Loving nepal news

Wednesday, September 8, 2010

माओवादी अन्योलमा

गंगा बीसी

काठमाडौ, भाद्र २३ - सातौंपटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादी अन्योलमा परेको छ । उसको पक्षमा समर्थन बढेकाले आउँदो निर्वाचनमा सरकार बन्ने सम्भावना देखेको छ ।

माओवादीले मात्र उम्मेदवारी फिर्ता लिँदा सहमति बन्ने सम्भावना न्यून भएको र त्यसबाट कांग्रेसलाई सजिलो हुने निष्कर्ष उसको छ । आउँदो निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासदको मत प्राप्त गर्न सक्ने संकेत माओवादीले पाएको छ । फोरमको समर्थन र फोरम लोकतान्त्रिकभित्रको विवादले उसलाई उत्साही बनाएको छ । त्यसैले असोज १० गते हुने निर्वाचनलाई 'एकपटक हेर्ने' मनस्थितिमा पुगेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले 'मुलुकलाई चक्रब्युह' बाट मुक्त गर्न निर्वाचन प्रक्रियामा पुनर्विचार गर्ने बताएका थिए ।

स्थायी समिति सदस्य वर्षमान पुनले कांग्रेसले उम्मेदवारी फिर्ता नगरेसम्म प्रक्रियामा सहभागी भइरहने बताए । 'यो प्रक्रियाबाट कांग्रेस पछाडि नहटेसम्म माओवादी हट्दैन,' उनले कान्तिपुरसँग

भने, 'त्यसबेला प्रक्रिया जारी राख्नुपर्ने हुन्छ ।' माओवादीले उम्मेदवारी फिर्ता लिएर संसदीय प्रक्रिया छाड्नु उचित नहुने विचार पनि माओवादीमा छ । 'यो संसदीय प्रक्रिया छाडेर के गर्ने भन्ने स्पष्ट छैन,' एक स्थायी समिति सदस्यले भने, 'त्यसकारण यही प्रक्रियामा सहभागी हुनु बाध्यता छ ।'

सचिव सीपी गजुरेलले निर्वाचन 'गाईजात्रा जस्तो' भएको भन्दै प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए । 'यो प्रक्रिया गाईजात्राजस्तो भएको छ,' उनले कान्तिपुरसँग भने, 'यसरी कति दिन जाने ? अब पार्टीले दह्रो निर्णय गर्नुपर्ने बेला आएको छ ।'

मंगलबारको निर्वाचनपछि प्रधानमन्धी माधवकुमार नेपालसँग्ा माओवादी अध्यक्ष दाहालले 'यसै लाज भयो, उसै लाज भयो,' भनेको बताएका थिए । यसबाट दाहाल निर्वाचन प्रक्रियाबाट पछि

हट्ने मनस्थितिमा नभएको संकेत मिल्छ । 'फोरम लोकतान्त्रिकका सभासदलाई सिंहदरबारमा नरोकेको भए आजै (मंगलबार) हाम्रो सरकार बन्थ्यो,' प्रवक्ता दीनानाथ शर्माको दाबी छ, 'अर्को निर्वाचनमा फोरम लोकतान्त्रिकका सभासदले माओवादीलाई मत दिने बताएका छन् ।'

यसअघि माओवादीले उम्मेदवारी फिर्ता लिन तयार भएको बताएर सहमतिको पक्षमा देखाउन खोजेका छ । यसले एमालेलाई तटस्थ बस्न बल पुर्‍याएको छ । एमाले तटस्थ बस्नु भनेको अन्ततः माओवादीको सरकार बन्ने वातावरण बन्नु हो । ऊ तटस्थ बसेकै कारण मुलुक अनिर्णयको बन्दी भएको भन्दै मधेसी जनअधिकार फोरम माओवादीलाई समर्थन पक्षमा देखियो । फोरम लोकतान्त्रिकका पनि तटस्थ नबस्न नेतृत्वलाई दबाब पर्न थालेको छ ।

'अहिले उम्मेदवारी फिर्ता लिने सोचेका छैनौं,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग भने, 'अर्को निर्णय नहुँदासम्म यही प्रधानमन्त्री प्रक्रिया जारी रहन्छ ।' यो प्रक्रियाबारे छलफल गर्न बिहीबार माओवादीले स्थगित केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकको सरकार निर्माण प्रक्रियासम्बन्धी प्रस्ताव छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks