परासी, आश्विन १५ - नेपाली सेनाको अहि्रदमन गण परासीले सेनामा भर्ना हुन आएका जवानको परीक्षा बिहीबार सडकमै राखेर लिएको छ । ठाउँ अभावका कारण सडकमै परीक्षा लिनु परेको गणले जनाएको छ ।
एक घन्टाको परीक्षामा एक हजार एक सय २ परीक्षार्थी सहभागी थिए । परीक्षामा ६० महिला परीक्षार्थी पनि सहभागी भएको गणले जनाएको छ । परासी बजारका विद्यालयहरूमा बिहान र दिउँसो दुवै समय पढाइ हुने भएकाले सडकमै परीक्षा लिन बाध्य भएको गणपति रामजी थापाले बताए । सडकमै परीक्षा लिए पनि सवारीसाधनलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको थियो ।
बिहान पौने ९ बजे सुरु परीक्षा पौने १० बजे सकिएको पनि सडक ८ बजेदेखि साढे १० बजेसम्म अवरुद्ध थियो । पूर्वबाट मुखमा घाम पर्ने भएकाले सबै परीक्षार्थीलाई पश्चिमतर्फ फर्काएर बसालिएको गणपति थापाले जनाए ।
'बजारमा चौर पनि छैन रंगशाला पनि छैन,' उनले भने, 'विद्यालयमा परीक्षा लिँदा धेरै जनशक्ति पनि चाहिने र पढाइ बिथोलिन्थ्यो ।' बिहान सडकमा चाप पनि कम हुने भएकाले सवारीसाधन डाइभर्सन गरेर परीक्षा लिएको उनले बताए ।
असोज २६ भित्र छनोट सकाएर नियुक्ति दिनुपर्ने भएको र परीक्षा लम्ब्याउँदा परीक्षार्थीको खर्च भार पनि बढ्दै जाने भएकाले एकैपल्ट सक्न सडकमै बसालेर सबैको परीक्षा लिएको उनले बताए ।
भूमही भैरहवा सडक खण्डअन्तर्गत परासी खण्डको झन्डै एक किलोमिटर क्षेत्रमा चार लाइन राखेर परीक्षा सञ्चालन गरिएको
थियो । दुई सय सेनाका लागि भर्ना खोलिएको अहि्रदमन गणमा ४ हजार ४ सय एक जनाले आवेदन दिएका थिए । चौथो चरणअन्तर्गत लोकसेवा आयोगले लिने लिखित परीक्षामा एक हजार एक सय २ जना सहभागी भएको गणपति थापाले बताए ।
समावेशी र खुला गरी २ सय जनाको कोटाका लागि भदौ २७ देखि अहि्रदमन गणले आवेदन लिएर भर्ना प्रक्रिया थालेको हो । समावेशीतर्फ महिलाको २० कोटामा ६० ले परीक्षा दिएका छन् । लिखित परीक्षा पास गरेपछि विस्तृत स्वास्थ्य परीक्षण, अन्तर्वार्तालगायतका छनोटका प्रक्रिया सुरु हुने उनले बताए । परीक्षामा प्यूठानका दीपक जसी आफ्नो बाबुको सात दिनको किरियासमेत नगरी सहभागी भएका थिए । उनी सेतो कपडामा सहभागी भए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks