जितेन्द्र साह
काठमाडौ, आश्विन १२ - उनी हरेक दिन बिहान सुन्धाराको मुक्तिनाथ गेष्टहाउसबाट श्रीमती र दुई छोराको सहारा लिएर निस्कन्छन् ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालय र हरेक तहका नेताको घरमा पुगेर छोरा-बुहारीका लागि जागिर र बाँचुन्जेल जीवनको प्रबन्धनका लागि केही गरिदिन आग्रह गर्छन् । कांग्रेस निर्वाचनमा मत खसाल्न दुई साताअघि आएका रुकुम खोलागाउँ गाविस-४ का ५८ वर्षीय गोपालप्रसाद शर्माको दैनिकी हारगुहारमा बितिरहेको छ ।
उनी बाटामा चिनेजानेको देखेमा आफ्नो पीडा ठाउँमा पुर्याएर सहयोग गरिदिन आग्रह गर्छन् । 'कांग्रेस पार्टीमै लागेको हुनाले माओवादीले आँखामा तेजाब हालेर नेत्रहीन बनाए,' शर्माले सोमबार बिहान कान्तिपुरसँग भने, 'त्यही पार्टी (कांग्रेस) ले आँखा चिम्लेर बसिदिंदा सुकुम्बासी भएका छौं ।'
सदरमुकाम खलंगादेखि २५ किमि पश्चिमस्थित घरमा २०५५ साल साउनमा माओवादीले घन्टौंसम्म लठ्ठीले कुटेर बेहोस बनाएपछि दुवै आँखामा तेजाब हालेका थिए । पूर्वगाविस अध्यक्ष शर्माले कार्यकर्ता विस्तार र पार्टी प्रचारप्रसारका लागि सदरमुकाम खलंगा पुगेका गिरिजाप्रसाद कोइरालालाई भेटेको र असोज ६ मा वीपी स्मृति दिवस मनाएर कांग्रेसको प्रचार गरेको आरोपमा यति ठूलो सजायको भागिदार भएका थिए ।
'घरमा आएका पाहुना, छोराहरू र बाहिर हारगुहार गर्न आएकी श्रीमती विष्णुलाई समेत थुनेर बाहिर बम र गोलीको वषर्ा गर्दै मलाई मरणासन्न हुनेगरी कुटेपछि आँखामा तेजाब हाले' बाह्र वर्षअघिको त्यो कालरात्री सम्झँदै उनले भने, 'यति गरेपछि मलाई मारेर जाऊ भन्दा उनीहरू ठूलो सजाय दिएको होइन, सामान्य चेतावनी मात्र दिएको भन्दै गए ।'
माओवादीको यो कारबाहीले उनी र परिवारको जीवनलाई अन्धकारमा धकेल्यो । घटनापछि घरदेखि पश्चिम डेढ घन्टा पैदल दूरीमा रहेको चौरजहारी पुर्याएर हेलिकप्टरमा काठमाडौंको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गर्दासम्म उनले जीवनमा धेरैथोक गुमाइसकेका थिए । 'चार महिनासम्म उपचार भयो, आँखामा नसा नपलाएसम्म ज्योति नर्फकने चिकित्सकहरूले बताए,' उनले भने- 'नसा पलाउन वर्षौं लाग्दोरहेछ, अझै आशाको किरण देखिएको छैन ।'
उक्त घटनाको एक वर्षपछि माओवादीले शर्माको १७ सय वर्गमिटर खेतबारी कब्जामा लिएपछि विस्थापित भएर उनी सपरिवार बाँके कोहलपुर-४, चपरगौरीको सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका छन् । उनको रुकुमस्थित घरमा २०५९/६० सालसम्म माओवादीले बास गरे । अझै पनि घर र्फकने हिम्मत गर्न नसकेको उनीहरूले बताए । 'बूढाबूढी बेलाबेलामा जान्छौं र टाढैबाट घर हेरेर र्फकन्छौं,' श्रीमती विष्णुले भनिन् ।
उपचारको क्रममा महिनैपिच्छै राजधानी धाइराख्ने शर्माले यसपटक पार्टीसमक्ष छोरा-बुहारीका लागि जागिर र आफ्ना लागि आजीवन दीर्घ राहतको माग गरेका छन् । उनले यस क्रममा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ कांग्रेसीहरू रामचन्द्र पौडेल, सशांक कोइराला र सुजाता कोइरालालाई भेटिसकेका छन् । 'सधैझैं नेताहरूबाट गफैगफको सहयोग मात्र पाएको छु,' उनले भने । उनलाई कांग्रेस नेतृ उर्मिला केसीले ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
मंगलबार घर जानलाई बसको टिकट र अन्य खर्चको जोहोमा व्यस्त रहेका शर्मा श्रीमती विष्णु र दुई छोरासँगै उक्त होटेलको रिसेप्सनमा भेटिएका थिए । उनका कान्छा छोरा बालकुमार स्नातक र उनकी श्रीमती सिर्जना स्नाकोत्तरमा अध्ययनरत छिन् ।
माहिला शिवकुमार नौ कक्षासम्म पढेर प्रहरीमा जागिर खाएर छाडेका छन् । २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका शिवकुमारले माओवादी धम्कीले छ वर्षपछि जागिर छाड्न बाध्य भए । नेपालगन्ज दरबन्दी रहेका उनको यात्रा सुनसरी, रोल्पा र दाङबाट अघि बढ्न सकेन ।
उनी पिताको सहयोगले सरकारी कोटामा व्यवस्था भएको फ्रि भिसा पाएमा कुवेतमा सुरक्षाकर्मीको जागिर खान दौडधुप गरिरहेका छन् । जेठो छोरा गणेश व्यापारी र साहिंला बुद्धिप्रसाद भने सरकारी कर्मचारी छन् । एसएलसीसम्म पढेकी साहिंला छोरा बुद्धिकी श्रीमती स्वस्तिकालाई पनि उनी जागिर लगाउन चाहन्छन् । सरकारको शान्ति मन्त्रालयबाट समेत उनले राहत पाएका छैनन् । 'दुई आँखा गुमाएकाले पाउनुपर्ने दुई लाख पनि पाएको छैन,' शर्माले भने । अपांगका लागि गाविसले दिने मासिक हजार रुपैयाँ भत्ता भने उनले लिन नचाहेको बताए । 'अरूलाई दिने अपांग परिचयपत्र र मलाई दिने परिचयपत्रमा भेद देखिएन,' उनले भने, 'सबै विवरण खुल्ने परिचयपत्र नदिएको हुनाले मैले यो सहयोग लिन अस्वीकार गरेको हुँ ।'
उनी कहीं पनि हुने पार्टीको कार्यक्रम छुटाउँदैनन् । शर्माले श्रीमती विष्णुलाई आँखा र सहारा बनाएर जहाँ पनि पुगिरहेका हुन्छन् । संविधान सभाको निर्वाचनमा रुकुमको ४३ गाविसकै कुनाकन्धरामा उनी पुग्न भ्याए ।
'हिंड्नलाई मात्र सहयोग गर्नुपर्छ, अरू सबै काम ध्यान र अभ्यासको भरमा आफै गर्नुहुन्छ,' श्रीमती विष्णुले भनिन्, 'नातीलाई मोबाइलको नम्बर थिच्न लाउँदा घरीघरी मोबाइल बिगार्ने हुनाले उहाँले एक रातिको ध्यान र अभ्यासपछि मोबाइलबाट सजिलै फोन गर्न र उठाउन सिक्नुभयो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks