काठमाडौ, भाद्र २६ - सुनको तस्करीका कारण राजधानीमा समेत भारतीय रुपैयाँ (भारु) अभाव हुन थालेको छ । अवैध तरिकाले सुन ल्याउन नगदै भारु आवश्यक भएकाले कालाबजारियाले विनियमदरभन्दा बढीमा भारु किन्न थालेपछि अभाव बढेको हो ।
सरकारले सुन आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि अवैध रूपमा भारतबाट सुन आइरहेको छ । अहिले दैनिक २० देखि २५ किलोको हाराहारीमा सुन भारतीय बजारबाट आउँछ । एक किलोका लागि नेपाली व्यवसायीले ३० लाख ७० हजार रुपैयाँ (१८ लाख ७५ हजार भारु) बुझाउने गरेका छन् । यसका लागि दैनिक ८ करोड रुपैयाँ -४ करोड ६८ लाख भारु) भन्दा बढी भारु बाहिरने गरेको छ । यसअघि भारतीय सीमा क्षेत्रमा मात्र देखिएको भारु अभाव राजधानीमा पनि देखिएको हो ।
'भारतबाट सुन ल्याउन नगदै भारु बुझाउनुपर्छ,' एक व्यवसायीले भने, 'भारतीय रुपैयाँबिना सुन दिँदैनन् ।' व्यापारीबाट भारु लिनुपर्ने र माग बढी भएकाले सुन व्यापारीले भारु बढी मूल्यमा किन्ने गरेका छन् । 'एक सय भारुका लागि १ सय ६५ रुपैयाँ तिर्नुपर्छ,' उनले भने ।
राष्ट्र बैंक स्रोतले भारतीय सीमवर्ती क्षेत्रमा भारु अभाव भएको जानकारी भए पनि राजधानीमा अभाव भएको जानकारी नआएको बताए । 'तर भारतबाट धेरै सुन आउन थालेपछि स्वाभाविक रूपमा अभाव हुन्छ,' उनले भने, 'अभाव हुने बित्तिकै सुन बैंकिङ प्रणालीमा आउँदैन ।'
बैंकहरूमा भने भारु अभाव नभएको उनले बताए । सुन आयात रोकेको अवस्थामा सुन किन्न डलर नजाने भएकाले भारु जाँदा खासै फरक नपर्ने बताउँछन् ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य भारु किन्न बढी मूल्य तिर्नुपर्ने भएकाले पनि अहिले बजारमा सुनको मूल्य बढी निर्धारण गर्नुपरेको बताउँछन् । '५ रुपैयाँ बढी तिर्नुपर्ने अवस्था छ,' उनले भने । यसअघि संसद नचलेका बेला ल्याइएको विधेयकको म्याद भदौ १८ गते सकिएको थियो ।
तोलाको झन्डै साढे ३७ हजार
काठमाडौं - सुनचाँदी आयातसम्बन्धी विधेयक पारित हुन नसकेपछि आयात रोकिँदा स्थानीय बजारमा सुनको मूल्य भारतीय बजारमा भन्दा तोलामा २ हजार रुपैयाँभन्दा बढी निर्धारण भएको छ । शुक्रबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य ३५ हजार ४ सय रुपैयाँ रहेको छ । तर नेपालमा भने प्रतितोला सुन ३७ हजार ४ सय रुपैयाँसम्ममा किनबेच भएको छ । भारतीय बजारबाट तस्करी भई सुन आउँदा दलाल र व्यवसायीले नाजायज फाइदा लिएका कारण मूल्य अन्तर उच्च भएको हो । भारत र नेपालबीच सुन आयात भन्सार खासै भिन्न छैन । नेपालमा ६ महिनाअघिसम्म प्रतिदस ग्राम सुनको भन्सार १ सय ३० रुपैयाँ थियो । गत वर्ष अध्यादेश ल्याई दस ग्राममा ४ सय ७० रुपैयाँ पुर्याइयो । भारतमा सुन भन्सार बढी हुँदा नेपालबाट उच्च परिणाममा भारत गएपछि अध्यादेशमार्फत भन्सार बढाइएको थियो । अहिले भारतमा दस ग्राम सुनको भन्सार ३ सय भारु
(४ सय ८० रुपैयाँ) छ ।
संघका अध्यक्ष शाक्य भारतले धेरै सुन उठाउने भएकाले भारतीय बजारमा केही सस्तो पर्ने बताउँछन् । 'भारतले एकैपटक धेरै सुन ल्याएर बेच्छ,' शाक्यले भने, 'त्यो भएकाले मूल्य सस्तो पर्छ ।' यस्तै भारतबाट यहाँ ल्याउने दलालले लिने कमिसन र व्यापारीले लिने उच्च फाइदाले मूल्यमा धेरै फरक भएको हो । भारु किन्न बढी मूल्य तिर्नुपरेकाले पनि भाउ बढी हुन सघाएको उनले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks