काठमाडौ, आश्विन ४ - कांग्रेस सभापतिका प्रत्यासीद्वय सुशील कोइराला र शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमितिका ६१ केन्द्रीय सदस्यका लागि पनि छुट्टाछुट्टै प्यानल बनाउने कसरतमा लागेका छन् । दुवै पक्षले खुला, अञ्चल र आरक्षित कोटामा प्यानल बनाउन आफ्नातर्फका बढी संख्यामा उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता गराउन थालेका छन् । आफ्नो समूहबाट बढी उम्मेदवारी परेका कारण कोइराला पक्षलाई प्यानल बनाउन देउवा समूहलाई भन्दा बढी मेहनत गर्नुपरेको स्रोतले उल्लेख गरेको छ ।
प्यानल बनाउन संस्थापन पक्षका सभापतिका प्रत्यासी सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू गोप्य बैठक गरिरहेका छन् । देउवा पक्षका खुमबहादुर खड्का, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायतका नेता प्यानल बनाउन व्यस्त छन् ।
दुवै पक्षको प्रयासमा खुला, अञ्चल र आरक्षित सिटका २२ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्यका लागि अब ३ सय ३१ उम्मेदवार बाँकी छन् । विधिवत रूपमा फिर्ता लिने समय सकिए पनि दुवै पक्षले प्यानलमा परेकाबाहेक आफ्नो पक्षका अरू उम्मेदवारलाई मतदानको समयसम्म मनोनयन फिर्ता गर्न लगाउने प्रयास हुने स्रोतले उल्लेख गर्यो ।
सभापतिका प्रत्यासी कोइरालाको आग्रहमा मुस्लिम कोटाबाट उम्मेदवार फर्मुल्ला मन्सुरले मनोनयन फिर्ता लिएका छन् । संस्थापन पक्षबाट उक्त कोटामा आफ्नो प्यानलको उम्मेदवार श्रम तथा यातायातमन्त्री आफ्ताव आलमलाई बनाउन मन्सुरको उम्मेदवारी फिर्ता गराएको स्रोतले उल्लेख गरेको छ । कोइरालाले सभापति जितेमा मन्सुरलाई मनोनीत गरी केन्द्रीय सदस्यमा ल्याउने आश्वासन दिएका छन् । मन्सुरको मनोनयन फिर्तापछि मुस्लिम कोटाबाट १० जना उम्मेदवार बाँकी छन् ।
कतिपय अञ्चल र खुला सिटमा दुवै पक्षले क-कसलाई प्यानलमा राख्ने तय गरिसकेका छन् । सबै तय नभइसकेकाले नाम भने सार्वजनिक गरिएको छैन । महाकाली अञ्चलमा तीन उम्मेदवारमध्ये कोइराला पक्षले दिलेन्द्र बडु र देउवा समूहले रमेश लेखकलाई आफ्नो प्यानलमा राख्ने तय गरिसकेका छन् । महाकालीका अर्का उम्मेदवार गौरीशंकर गिरी संस्थापन पक्षकै हुन् । संस्थापन पक्षले गिरीलाई उम्मेदवारी फिर्ता लिन सम्झाउने कोसिस गरिरहेको छ ।
कोइराला पक्षले सेतीमा सुनिल भण्डारी या बद्री पाण्डेमध्ये एक, कणर्ालीमा दीनबन्धु श्रेष्ठ तथा देउवा पक्ष सेतीमा अर्जुनजंगबहादुर सिंह, कणर्ालीमा जीवनबहादुर शाहीलाई प्यानलमा राख्ने निर्णयमा पुगेका छन् । राप्तीमा प्यानल बनाउन कोइराला पक्षले गोपालजीजंग शाह र देउवा पक्षले ध्रुवराज पुरी र हेमन्तबहादुर मल्लको उम्मेदवारी फिर्ता गराएको छ । संस्थापन पक्षले भेरीमा हृदयराम थानी या गणेशबहादुर खड्कामध्ये एक, राप्तीबाट दीपक गिरीलाई आफ्नो प्यानलमा राख्ने तयारी गरेको छ भने देउवा समूहले राप्तीमा कृष्णकिशोर घिमिरे र भेरीमा नेविसंघका पूर्वसभापति किशोरसिंह राठौरलाई प्यानलमा राख्ने मनस्थिति बनाएको छ ।
कोइराला पक्षले लुम्बिनीमा कृष्णचन्द्र नेपाली या त्रैलोक्यप्रताप सेन, धवलागिरिमा अर्जुन जोशी, गण्डकीमा रघुनाथ पौडेल या खगेन्द्र रेग्मीमध्ये एक र देउवा पक्षले लुम्बिनीमा भरतकुमार शाह र धवलागिरिमा किरण पौडेल, गण्डकीमा सुरेन्द्र पाण्डेलाई प्यानलमा राख्ने सम्भावना छ । संस्थापन पक्ष र देउवा पक्षले यी अञ्चलमा प्यानल बनाउन लुम्बिनीबाट गोकर्ण पौडेल, राजेश आचार्य, धवलागिरिबाट यज्ञ अधिकारी र हरिप्रसाद श्रेष्ठ तथा गण्डकीबाट सोभियतबहादुर अधिकारीको मनोनयन फिर्ता गराएका छन् । आचार्यले वक्तव्य जारी गरी उम्मेदवारी फिर्ता लिएका हुन् ।
देउवा पक्षले नारायणीमा रमेश रिजाल, जनकपुरमा देवी न्यौपाने, सगरमाथाबाट सुवास पोखरेल, कोसीमा उमेशजंग रायमाझी, मेचीमा नरेन्द्रकुमार नेम्वाङ प्यानलमा राख्ने तयारी गरेको छ । देउवा पक्षले वाग्मतीमा ध्यानगोविन्द रञ्जितलाई प्यानलमा राख्ने प्रयासमा लागेको छ तर उनी संस्थापनको प्यानलमा पर्न चाहेका छन् । तर संस्थापन पक्षले नवीन्द्रराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेकाले रञ्जित देउवा प्यानलमा पर्ने सम्भावना रहेको स्रोतले उल्लेख गरेको छ । प्यानलका लागि सजिलो बनाउन वाग्मतीबाट संस्थापन पक्षका लोकेश ढकाल, बालचन्द्र पौडेल र देउवा पक्षबाट ध्रुव अधिकारी, नारायणीबाट तेजनारायण कलुवारको उम्मेदवारी फिर्ता गराइएको छ ।
कोइराला पक्षले जनकपुरमा लक्ष्मण घिमिरे या आनन्द ढुंगाना, मेचीमा बेनुप प्रसाईं या सुधीर सिवाकोटी, कोसीमा आमोदप्रसाद उपाध्याय, सगरमाथामा रामकुमार चौधरी या शिव बस्नेत तथा नारायणीमा राजेन्द्रबहादुर अमात्य या दिनेश कोइरालालाई बनाउनेबारेमा आन्तरिक छलफल गरेको छ । कोसी अञ्चलबाट कोइराला परिवारकै अशोक कोइराला दाबेदार भएकाले निर्णयमा पुग्न संस्थापन पक्षलाई गाह्रो परिरहेको छ । प्यानल बनाउन सजिलो बनाइदिन मेचीबाट कोइराला पक्षका दीपकप्रकाश बाँस्कोटा र कोसीबाट देउवा पक्षका टंक राईको उम्मेदवारी फिर्ता गराइएको छ ।
दुवै पक्षले खुलातर्फको २५ सिटमा १५ देखि २० जनासम्मको प्यानल बनाउने गृहकार्य गरेका छन् । पार्टीका लागि आवश्यक दुवै पक्षका हस्तीलाई जिताउन १५/२० जनासम्मको मात्र प्यानल बनाउने गृहकार्य भएको जानकारी दुवै समूहका नेताले दिए । कोइराला पक्षले रामचन्द्र पौडेल, केबी गुरुङ, अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, शेखर कोइराला, महेश आचार्य, सुजाता कोइराला, तारानाथ रानाभाट, कृष्ण सिटौला, पूर्णकुमार शेर्मा, दीपकुमार उपाध्याय, नारायण खड्का, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापालगायतलाई प्यानलमा राख्ने मनस्थिति बनाएको छ ।
देउवा पक्षले खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रदीप गिरी, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, जीपछिरिङ लामा, जीवनप्रेम श्रेष्ठ, राजराम कार्की, रणबहादुर रावल, खिलानाथ दाहाल, देवप्रकाश त्रिपाठीलगायतको प्यानल बनाउने तयारी गरेको जानकारी स्रोतले दियो । दुवै पक्षले प्यानलको टुंगो भने लगाइसकेका छैनन् । २५ को खुला सिटमा ९७ जनाको उम्मेदवार कायमै रहेकाले दुवै पक्षलाई पूर्णप्यानल बनाउन समस्या परेको छ । दुवै पक्षले खुलातर्फको कोटामा १५ देखि २० जनालाई मात्र प्यानलमा समेट्ने र अरू खुला छाड्ने मनस्थिति बनाएका छन् ।
मधेसी, दलित, आदिवासी जनजातिको ३/३ जना पुरुष कोटा र महिला ६ सिटमा धेरै उम्मेदवार परेकाले त्यसमा पनि प्यानल बनाउन दुवै पक्षलाई समस्या भइरहेको छ ।
२२ जनाको उम्मेदवारी फिर्ता
कांग्रेस केन्द्रीय सदस्यका २१ प्रत्यासीले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।
खुला, आरक्षण तथा अञ्चलबाट मनोनयन दर्ता गराएकामध्ये २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । केन्द्रीय सदस्यका लागि अब ३ सय ३१ उम्मेदवार बाँकी छन् ।
अञ्चलबाट उम्मेदवारी दिएका १५, खुलाबाट २, आदिवासी जनजातिबाट २, तथा मधेसी र मुस्लिमबाट १/१ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी फिर्ता लिएकामा खुलातर्फका २ मा विश्वप्रकाश शर्मा र अशोककुमार पोखरेल छन् ।
आरक्षित कोटामध्ये मुस्लिमबाट फर्मुल्ला मन्सुर, मधेसीबाट राकेश सिंह, आदिवासी जनजातिबाट आङटावा शेर्पा र आदिवासी जनजाति महिलातर्फबाट कुशुमदेवी थापाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
आफूतिर आएको हल्ला
देउवा पक्षबाट संस्थापन पक्षका नेता अर्जुननरसिंह केसी आफ्नो समूहमा आउन लागेको र सोमबार पत्रकार सम्मेलन गरी त्यसको घोषणा गर्ने प्रचार अनौपचारिक ढंगले भइरहेको छ । केसी कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार नपाएपछि केही असन्तुष्ट छन् ।
देउवा पक्षले कोइराला पक्षका केही जिल्ला सभापति आफूतिर आएको प्रचार गरिरहेको छ । देउवा पक्षमा गएको प्रचार गरिएका दुई सभापति विष्णु राई -खोटाङ) र हिमाल कार्की -उदयपुर) ले आइतबार विज्ञप्ति जारी गरी आफूहरू संस्थापन पक्षमै रहेको उल्लेख गरेका छन् ।
नेता केसीले पनि आफू संस्थापन पक्षमा रहेको र आफ्नाबारेमा गरिएको प्रचार झूटो भएको बताएका छन् । 'मेराबारेमा गरिएको प्रचार झूटो र निरर्थक हो । म जहाँ छु त्यहीं छु,' केसीले कान्तिपुरसित भने ।
महाधिवेशन र निर्वाचन प्रक्रिया अलग गर्न माग
महाधिवेशन निर्वाचनमुखी हुन थालेपछि त्यसले ठोस नीति र कार्यक्रम ल्याउन नसक्ने चिन्ता व्यक्त गर्दै केही नेताले महाधिवेशन र निर्वाचन प्रक्रिया अलग-अलग गर्न माग गरेका छन् ।
तेस्रो धारका महामन्त्रीका नरहरि आचार्यले निर्वाचन र महाधिवेशन अलग हुन नसकेमा पार्टीको वैचारिक धार कमजोर हुने बताए । 'अहिलेको महाधिवेशन निर्वाचनले ढपक्कै छोप्दा पार्टीको नीति र कार्यक्रमले न्याय पाउने अवस्था देखिएन,' उनले भने, 'निर्वाचन र महाधिवेशन अलग-अलग राख्नुपर्छ भनेर हामीले राख्दै आएको मागलाई पुष्टि गरेको छ ।'
नीति र कार्यक्रममा केन्दि्रत हुन नसकेका कारण महाधिवेशनले परिवर्तनलाई आत्मसात गर्ने नेतृत्व छान्नुपर्ने बाध्यता रहेको दाबी उनले गरे । 'संक्रमणकालीन अवस्थामा मुलुकलाई निकास दिने उपलब्धि प्राप्त हुनेमा चुनौती देखियो,' आचार्यले थपे, 'नीति र कार्यक्रमलाई औपचारिकता दिएर पारित गर्ने र विगतमा जस्तै त्यसको कार्यान्वयन नगरी पुस्तकका रूपमा थन्काउने काम यसपालि पनि दोहोरिने चिन्ता छ ।'
नीति र कार्यक्रमबाट पार्टीलाई दिशानिर्देश गर्ने ठोस योजना ल्याउन नसके पनि पार्टीको आन्तरिक जीवनमा इतिहासमै पहिलोपटक सांगठानिक रूपमा नवजागरण सुरु भएको भन्दै नेताहरूले यसैलाई महाधिवेशनको सफलताका रूपमा हेर्न थालेका छन् । केन्द्रीय सदस्य नारायण खड्काले महाधिवेशन क्रममा सबैको ध्यान नेतृत्व छान्नेतिर मात्र गएकाले नीति र कार्यक्रम औपचारिकतामा मात्रै सीमित हुने अवस्था रहेको बताए । 'म पनि अहिले भोट माग्न थालिरहेको छु,' भित्र बन्दसत्र भइरहँदा मत
माग्न प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको बीचबाट खड्काले भने, 'नीति र कार्यक्रममा छलफल कम भए पनि महाधिवेशनले अहिलेको गतिरोधलाई निकास दिने विषयमा भने ठोस सन्देश दिनेछ ।'
नीति तथा कार्यक्रमका चारवटा दस्तावेजको विस्तृत मस्यौदा प्रस्तुत भई त्यसमाथिको छलफल आइतबारदेखि सुरु भए पनि अधिकांश उम्मेदवार र प्रतिनिधि बन्दसत्र छाडेर प्रचारमा जुटेका थिए । युवा नेता गगन थापा वर्तमान राजनीतिक मुद्दामा कांग्रेसले ल्याएको नीति तथा कार्यक्रम प्रगतिशील भएको तर प्रजातान्त्रिक समाजवादको कार्यक्रम भने प्रस्ट हुन नसकेको बताए ।
'शान्ति प्रक्रिया र संविधान निर्माणमा कांग्रेसले प्रतिक्रियात्मक भूमिकामा नभएर अग्रसरता लिने उद्घोष गरेको छ, जुन सकारात्मक छ,' थापाले भने, 'तर समाजवादी कार्यक्रम र नीतिमा भने प्रस्टता आउन सकेको छैन ।' थापाले महाधिवेशन छलफलमा केन्दि्रत नभएकाले पार्टीले पेस गरेको नीति तथा कार्यक्रम परिमार्जित भएर आउनेमा आशंका व्यक्त गरे ।
'दस्तावेज लेख्ने नेताहरू विगतमा अधिकांश समय सरकार सञ्चालनमा रहेकाहरू पर्नुभयो, त्यसैले विगतका कमीकमजोरीको आत्मआलोचना गरेर प्रस्टताका साथ कार्यक्रम ल्याउनुपर्नेमा प्रतिरक्षात्मक गर्ने हिसाबले आएको छ,' थापाले भने, 'महाधिवेशनमा प्रशस्त छलफल गर्ने वातावरण भयो भनेमात्रै परिमार्जित गर्न सकिएला । नत्र निर्वाचनबाट नेता छान्ने काममै महाधिवेशन टुंगिनेछ ।' उनले कांग्रेसले समाजवादको व्याख्या गर्ने दृष्टिकोणमा अनुदार भूमिका निर्वाह गर्दै आएको बताए । समाजवादी सिद्धान्तको समीक्षा, आत्मआलोचना गरी त्यसमा संशोधन हुनुपर्ने धारणा उनले राखे । नीति र कार्यक्रममा ठोस दिशा दिन नसके पनि महाधिवेशनले नेतृत्वमा आत्मविश्वास बढाउने काम भने गर्ने उनले बताए ।
नीति र कार्यक्रममाथि छलफल सोमबारसम्मका लागि राखिएको छ । मंगलबार बिहान ८ बजेदेखि मतदान कार्यक्रम राखिएकाले पार्टीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गम्भीर छलफलबिनै सोमबार बेलुका पारित हुने भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा जिल्लाका सभापतिहरूलाई मात्रै बोल्ने अवसर प्रदान गरिएको छ । तर उनीहरूबाट विधान संशोधनले संगठनमा पारेको अप्ठ्यारोको विषयमा मात्रै धारणा आएकाले नीति तथा कार्यक्रम छलफलमा आउन सकेको छैन । सभापतिले बोल्ने क्रम सकिँदा समय पुगेमा इच्छुक अन्य सहभागीले बोल्न पाउने भएका छन् । आइतबार ३२ सभापतिले मात्रै धारणा राखेका छन् । ३८ सभापतिले बोल्न बाँकी छ ।
नुवाकोट सभापति जगदीशनरसिंह केसीका अनुसार बोल्ने सबैले संशोधित विधान त्रुटिपूर्ण रहेको बताउँदै संशोधनको माग राखेका थिए । सभापतिहरूले क्रियाशील सदस्यता भएको पाँच वर्ष पुगेपछि मात्रै महाधिवेशन र महासमिति सदस्यमा उठ्न पाइने व्यवस्था हटाउँदा त्याग, तपस्याभन्दा पनि शक्ति र पैसाको आडमा अघि बढ्ने परिस्थिति निर्माण भएको भन्दै पुरानै व्यवस्था कायम गर्न माग गरेका थिए । क्रियाशील सदस्यता प्रत्येक वर्षको फागुन मसान्तदेखि चैत मसान्तसम्म नवीकरण र नयाँ वितरण गरिनुपर्ने, जिल्ला, क्षेत्र र गाउँ कार्यसमितिमा पदाधिकारी मनोनीत गर्दा निर्वाचितबाट मात्रै नभई कार्यसमितिका सदस्यबाट गरिनुपर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिएका थिए । वर्तमान विधानले पदाधिकारी निर्वाचित सदस्यबाट मात्रै राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसले त्यागी र उच्च तहको नेतालाई समेट्न नसकिने उनीहरूको भनाइ थियो ।
तडकभडक प्रदर्शन
सभापतिका प्रमुख दुई प्रत्यासी सुशील कोइराला र शेरबहादुर देउवा समर्थकहरूले दुईतिर झुन्ड बनाएर आइतबारदेखि तडकभडक प्रदर्शनसहितको प्रचार थालेका छन् । तर सभापतिका दुवै प्रत्यासीले अर्को पार्टीसितको प्रतिस्पर्धामा जस्तो एक-अर्काविरुद्ध भइरहेको नाराबाजीसहितको प्रदर्शन रोक्ने प्रयास गरेनन् ।
महाधिवेशनको बन्दसत्र भइरहेको भृकृटीमण्डपबाहिरको सडकमा एकातिर कोइराला र अर्कातिर देउवा समर्थक बसेर दुईतिर नाराबाजीसहित प्रदर्शन गरेका थिए । एकातिर देउवा समर्थकले 'देउवा जिन्दावाद', 'देउवालाई जिताऔं' र अर्को झुन्डले 'कोइराला जिन्दावाद' र 'कोइरालालाई जिताऔं' जस्ता नारा लगाउनुका साथै एक- अर्काविरुद्ध हुटिङ गरेका थिए । तर केहीले भने बीचमा बसेर दुवै पक्ष मिल्नुपर्छ भनेर नारा लगाएका थिए । दुवै नेताका समर्थकहरूबीच देखिएको विभाजनप्रति आक्रोश पोख्दै केही प्रतिनिधिहरूले भने, 'दुवै नेता हाम्रा हुन्, पार्टी एकता जिन्दावाद, दुवै नेता मिल्नुपर्छ' भन्ने नारा लगाएका थिए । तनावको स्थिति भने भएन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks