Loving nepal news

Wednesday, September 29, 2010

फोहोरबाट ग्यास

मकर श्रेष्ठ

भक्तपुर, आश्विन १४ - तपाईंको घरबाट निस्कने कुहिने फोहोर फ्याँक्दै हुनुहुन्छ भने सोच्नुस्, फोहोरबाट मोहर पनि बन्न सक्छ । राजधानीमा फोहोरको समस्याले सताइरहेका बेला मध्यपुर ठिमी नगरपालिकाले नगरभरिको फोहोर संकलन गरी ग्यास उत्पादन सुरु गरेको छ ।

कृषिजन्य जैविक फोहोरमैलालाई श्रोतमा परिणत गर्ने परियोजना नाम दिएको प्लान्ट १७ वडाको सानोठिमीस्थित नेपाली सेनाको ब्यारेक आसपासमा जडान गरिएको छ । दुई सय किलो कुहिने फोहोर राखेपछि दैनिक सात किलो मिथेन ग्यास उत्पादन हुन्छ । मासिक १२ सिलिन्डर अर्थात् चार सय ९० क्युबिक मिटर बायोग्यास र वाषिर्क ६ दशमलव ५ टन जैविक मल उत्पादन हुने शिर नेपालका निर्देशक एवं वातावरणविद् दीपक सिंहले जानकारी दिए ।

घरभित्रबाट निस्कने कुहिने फोहोर र कृषिजन्य झारपातबाट ग्यास उत्पादन हुने उनले बताए । प्लान्टबाट निस्केको ग्याससँगै रहेको अर्को नियोफिन रबर सिलिन्डरमा संकलन गर्ने र कम्प्रेसरको माध्यमले चापयुक्त बनाउने उनले बताए । चापयुक्त भएपछि आगो बाल्नका लागि बर्नरमा पाउने व्यवस्था गरेको छ ।

नगरपालिका र वातावरण तथा आर्थिक विकास समाज नेपालको संयुक्त आयोजना युएनईपी, डीटीआईई, अन्तर्राष्ट्रिय वातावरण प्रविधि केन्द्रको सहयोगमा प्लान्ट जडान गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । मुलुककै नमूनाका रूपमा स्थापना भएको कम्प्याक्ट पोर्टेबल बायोग्यास प्लान्टबाट निस्कने ग्यास खाना पकाउन र ताप प्राप्त गर्न प्रयोग गर्न सकिने उनले बताए । घरमा प्रयोग गरिएको सिलिन्डरमा राख्न नमिल्ने यो ग्यास प्लान्ट आसपासका बासिन्दाले पाइप लगाएर सहजै प्रयोग गर्न

सक्नेछन् । प्लान्टबाट बाहिर ग्यास पठाउने प्वालमा पाइप जोडेर घरको चुलोसम्म यहाँको ग्यास प्रयोग गर्न सकिन्छ । प्लान्टबाट निस्कने जैविक मल माटोको उर्वरा शक्ति बढाउने कार्यमा प्रयोग गर्न सकिन्छ । प्लान्ट सञ्चालनमा दैनिक दुई सय लिटर पानी र आठ युनिट विद्युत् आवश्यक पर्ने प्राविधिकले जानकारी दिए ।

१५ लाख लागतमा जडान गरिएको प्लान्टमा तत्कालका लागि नगदेशको तरकारी बजारको फोहोरलाई प्रयोगमा ल्याउने कार्यकारी अधिकृत पाठकले बताए ।

'अहिले नमूनाका रूपमा सञ्चालन गरेका छांै, जडान गर्न पनि कम खर्च लाग्नेरहेछ,' उनले भने, 'यो परियोजना सफल

भए आफ्नो क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गर्ने योजना बनाएका छांै ।'

प्लान्टबाट निस्कने ग्यास बालेर उद्घाटन गर्दै फोहोरमैला व्यवस्थापन स्रोत परिचालन केन्द्रकी महाप्रबन्धक सुमित्रा अमात्यले फोहोरबाट ग्यास निकाल्ने कार्य मुलुककै पहिलो भएको बताइन् । ठिमी नगरपालिकाले गरेको कार्यलाई मुलुकभरिको नगरपालिकाले सिक्नुपर्ने बताइन् ।

यो प्लान्ट कम्प्याक्ट भएको र थोरैमात्र ठाउँ आवश्यक पर्ने भएकाले फोहोर उत्सर्जन हुने स्थान नजिकै स्थापना गर्न सकिन्छ । न्यूनमात्र पानीको प्रयोग, विद्युत्को खपत कम, एक जना दर्धदक्ष कामदारले सञ्चालन गर्न सकिने यसको फाइदा रहेको उनले बताए ।

ग्यास उत्पादन गर्ने प्लान्ट नेदरल्यान्डका डा. लेटिंगाहले विकास गरेको अपवार्ड एनारोबिक स्लज ब्लाएन्केट प्रक्रियामा आधारित र भारतको पुनेस्थित मेलहेम इन्जिनियर्सले सुधार गरी निर्माण गरिएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks