काठमाडौ, भाद्र २९ - पैसाको प्रतीक्षामा चेक बोकेर बैंकको काउन्टरमा लामो लाइन लाग्ने दिन अब गएका छन् । पैसा भिक्न अटोमेटेड टेलर मेसिन (एटिएम) प्रयोग गर्नेको संख्या बढेपछि अहिले धेरै उपभोक्ता 'क्यास' काउन्टरमा देखिन छाडेका छन् । सहरियामाझ पैसा झिक्न एटिएम प्रयोग गर्ने झन् बढेका छन् ।
चलाउन सजिलो, छिटो र जुनसुकै समय खुला रहने भएकाले पछिल्लो समय धेरैको ध्यान एटिएमले तानेको हो । प्रयोगकर्ताको उल्लेख्य वृद्धिले प्रत्येक वर्ष वाणिज्य बैंकहरूले एटिएम मेसिन थपिरहेका छन् । वाणिज्य मात्र नभई विकास बैंक, फाइनान्स कम्पनी र सहकारीसमेत एटिएम राख्न उत्साहित भएका छन् ।
अहिले मुलुकका सबै मुख्य सहरमा एटिएम विस्तार भएको छ । प्रायः सबै वाणिज्य बैंकले एटिएमको सेवा दिइरहेका छन् । सबैभन्दा बढी एटिएम भएको नेपाल इन्भेस्टमेन्ट बैंक हो । यसका ६७ एटिएम काउन्टर
छन् । पछिल्लो तथ्यांकअनुसार अहिले मुलुकभर ६ सय ८२ वटा एटिएम सञ्चालनमा छन् । यसबाट दैनिक २ अर्ब रुपैयाँ बराबरको कारोबार हुने बैंकरहरू बताउँछन् । बैंकहरूले एउटा एटिएममा बढीमा ३० लाख रुपैयाँ राख्ने गर्छन् । वाणिज्य बैंक सञ्चालनका लागि एटिएमको महत्त्व कमर्स एन्ड ट्रस्ट बैंकले सेवा सुरु गर्नु अगावै एटिएम सेवा सञ्चालन गर्न स्मार्ट च्वाइस टेक्नोलोजी (एसटिम) सँग सम्झौता गरेको पुष्टि गरेको छ । 'कमर्स एन्ड ट्रस्ट बैंकले एसटिएमसँग सम्झौता गरेर तीन वटा एटिएम स्थापना गर्नेछ,' एसटिएमको प्रमुख प्रविधिक अधिकृत समीर बज्राचार्यले भने ।
अहिलेसम्म एटिएम नभएको कृषि विकास बैंकले ४३ औं वाषिर्कोत्सवको अवसरमा न्युरोड र केन्द्रीय कार्यालयमा गरी दुई वटा एटिएम सञ्चालनमा ल्याउने योजना बनाएको छ । नेपालमा पहिलोपटक एटिएम सञ्चालन गर्ने हिमालन बैंक हो । यसले १९९५ मा एटिएम सञ्चालन गरेको थियो । अहिले प्रायः बैंकले खाता खोल्दा सामान्यतया उपभोक्तालाई डेबिड कार्ड अथवा एटिएम कार्ड दिने गरेका छन् । केही बैंकले क्रेडिट कार्ड सेवा पनि प्रदान गरिरहेका छन् । यस्तै भिसा र मास्टर कार्डजस्ता अन्तर्राष्ट्रिय कार्ड प्रदान गर्ने बैंकसमेत छन् ।
अहिले नेपालको एटिएम बजारमा एसटिसीको प्रभुत्व छ । यसले २४ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक र १५ वटा फाइनान्स कम्पनीलाई आफ्नो सञ्जालअन्तर्गत सेवा प्रदान गरिरहेको छ । उपभोक्ता र एटिएम काउन्टरको संख्यामा उच्च वृद्धि भए पनि अहिलेसम्म एटिएम कार्ड पैसा झिक्न मात्र प्रयोग गरिन्छ । एटिएम कार्डले सामान किन्दा नोटको प्रयोगलाई भने विस्तापित गर्न सकेको छैन । बैंकर्स एसोसिएसनका अध्यक्ष ससिन जोशी धेरैले एटिएम कार्ड पैसा झिक्नका लागि मात्र प्रयोग गरेको बताउँछन् । उनका अनुसार सामान किन्दा कार्डको प्रयोग गर्ने उपभोक्ता थोरै छन् । 'मानिसले कुनै समान किनेपछि पैसा तिर्न खुद्रा पसलमा एटिएम कार्ड प्रयोग गर्न सक्छन्,' बैंक अफ काठमान्डूका कार्ड विभागका प्रमुख प्रणव दवाडी भन्छन्, 'अहिले मोबाइल रिचार्ज गर्ने सुविधासमेत एटिएम कार्डमा छ ।' नेपाल राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्ले बैंकलाई बजार विस्तार र प्रतिस्पर्धामा उत्रन एटिएमले सघाएको बताउँछन् । 'बैकहरूबीच बढेको प्रतिस्पर्धाका बीच उनीहरूलाई सेवा विस्तार गर्न एटिएम काउन्टर सबैभन्दा राम्रो साधन भएको छ,' काफ्लेले भने ।
पछिल्लो समय विकास बैंक र फाइनान्स कम्पनीमा समेत एटिएम कार्ड राख्ने प्रतिस्पर्धा उच्चदरमा बढेको छ । अहिले २१ वटा विकास बैंकले १ सय २० वटा एटिएम सञ्चालन गरिरहेका छन् । एस विकास बैंकले आठ वटा एटिएम सञ्चालन गरिरहेको छ । त्यस्तै उसले भिसा डेबिट कार्ड पनि प्रदान गरिरहेको छ । विकास बैंकमा १४ वटा एटिएम काउन्टर सञ्चालन गरेर सिद्धार्थ सबैभन्दा अगाडि छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks