जाजरकोट, आश्विन १२ - दसैंको मुखैमा यहाँ खाद्यान्न अभाव भएको छ । सदरमुकाम र ग्रामीण भेगमा भोकमरी देखिन थालेको छ । लामो खडेरीका कारण हिउँदे बाली सप्रन नसकेको र वर्षे बाली कम उत्पादन हुँदा खाद्य संकट परेको हो ।
वर्षातसँगै असारदेखि अवरुद्ध यातायात अझै सुचारु हुन नसक्दा ढुवानीमा समेत समस्या परेको छ । नायकवाडा, सक्ला, रामीडाँडा, रोकायगाउँ, रग्दा, भगवती, खगेनकोट, ढिमे, पैकलगायत गाविसमा खाद्यान्न अभाव भएको स्थानीयले बताए । यहाँ उत्पादित अन्नले चार/पाँच महिनामात्र खाना पुग्ने र अरु समय खाद्य संस्थानको चामलमा भर पर्नुपर्ने बाध्यता छ । संस्थानमा चामल सकिएपछि जिल्लावासी मर्कामा परेका छन् ।
चामल लिन आएका स्थानीय बासिन्दा संस्थानमा नपाएपछि रित्तै र्फकन बाध्य छन् । दुई दिन पैदल हिँडेर चामल लिन सदरमुकाम आएका डाँडागाउँ ६ दानीलाल पुन भन्छन्, 'गाउँमा मकैमा रोग लागेर सबै सखाप पार्यो, भोकमरी परेको छ, खाद्य गोदाममा पनि चामल नपाउँदा रित्तै र्फकनुपर्यो ।'
उनले थपे, यसपालिको दसैंमा भात खान नपाइने भयो ।' सदरमुकामस्थित संस्थानमा हाल २ सय क्विन्टल चामलमात्र मौज्दात छ । कम भएकाले हाललाई वितरण समेत बन्द गरिएको शाखा प्रमुख धु्रवराज ज्ञवालीले बताए । उनले भने, 'नियमित चामल वितरण गरियो भने दुई दिनमै सकिन्छ ।'
संस्थानले आइतबारप्रति परिवार १० किलोका दरले बाढेको थियो । चामल लिनेको गोदामअगाडि तँछाडमछाड थियो । दुई सातामा १० किलो वितरण गर्दै आएको संस्थानले दसैंअघि एक पटकभन्दा बढी बाढ्न नसकिने जनाएको छ ।
संस्थानले सहुलियतमा चामल दिन छाडेपछि स्थानीय बजारको महँगो चामल किन्न उपभोक्ता बाध्य छन् । चालू आवको निर्धारित चार हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डर स्वीकृत भइसक्दा पनि ठेकेदारले यातायात असुविधाका कारण देखाउँदै ढुवानी नगर्दा समस्या परेको ज्ञवालीले बताए । 'गत आवको मौज्दात ११ सय क्विन्टल चामलले जेनतेन धान्यौं तर अब दसंैतिहारका लागि दिन नसकिने अवस्था छ,' उनले भने । ढुवानीको ठेक्का लिएका खैरावागङकी भगवती निर्माण सेवाका प्रोप्राइटर निमबहादुर डाँगीले दसैंपछि मात्र ल्याउन सकिने बताए ।
प्रतिक्विन्टल ३ सय ९४ रुपैयाँका दरले नेपालगन्जदेखि सदरमुकामसम्मको भाडा स्वीकृत भएको छ । जुन भाडा सरदरभन्दा निकै कम हो । छिन्चु-जाजरकोट मोटरबाटोको सल्लीबजार खण्डमात्र हाल सञ्चालनमा छ । सल्लीबजारदेखि सदरमुकामसम्म घोडा खच्चडमा ढुवानी गर्दा करिब दुई दिन लाग्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks