Loving nepal news

Wednesday, September 29, 2010

फस्टायो 'मास टुरिजम'

दीपेन्द्र बडुवाल

भरतपुर, आश्विन १४ - पर्यटन व्यवसायी दिनेश चुकेले सौराहाचोकमा 'होटल गंगोत्री हाइवे' निर्माण गरिरहेका छन् । सौराहाभन्दा ७ किलोमिटर वरै ठूलो संरचना निर्माणको उद्देश्य पर्यटकीय सेवा मात्रै होइन । '५ सय जना अट्ने हल बनाउँदै छु,' उनले भने, 'जिल्लामा यत्रो हल छैन ।' होटलमा ३४ कोठा छन् ।

उनले ठूला सभा र कार्यक्रम लक्षित गरेर लगानी गरेको बताए । सौराहामा निर्माण भइरहेका दर्जन होटलले पनि गोष्ठी र सेमिनारका लागि हल बनाएका छन् । सुविधाजनक फर्निचर बनाएका छन् । पर्यटकीय होटलले केही वर्षयता जिल्लामा फस्टाएको 'मास टुरिजम' बाट मनग्गे कमाएका छन् । त्यसैले यहाँका एकै होटलले ५ वटासम्म हल बनाएका छन् । ३/४ वर्षर्अघिसम्म चित्तबुझ्दो हल नहुँदा कार्यक्रम गर्न कठिनाइ हुने गरेको थियो ।

प्रमुख गन्तव्य सौराहा अहिले 'मास टुरिजम' केन्दि्रत छ । तीन वर्षअघि प्रकृति संरक्षण कोषको मात्रै राम्रो हल थियो । '४० जना अट्ने बनाएको छु,' सौराहास्थित नेचर हेरिटेज लजका सञ्चालक दामोदर रेग्मीले भने, 'कार्यक्रम आयोजनाले राम्रो कमाइ हुन्छ ।' उनले पुरानाले संरचना भत्काएर हल बनाएको बताए । यतिबेला त्यहाँका अधिकांश होटलमा कार्यक्रम चलिरहेका छन् ।

क्ष्ाेत्रीय होटल संघका अध्यक्ष शंकर सैंजूले राजधानीस्थित साथी मानबहादुर थापाको सल्लाहले सौराहामा 'मास टुरिजम' थालेको बताए । डाइनिङबाट सुरु गरेका उनका अहिले ५ हल छन् । कार्यक्रमका सहभागीले गन्तव्यबारे प्रचारप्रसारमा टेवा पुर्‍याएको व्यवसायी बताउँछन् । 'महिनामा कम्तीमा एउटा मिटिङ हन्छ,' सैंजूले भने, 'प्रसारप्रसार बढी हुन्छ ।' यस्ता कार्यक्रमले आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि गरेको छ । सहभागी परिवारसहित डुल्न पनि आउँछन् । तिनले आफन्त र छरछिमेकलाई गन्तव्यबारे जानकारी दिन्छन् ।

भरतपुर क्षेत्रका एक दर्जन पर्यटकीय होटलको मुख्य आम्दानी गोष्ठी, सेमिनार, संघसंस्थाका बैठक हुन् । स्तरीय ग्लोबल, सेन्ट्रलपाम, रोयल सेन्चुरी, गंगोत्रीलगायत होटल यस्ता कार्यक्रमले चलेका छन् । साना रेस्टुरेन्ट र फास्टफुडले समेत हल बनाएका छन् । ग्लोबल सञ्चालक तथा चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले यस्ता कार्यक्रमले यसपालि असार, साउन, भदौ र असोजमा राम्रो कमाइ भएको बताए । अघिल्ला वर्षमा यी महिना होटल सुनसान हुन्थे ।

उनका अनुसार जिल्लामा पोल्ट्रीसम्बन्धी उद्योग विस्तार, बैंक, इन्स्योरेन्स, अस्पतालका वाषिर्क साधारणसभा, एनजीओ र आइएनजीओका बैठक हुने गरेका छन् । 'होटलमा कार्यक्रम गर्ने परम्परा भो,' उनले भने, 'एउटै जनशक्तिले धरैलाई ख्वाउँदा नाफा हुन्छ ।' धेरै कार्यक्रम आवासीय हुने गरेका छन् । कार्यक्रममा सरदर २० देखि १ सय जना सहभागी हुन्छन् । पछिल्लोपटक शिक्ष्ाक, प्राध्यापक, मजदुर युनियन र दलले महँगा कार्यक्रम गर्न थालेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks