सदस्य हेर्दा पूर्वरथी पनि भएकाले बानानन्द शर्माजीको उचाइ बढी छ । उहाँको नेतृत्व स्वीकार्य पनि हुनसक्छ । पुनजीलाई पठाएपछि माओवादीले पनि नेतृत्व दाबी गर्न खोजेजस्तो देखिएको छ,' विशेष समितिका पदेन सदस्यसमेत रहेका चेम्जोङले भने, 'छिट्टै विशेष समिति बैठक बसेर नेतृत्वको टुंगो लगाइनेछ ।'
विशेष समितिको गत साताको बैठकले ८ सदस्यीय प्राविधिक समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र माओवादी सेनाका लडाकुबाट एक-एक सदस्य थपी त्यसैलाई सचिवालय बनाउने निर्णय गरेको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरीले भने आइतबार आ-आफ्ना प्रतिनिधिको नाम पठाइसकेका छन् ।
सचिवालय सदस्यका लागि सेनाले सहायकरथी महेशविक्रम कार्की तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नायब महानिरीक्षकद्वय केशबहादुर शाही र सिंहबहादुर श्रेष्ठको नाम पठाएको हो । चार सदस्य थपिएपछि माओवादी लडाकुको कमान्ड कन्ट्रोल गर्ने सचिवालयमा १२ सदस्य पुगेका छन् । विशेष समितिले १२ जनाबाटै सहमतिका आधारमा एक संयोजक तोक्ने निर्णय गरेको छ ।
सचिवालयमा परिणत हुनुअघिको प्राविधिक समितिमा माओवादीबाट सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल र वाईसीएल इन्चार्ज कुलबहादुर केसी, कांग्रेसबाट पूर्वरथी शर्मा र पूर्वराजदूत शम्भुराम सिंखडा, एमालेबाट सुरक्षा मामिला जानकार दीपक भट्ट र पूर्वसहायकरथी गोपालसिंह बोहरा, फोरमबाट पूर्वएसएसपी सनन्दनप्रसाद कुर्मी र पूर्वप्रशासक रमानन्द मिश्र सदस्य छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks