कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन ४ - आगामी पर्यटकीय मौसममा नेपाल आउने विदेशी पाहुनाले आफूले चाहनेबित्तिकै टिकट पाउन नसक्ने गरी अगि्रम बुकिङ भएको छ । अक्टोबर-नोभेम्बरका दुई महिना नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने सबै विमान कम्पनीका अधिकांश सिट बुकिङ भइसकेका छन् ।
मुख्यमुख्य अन्तर्राष्ट्रिय विमान कम्पनीका ८५ प्रतिशत सिट बुकिङ भइसकेका छन् । अन्तर्राष्ट्रिय विमान कम्पनीका लागि जिएसए भई काम गर्ने ट्राभल एजेन्सीहरूका अनुसार थाई, कतार, गल्फ एयर र इत्तिहाद एयरवेजको बुकिङ ९५ प्रतिशतभन्दा बढी छ । भारतीय पर्यटक हवाईका साथै स्थलमार्गबाट पनि आउँछन् । नेपाल-भारत उडान गर्ने विमान कम्पनी धेरै हुँदाहुँदै यो रुटमा समेत ८० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । हालै मात्र सेवा सञ्चालन गरेकेा स्पाइस जेटले अरूको भन्दा कम मूल्यमा भाडादर तोकेर बजार ओगट्ने प्रतिस्पर्धा गर्दै छ । त्यस्तै जेट एयरवेज, जेट लाइट, किङफिसर र इन्डियन एयरलाइन्सको समेत सिट बुकिङ ८० प्रतिशत नाघेको छ ।
'हामीले काम गर्ने अधिकांश विमान कम्पनीको बुकिङ ९५ प्रतिशतभन्दा बढी छ,' प्रेसिडेन्ट ट्राभलका सञ्चालन प्रबन्धक सिद्धार्थ थापाले भने, 'यतिबेला वैदेशिक रोजगारमा गएका कामदार दसैं मनाउन र्फकने बेला र पर्यटकीय मौसम पनि भएकाले दोहोरो चाप भएको हो ।'
केही विमान कम्पनीका भने अक्टोबर- नोभेम्बरका लागि टिकट पूरै सकिएका छन् । बैंकक, दोहा, ओमान, आबुधावीबाट आउने अन्तर्राष्ट्रिय यात्रुले यी दुई महिनामा टिकट पाउने छैनन् ।
'यी क्षेत्रका उडान गर्ने कम्पनीसँग टिकट नभएको जानकारी पाएका छौं,' ओशो वल्र्डका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने । यो मौसममा हुने बृहत् बुकिङले विमान कम्पनीहरूलाई उत्साहित गर्ने गरेको छ । यी दुई महिनासँगै अपि्रल र मे महिनामा पनि हवाई सिटका लागि यात्रुले पूर्व तयारी नगरी हुँदैन । वर्षको यो चार महिनामा मात्र कुल पर्यटकको ३० प्रतिशतभन्दा बढी आउने गर्छन् । 'यसपालिको बुकिङ गत वर्षको तुलनामा केही बढेको छ,' ड्रयागन एयरका नेपाल व्यवस्थापक अलासडेयर बोयडले भने । उनका अनुसार जापान, ताइवान, हङकङ र अमेरिकीको बुकिङ उल्लेख्य छ ।
हवाई पहुँच बढेकाले नेपाली पर्यटन क्षेत्र फस्टाउँदै गएको व्यवसायीहरूको भनाइ छ । हाल अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या २७ नाघेको छ ।
त्यस्तै केही नयाँ कम्पनी आउने तयारीमा छन् । बढ्दो बजारलाई नेपाली ध्वजाबाहक वायु सेवा कम्पनीसँग जहाज नहुँदा यसको फाइदा नेपालले भने लिन सकेको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks