Loving nepal news

Sunday, September 5, 2010

देउवा उत्रे मैदानमा * कोइरालाले पनि केही दिनमै घोषणा गर्ने


कुलचन्द्र न्यौपाने

काठमाडौ, भाद्र २१ - कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्ना समर्थकमाझ आइतबार सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादवलाई अघि सारेका छन् । कांग्रेसको आउँदो असोज १ देखि ५ सम्म महाधिवेशन हुँदैछ ।

प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्कासँग समीकरण मिलेपछि पार्टी कार्यालय सानेपामा देउवाले महामन्त्री र कोषाध्यक्षको प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा खड्काले देउवा, निधि र यादवको उम्मेदवारीको प्रस्ताव गरेका थिए । खड्काको प्रस्तावपछि देउवा र निधिले औपचारिक रूपमा आफूहरू उम्मेदवार भएको घोषणा गर्दै पार्टीलाई परिवर्तनको दिशामा लैजान आफ्नो प्यानललाई जिताउन आग्रह पनि गरे । कोषाध्यक्षकी उम्मेदवार यादव जिल्लामा रहेका कारण कार्यक्रममा अनुपस्थित थिइन् ।

सभापतिका अर्का प्रत्यासी एवं कार्यवाहक सभापति सुशील कोइरालाले पनि एक/दुई दिनमै महामन्त्री र कोषाध्यक्षमा आफ्नो प्यानल घोषणाको तयारी गरेका छन् । तेस्रो धारको प्रतिनिधित्व गर्दै सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यको उम्मेदवारी यसअघि घोषणा भइसकेको छ ।

पार्टीभित्र खड्का माओवादीको कडा आलोचकका रूपमा चिनिन्छन् । माओवादीसँग प्रतिरोध गर्न तरुण दस्ता गठन गर्नुपर्ने औपचारिक प्रस्तावसमेत उनले पार्टीभित्र राख्दै आएका छन् । खड्का एघारांै महाधिवेशनअघि देउवासँग असहमति जनाउँदै तत्कालीन प्रजातान्त्रिक कांग्रेस छाडी कांग्रेसमा प्रवेश गरेका थिए । उनी एघारांै महाधिवेशनमा कांग्रेसबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पदीय समीकरण मिलेका कारण १२ औं महाधिवेशनमा खड्का देउवानिकट पुगेका हुन् ।

स्रोतहरूका अनुसार खड्काले कोइराला क्याम्पबाट महामन्त्रीको उम्मेदवारी नपाएपछि समूह परिवर्तन गरेका हुन् । देउवासँग मनोनीतमध्येका दुई महत्त्वपूर्ण उपसभापति वा महामन्त्रीमध्येमा एकमा ल्याउने सहमति भएको छ ।

कोइरालाले महामन्त्रीमा प्रकाशमान सिंह र अर्जुननरसिंह केसीमध्ये एकलाई अघि सार्ने सोच बनाएका छन् । तर दाबेदारमा केन्द्रीय सदस्य रामशरण महत, कृष्ण सिटौला र सुजाता कोइराला पनि छन् । कोषाध्यक्षमा दीपकुमार उपाध्याय वा पदमनारायण चौधरी एकलाई छान्ने सम्भावना छ ।

देउवा प्यानलबाट मधेसी मूलका प्रभावशाली नेता निधिलाई महामन्त्री र मधेसी मूलकी महिला यादवलाई कोषाध्यक्षमा उठाएपछि कोइरालालाई पनि समावेशी प्यानल बनाउने दबाब बढेको छ ।

देउवाले उम्मेदवारी घोषणा गर्दा आदिवासी, जनजाति, मधेसलाई समेटेर आफूले नेतृत्व गर्न चाहेको बताउँदै त्यसको संाकेतिक प्रमाणको रूपमा उम्मेदवारी घोषणालाई लिएका छन् । 'म बीपी, सुर्वणशमशेर, गणेशमान, किसनुजी, गिरिजाबाबु र महेन्द्रनारायण निधिले लिएको बाटोबाट कांग्रेसलाई शक्तिशाली र जनपि्रय बनाउन चाहन्छु,' देउवाले भने । उनले गिरिजाप्रसाद कोइरालाबाट सुरु शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र लोकतान्त्रिक संविधान निर्माण गर्ने मुख्य चुनौती रहेको बताउँदै यो चुनौती सामना गर्न सक्ने सक्षम पार्टी बनाउने आफ्नो अभियान रहेको बताए ।

घोषणासभामा देउवाले 'हाम्रा नेता' भनेर खड्कालाई सम्बोधन गरेका थिए । खड्काले आफ्नो टिमलाई जिताउन आफू मात्रै नभएर सबै लाग्न आग्रह गर्दै भने, 'उहाँहरू -देउवा, निधि र यादव) को नेतृत्वमा पार्टी ०४८ सालअघिको अवस्थामा पुग्न सक्छ ।' देउवाले ०४८ को अवस्थामा पार्टीलाई पुर्‍याएर छाड्ने उद्घोष गर्दै पार्टीभित्र कसैलाई काखा र पाखाको व्यवहार नगर्ने बताए । 'म सबैलाई बराबरीको इज्जत दिन चाहन्छु । सबैलाई संरक्षण गरेर कुनै पनि कार्यकर्तालाई असुरक्षित महसुुस हुन नदिने प्रतिज्ञा गर्छु,' देउवाले भने, 'कसैलाई काखा र पाखा नबनाई पार्टीलाई एक ढिक्का बनाउने मेरो अभियान हुनेछ ।'

महामन्त्रीका उम्मेदवार निधिले कांग्रेस परिवर्तनको पक्षधर मात्र नभएर त्यसको नेतृत्व गर्न आफ्नो प्यानल सक्षम हुने बताए ।

देउवाको उम्मेदवारी घोषणामा केन्द्रीय सदस्य पूर्णबहादुर खड्का पनि सहभागी थिए । संसदीय दलको निर्वाचनमा रामचन्द्र पौडेललाई सघाएका खड्का देउवाकै क्याम्पमा फर्केका हुन् । देउवाले आफ्नो क्याम्पबाट केही समयअघि टाढिएका बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, दीपकुमार उपाध्याय, नारायण खड्का, प्रदीप गिरी लगायतलाई फर्काउने प्रयास गरेका छन् ।

गिरीले दुवै अयोग्यबाट एउटालाई छान्नुपर्ने स्थिति आएको बताउँदै देउवालाई सघाउने संकेत गरे । 'मेरो चाहना नयाँ व्यक्ति आउनुपर्छ भन्ने थियो । त्यो स्थिति नभएपछि सुशील कोइरालालाई म सहयोग गर्न सक्दिनँ,' उनले भने, 'देउवालाई सहयोग गर्ने घोषणा गर्दा सबै कारणसहित सार्वजनिक गर्छु ।'

वाग्लेले कसैको नाम नलिई योग्यता र क्षमता हेरेर साथ दिने बताए । 'शेरबहादुर, सुशील र भीमबहादुर तामाङ जसलाई समर्थन गरे पनि युवा र पुराना टिम नेतृत्वमा आउनुपर्छ,' उनले भने, 'देश र प्रजातन्त्रका लागि योगदान गर्न सक्ने नेतृत्वमा पुग्नुपर्छ ।'

नारायण खड्काले पनि अहिल्यै कुनै पक्षमा नखुलेको बताउँदै पार्टीलाई संस्थापन कांग्रेस र प्रजातान्त्रिक कांग्रेसजस्तो अवस्थामा पुर्‍याउन नहुने बताए । 'पार्टीमा पुनः पूर्वप्रजातान्त्रिक कांग्रेसको जन्म नहोस् । दुई खेामामा बाँडिँदा राम्रो सन्देश जाँदैन,' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks