Loving nepal news

Friday, September 24, 2010

चिल्लोले मुटु जोखिममा

अतुल मिश्र

काठमाडौ, आश्विन ९ - वीरगन्जका एक दुब्ला- पातला युवकलाई हृदयाघातपछि राजधानी ल्याएर नर्भिक अस्पतालमा एन्जियोप्लास्टी गरेर दुइटा स्टन्ट लगाइएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भेट्न उक्त अस्पताल पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार ती २७ वर्षे युवकलाई पनि भेटे र खानपिनमा संयम अपनाउन आग्रह गरे । दुब्लो, त्यसमाथि युवकलाई हृदयाघात भएको सुनेर प्रधानमन्त्रीसमेत आश्चर्यमा परेका थिए ।

'हेर्दा ख्याउटे भए ती युवकलाई खानामा बिहान- बेलुकै मासु चाहिन्थ्यो रे,' नर्भिकका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावतले भने, 'रगतमा ट्राइग्लिसराइडको मात्रा सामान्यतः १ सय ५० हुनुपर्नेमा उनको शरीरमा १७ सय थियो ।' ती युवकले वीरगन्जमा छाती दुखेको बताउँदा त्यहाँका चिकित्सकले ग्यासका कारण त्यस्तो भएको बताएका रहेछन् । डा. रावतका अनुसार शरीर दुब्लो हुँदैमा कोलेस्ट्रोल (चिल्लो) को समस्या नहुने भ्रम हटाउनुपर्छ ।

'मुटुसम्बन्धी समस्या लिएर नर्भिकमा परीक्षण गराउनेहरूमध्ये ६६ प्रतिशतमा ट्राइग्लिसराइडको मात्रा बढी पाउने गरिएको छ,' रावत भन्छन् । विशेषज्ञहरू ३० वर्ष कटेकाहरूले नियमित रूपमा कोलेस्ट्रोल परीक्षण गराउनुपर्ने सुझाउँछन् ।

अत्यधिक बोसो र चिल्लोयुक्त पदार्थको सेवन र व्यायामको अभावले युवाहरूको रगतमा बोसोको मात्रा बढ्न थाल्छ । कोलेस्ट्रोल शरीरमा भएको हरेक कोसिकाको एउटा अभिन्न अंग हो । यो मैन जस्तै हुन्छ, शरीरभित्रै बन्छ । शरीरलाई राम्ररी काम गर्नका लागि अलिअलि कोलेस्ट्रोलसमेत चाहिन्छ, जुन खानामा भएको चिल्लोबाट प्राप्त हुन्छ । यही कोलेस्ट्रोल धमनीको भित्तामा जम्मा हुन थाल्छ । विस्तारै यसको मात्रा धेरै बढी भएर रगतको प्रवाह रोकिन्छ ।

हालको बदलिँदो जीवनशैली, खानपानको गलत बानी, तनावमा वृद्घि, व्यायामको अभावले मुटु रोगमा वृद्घि देखिएको उल्लेख गर्दै डा. रावत नियमित आधा घन्टा व्यायाम गरेर र खानपानमा संयम अपनाएर कोलेस्ट्रोलको स्तर दुरुस्त राख्नुपर्ने बताउँछन् ।

'शरीरले आवश्यकताभन्दा बढी कोलेस्ट्रोल उत्पादन गर्न लागे वा खानामार्फत् यसको आवश्यकताभन्दा बढी मात्रा लिन थाले समस्या उत्पन्न हुन्छ,' मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका सर्जिकल विभाग प्रमुख प्रा.डा. भगवान् कोइराला भन्छन्, 'अतिरिक्त कोलेस्ट्रोल रक्तवाहिनीमा जम्मा हुनाले रगत बग्ने बाटो अवरुद्घ हुन्छ र मुटुसम्म रगत पुग्न नसकेर हृदयाघात हुने गरेको छ ।' मस्तिष्कसम्म रगत लैजाने नली अवरुद्घ हुँदा मस्तिष्काघात अर्थात् पक्षाघातसमेत हुन्छ । कोलेस्ट्रोलको मात्रा जति बढी हुन्छ, मुटुको रोग र पक्षाघातको जोखिम त्यति नै बढी हुन्छ ।

विशेषज्ञहरूका अनुसार सबै कोलेस्ट्रोल भने नोक्सान गर्ने हुँदैनन् । यो राम्रो र नराम्रो गरी दुई प्रकारका हुन्छन् । लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) लाई नराम्रो कोलेस्ट्रोल र हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) लाई राम्रो कोलेस्ट्रोल भनिन्छ । डा. कोइरालाका अनुसार नराम्रो कोलेस्ट्रोलले रगतको नलीलाई अवरुद्घ गरे पनि राम्रो कोलेस्ट्रोलले रगत नलीभित्र रहेको खराब कोलेस्ट्रोललाई सफा गर्छ ।

केही व्यक्तिमा भने कोलेस्ट्रोल सामान्य स्तरभन्दा पनि कम हुनुपर्ने डा. रावत बताउँछन् । पहिलेदेखि नै मुटु रोग भएकाहरूले कोलेस्ट्रोलको स्तर घटाउनुपर्ने उल्लेख गर्दै उनी भन्छन्, 'एन्जाइना, हृदयाघात, मुटु रोगको पारिवारिक इतिहास भएकाहरूले समेत कोलेस्ट्रोलको स्तर कम राख्नुपर्छ ।' मधुमेह भएका, उच्च रक्तचापग्रस्त वा नजिकको सम्बन्धमा उच्च रक्तचाप भएकाले समेत कोलेस्ट्रोलको स्तर कम राख्नुपर्ने चिकित्सकहरूले सल्लाह दिने गरेका छन् । धूमपान गर्नेहरूका लागि भने कोलेस्ट्रोल धेरै खतरनाक हुन सक्छ ।

सामान्य व्यक्तिले बच्चाको मामिलामा समेत कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्नुपर्छ । कोलेस्ट्रोल बढी छ भने धमनीमा कोलेस्ट्रोल बाल्यकालदेखि नै जम्मा हुन सक्छ । यसैले बाल्यकालदेखि नै यसको रोकथाम हुनुपर्छ । यसका लागि परिवारमा स्वस्थकर भोजन र बानीको विकास गर्नुपर्छ ।

'दिनहुँ तपाईंको भान्सामा एक व्यक्तिका लागि तेलको उपयोग १५ मिली लिटरभन्दा बढी हुनु हुदैन,' डा. रावत भन्छन्, '६ जनाको परिवारमा १ महिनामा ३ लिटरभन्दा बढी तेल खपत हुन्छ भने जाँच गर्नुस्, यसले कोलेस्ट्रोल बढाउने जोखिम हुन्छ ।'

शाकाहारीले व्यक्तिले दूध, दही, घ्यू बढी मात्रामा सेवन गर्नुसमेत कम हानिकारक हुन्न । सबैखाले मिठाईले ट्राइग्लिसराइड बढाउँछन् । रगतमा कोलेस्ट्रोल नियन्त्रण गर्न वनस्पति घ्यूबाट टाढा रहनुपर्छ । खानामा ध्यू, तेल, मक्खन (ट्रान्स फ्याटी एसिड) को मात्रा कम गर्नुपर्छ । मांसाहारीले माछाको सेवन बढी गर्नुपर्छ । सातामा दुईपटक माछा सेवन गर्नु मुटु रोगका लागि राम्रै मानिन्छ । 'अन्डा खान सकिन्छ तर अन्डाको सेतो भाग खानु सबैभन्दा राम्रो हो,' डा.रावत भन्छन्, 'पहेंलो भागमा बोसो मात्र हुन्छ ।'

छाला नभएको कुखुराको मासु खान सकिन्छ । तर यस्तो मासु तारेको हुनुहुँदैन । मासु कम मात्रामा खानुपर्छ तर दैनिक होइन । माछा र मासुको सट्टा कुखुराको मासु खानु उपयुक्त हुन्छ ।

'धूमपान चटक्कै छोड्नुस्,' प्रा.डा. कोइराला भन्छन्, 'खैनी, पान, गुटखा आदि कुनै पनि रूपमा सुर्ती सेवन गर्नुहुँदैन ।'

खानपानमा ध्यान दिएर शरीरको तौल सही राख्नुका साथै शारीरिक रूपले पूर्ण सक्रिय रहनुपर्छ । प्रशस्त मात्रामा ताजा फलफूल, सागसब्जी खानुपर्छ । यसले रक्तनलीमा नराम्रो कोलेस्ट्रोलको खराब असरलाई समेत कम गर्ने प्रा.डा. कोइराला बताउूछन् । दिनहुँ नुन नहालेको र नतारेको ड्राइफुड सेवनलगायतका उपायले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यतिका उपायपछि समेत केही परिवर्तन नदेखिए मात्र चिकित्सकको सल्लाहअनुसार औषधि उपयोग गरेर कोलेस्ट्रोलको मात्रा घटाउनुपर्छ ।

रगतमा ट्राइग्लिसराइडको स्तर कम गर्न चिनीको मात्रा नियन्त्रित राख्नुपर्छ । आहारमा घ्यू, तेल, वनस्पति घ्यू, मख्खनको मात्रा कम गर्नुपर्छ । शारीरिक रूपले सक्रिय रहनुको साथै शरीरको तौल उचाइअनुकूल राख्नुपर्छ । मैदाबाट बनेका वस्तु कम खानुपर्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks