Loving nepal news

Tuesday, September 28, 2010

बलात्कार कर्तुत मिलाउन २५ हजारको प्रस्ताव * गाउँका नेता र टाठाबाठा आरोपितको पक्षमा

जनक नेपाल

कम्दी -बाँके, आश्विन १२ - पन्ध्र बर्षीय बालिकामाथि भएको बलात्कारको अपराध लुकाउन गाउँका टाठाबाठाले पीडित परिवारलाई दबाब दिएका छन् । २५ हजार लिएर मुद्दा फिर्ता लिन प्रलोभन देखाएको बालिकाकी आमाले बताईन् । छारे रोगबाट पीडित किशोरीलाई गाउँकै २८ वर्षीय वीरबहादुर बोहराले मामाघर गएकोबेला बलात्कार गरेका हुन् । बोहोरा कोहलपुरस्थित सशस्त्र प्रहरीको त्रिपुरा गणमा परिचर छन् । उनले मादक पदार्थको बेहोसीमा बलात्कार गरेको स्वीकारेका छन् । तर, उनकी पत्नी खिर्माले पैंसा लिएर मुद्दा फिर्ता गर्न दबाब दिदै आएकी छन् । तिलकपुर गाउँका टाठाबाठाले समेत पैंसा लिएर मुद्दा मिलाउन भनेको आमाले बताईन् । उनले कान्तिपुरसित भनिन्-'हुनेखाने र टाठाबाठा जति एकातिर भए । पैंसा लिएर मिले त भै'गो नि भन्छन् ।' तर, छोरीको इज्जतको कुनै मूल्य नहुने भएकाले आफू न्यायको लर्डाई लडेर दोषीलाई कारबाही गराउन लागेको उनले बताईन् ।

भदौ २६ गते बिहान मामाघर छेउको बारीमा बोहराले बालिकालाई दर्र्व्यवहार गरेका हुन् । 'चिच्याएको आवाज सुनेपछि दौडिदै बारीमा पुग्दा बहिनी रुँदै थिई'-प्रत्यक्षदर्शी उनकी दिदिले भनिन्-'उ नांगै थिई । सुरवाल च्यातिएर बारीमा फालिएको थियो ।'

बलात्कारमा संलग्न बोहरालाई जोगाउन गाउँका टाठाबाठा र आफन्त लागेको उनले गुनासो गरिन् । गाउँलेले अभियुक्तलाई भगाए पनि सशस्त्र प्रहरीले पक्राउ गरी जिल्ला प्रहरीलाई बुझाएको थियो । घटना भएकै दिन उजुरी दिए पनि प्रहरीले २८ घण्टापछि स्वास्थ्य परिक्षण गराएको थियो । 'गाउँका पार्टी नेताहरुले पनि अपराध मिलाउनै सल्लाह दिए'-२२ बर्षीय दिदिले भनिन्-तर, अपराधीलाई कडा कारबाहीकै लागि खुट्टा कपाएका छैनौ ।

लामो समयदेखि छारे रोगबाट पीडित बालिका बलात्कारपछि थला परेकी छन् । उनी घरको आगनबाट बाहिर ननिस्केको आमाले बताईन् । बालिका ४ कक्षामा पढ्दादेखि छारे रोग बढेको र असामान्य व्यवहार देखाउन थालेको परिवारले जनाएको छ । 'घटनापछि झन् अर्कै व्यवहार गर्न थालेकी छ'-आमाले भनिन् । उनका चार छोरी छन् । पति रोजगारीका लागि भारतमा छन् । ४ कठ्ठा ऐलानी जग्गामा खेती र ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दैआएकी उनले दुखेसो पोखिन्- 'दुःख परेको बेला छरछिमेकले समेत धनी र टाठाबाठाको पक्षमा लाग्दा रहेछन् ।' अपराधमा संलग्न युवालाई टाठाबाठाले गालीसमेत नगरेको उनले बताईन् ।

यौन दुर्र्व्यवहार र बलात्कारका अपराधहरु टाठाबाठाले गाउँमा मिलाउने गरेको कानून व्यवसायीहरुले बताएका छन् । पैंसामा मुद्दा नमिल्ने भएपछि आरोपित बोहराले बिहे गर्ने प्रस्ताव राखेका थिए । तर, बिरामी र असामान्य बालिकालाई बिहे गर्ने कसैले नपत्याएकाले पीडित परिवार प्रहरीमा पुगेको हो । यौन दुर्र्व्यवहार र बलात्कारका ६० प्रतिशतभन्दा बढी अपराध गाउँमै मिल्ने गरेको एड्भोकेशी फोरमका कानूनी अधिकृत बिनु श्रेष्ठले बताईन् । तीमध्ये अधिकांश पारिवारिक सम्बन्धभित्रका अपराध रहेको उल्लेख गर्दै उनले भनिन्- 'घटनाहरु बाहिरै नआउने र आए पनि मोलतोल गरेर फिर्ता हुने गरेका छन् । त्यसले अपराधीलाई प्रोत्साहन मिलेको छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks