Loving nepal news

Saturday, September 18, 2010

नीतिभन्दा नेता छान्न हतार


बलराम बानियाँ/कुलचन्द्र न्यौपाने

काठमाडौ, आश्विन ३ - पाँच दिने महाधिवेशन उद्घाटनको दोस्रै दिन नीति तथा कार्यक्रमसहित गम्भीर राजनीतिक विषयका प्रस्तावमा छलफल छाडी नेता छान्ने प्रक्रियामा कांग्रेस केन्दि्रत भएको छ । यसले पार्टीको सैद्धान्तिक र राजनीतिक पक्ष ओझेलमा परेका छन् ।

पदाधिकारी तथा सदस्यको शनिबार मनोनयन दर्ता गरिएपछि सबै प्रचारप्रसारमा लागेका छन् । बाहिरमात्र होइन, बन्दसत्र हलमै उम्मेदवारहरू सहभागीको विचार सुन्न छाडेर मत माग्न थालेका छन् ।

यो अवस्थालाई लिएर कतिपय नेताले आपत्ति जनाएका छन् । राजनीतिक संक्रमणकालीन अवस्थामा सुरु भएको महाधिवेशन मुलुकमा उत्पन्न गतिरोधलाई निकास दिने विषयमा बहस गर्नेभन्दा नेता छान्ने प्रक्रियामा सीमित हुने थालेको चिन्ता केन्द्रीय सदस्य प्रदीप गिरीले व्यक्त गरे । राजनीतिक मुद्दाहरूको समाधानका लागि अन्य दललाई समेत सकारात्मक सन्देश दिएर अघि बढ्नुपर्नेमा नेतृत्व पंक्ति नै निर्वाचन प्रक्रियाप्रति केन्दि्रत भएको आरोप उनको छ ।

'नेता र कार्यसमिति छान्नेबाहेक पार्टीको भावी कार्यक्रम र दिशा तय गर्ने नीतिमाथि गम्भीर छलफल गर्न नेतृत्व पनि तयार छैन,' उनले कान्तिपुरसँग भने, 'बन्दसत्रको सान्दर्भिकता यसअघिका महाधिवेशनमा पनि थिएन, यसपालि पनि देखिन्न । महाधिवेशन नेता छान्ने थलोमात्रै बन्दैछ ।'

उम्मेदवारी मनोनयनपछि अपराह्न साढे २ बजे सुरु भएको बन्दसत्र निर्वाचनको छायाले प्रभावित बन्न पुगेको छ । पार्टीको भावी नीति र कार्यक्रमप्रतिको गम्भीरता देखाउनेमा भन्दा निर्वाचनको प्रचारप्रसारमा प्रतिनिधिहरूसमेत लागेका छन् ।

'मुलुक गम्भीर मोडमा उभिएका बेला आयोजित कांग्रेस महाधिवेशन पूरै निर्वाचनमुखी हुनु दुर्भाग्यपूर्ण हो,' महासमिति सदस्य देवराज चालिसेले भने, '६ महिनाअघि पाउनुपर्ने नीति र कार्यक्रमको दस्तावेज बल्ल पाइएको छ । कहिले अध्ययन गरेर के कुरा राख्ने ? व्यापक छलफल र सहभागिताबिना औपचारिकताका लागि मात्रै पारित गरिने नीति तथा कार्यक्रमले मुलुकलाई दिशानिर्देश गर्न सक्दैन ।'

नीति र कार्यक्रम प्रस्तुत भइरहँदा हलभित्र आधा पनि महाधिवेशन प्रतिनिधि सहभागी थिएनन् । बैठकमा प्रस्तुत गर्न पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै पारित गरेको ५६ पृष्ठको चारवटा दस्तावेज सहभागीहरूले बिहीबारदेखि मात्रै पाएका हुन् । दस्तावेजमाथि अध्ययन गर्ने समय अपुग भएकाले पनि छलफलप्रति प्रतिनिधिहरूले चासो दिएनन् । सहभागी प्रतिनिधि रामहरि खतिवडाका अनुसार बैठकस्थल भृकुटीमण्डपको हलमा साउन्ड इको हुने गरेकाले प्रस्ट नसुनिँदा पनि बन्दसत्र आकर्षक हुन सकेको छैन ।

नीति र कार्यक्रम प्रस्तुत हुँदा बैठकमा थोरै प्रतिनिधि मात्रै सहभागी थिए । बैठक छाडेर प्रतिनिधि र उम्मेदवार प्रचारमा लागेका थिए ।

बन्दसत्र हलमा समेत भिजिटिङ कार्ड र पोस्टर बाँड्न थालेपछि कार्यवाहक सभापति सुशील कोइरालाले 'यो प्रचार गर्ने थलो होइन, नीति तथा कार्यक्रमप्रति ध्यान दिनुहोस्' भन्दै प्रचार रोक्न आग्रह गर्नुपरेको थियो । उनले पटक-पटक आग्रह गर्दा पनि उम्मेदवारहरूले बैठकभित्रै पर्चा र भिजिटिङ कार्ड बाँड्न भने छाडेका थिएनन् ।

पार्टीका तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवाले साँझ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफल हुने कार्यक्रम छ । बन्दसत्रमा पार्टीले लिने भावी कार्यक्रम र नीतिमाथि छलफल सुरु भएको छ । बैठकमा चारवटै दस्तावेजको सारसंक्षेप देउवाले प्रस्तुत गरेका थिए । लगत्तै केन्द्रीय सदस्य महेश आचार्यले समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको धारणा नामक प्रस्ताव पेस गरेका छन् । आर्थिक, सामाजिक नीति र कार्यक्रम, अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिसम्बन्धी धारणा र संगठन सृदृढीकरणको कार्य योजना विषयक प्रस्ताव आइतबार पेस गरिनेछ ।

त्यसअघि महामन्त्री विमलेन्द्र निधि र कुलबहादुर गुरुङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रस्ताव बन्दसत्रले सर्वसम्मत रूपमा पारित गरेको छ । महामन्त्री निधिले प्रस्तुत गरेको प्रतिवेदनमा सहभागीहरूले छलफलमा भाग नलिएपछि सर्वसम्मत भएको हो ।

बन्दसत्र हल वरिपरि ५ सय मिटरमा प्रचार सामग्री नटाँग्ने निर्वाचन आचारसंहिता पार्टीका सबैजसो नेताले उल्लंघन गरेका छन् । नेताहरूले एकातिर हाते पर्चामात्र बाँड्ने आचारसंहिताविपरीत बन्दसत्रको ५ सय मिटरवरै होर्डिङबोर्ड, फ्लेक्स, ठूलठूला ब्यानर टाँसेर प्रचारप्रसार गरिरहेका छन् ।

कांग्रेस कार्यसमितिले भडकिलो प्रचारप्रसार गर्न आचारसंहिता बनाई रोक लगाए पनि सभापतिका प्रत्यासीसहित सबैजसोले त्यसको उल्लंघन गरिरहेका छन् । आचारसंहितविपरीत भृकुटीमण्डप र पुतलीसडक क्षेत्रवरपर प्रचार सामग्रीले सजाउने काम शनिबार पनि रोकिएन । उम्मेदवारहरू कोभन्दा को कम भन्ने शैलीमा प्रचारमा उत्रिएका छन् ।

पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भद्रकाली क्षेत्रमा वरपर भरिएका कांग्रेस कार्यकर्तामाझ उम्मेदवारहरू प्रचार गर्दै हिँडेका थिए । आफ्नो पक्षका उम्मेदवारलाई जिताउन महाधिवेशन प्रतिनिधि नरहेका कार्यकर्ताहरूसमेत बन्दसत्र स्थलमा प्रचार सामग्री बाँड्न व्यस्त देखिन्थे । भृकुटीमण्डप क्षेत्रका पर्खालका भित्ता र घरमा समेत प्रचार सामग्रीले ढाकिएका छन् ।

महामन्त्रीको प्रतिवेदनमा समेत सहभागीहरूले छलफलमा भाग लिएका थिएनन् । भाग नलिएपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो । प्रतिवेदनमा एमालेको तटस्थताका कारण मुलुकले प्रधानमन्त्री पाउन नसकेको उल्लेख गर्दै निर्वाचन प्रक्रियाबाट निर्णय नआउँदासम्म कांग्रेस सहभागी हुने उल्लेख छ ।

प्रतिवेदनमा सरकार गठनको तथा शान्ति प्रक्रिया र संविधान निर्माणको विषय अलग्गै रहेको नबुझेसम्म वर्तमान जटिलताले निकास पाउन समस्या पर्ने बताउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धतालाई कार्यान्वयन गरेर त्यसको आधार र कार्यदिशामा राष्ट्रिय सहमति निर्माण गर्न सकिने उल्लेख छ ।

संविधान निर्माणअन्तर्गत बहुलवाद, प्रदेशहरूको स्वरूप, शासकीय स्वरूप, व्यवस्थापिका, निर्वाचन प्रणाली, न्यायपालिका, राजनीतिक दल खोल्नेबारेमा पूर्वसम्झौता विपरीत माओवादीले धारणा राख्दै आएकाले गतिरोध सिर्जना भएको जनाएको छ ।

नीति तथा कार्यक्रममा कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवादी धारलाई अघि बढाउन सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको छ । सामाजिक कार्यक्रमअन्तर्गत छुवाछूत र महिलाविरुद्ध हुने घरेलु हिंसा र यौन शोषण अन्त्य गर्न त्यस्ता कार्यमा लाग्ने सदस्यलाई सक्रिय सदस्यताबाट समेत बञ्चित गर्ने नीति लिएको छ । सामाजिक आन्दोलनको नेतृत्व लिने अभियानका साथ उसले प्रत्येक वर्षको जेठ १० का दिन जिल्ला र केन्द्रीय कार्यालयको संयोजनमा छुवाछूत र विभेदविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्ने र राष्ट्रिय समता दिवस मनाउने उद्घोषसमेत गरेको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, आवास, खाद्य, सुरक्षा र रोजगार, मर्यादित जीवनका पाँच अधिकार भन्ने नारालाई कार्यनीतिक रूपमा अघि बढाउँदै नयाँ संविधानमा यी अधिकारलाई मौलिक हकको रूपमा राख्ने प्रस्तावसमेत गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks