Loving nepal news

Thursday, September 23, 2010

न्यून उडान समयमा २५ प्रतिशत छुट

शिला पाण्डे]

काठमाडौ, आश्विन ८ - नागरिक उड्डयन प्राधिकरणको विमानस्थल दस्तुर नियमावलीमा जहाज अवतरणको नयाँ शुल्क निर्धारण गर्ने तयारी गरेको छ । पर्यटन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको उच्च चाप हुने समय (पिक आवर) वा न्यून उडान हुने समय (लिन आवर) निर्धारण गरी त्यसैका आधारमा शुल्क तोक्न सक्ने अधिकारसहितको नियमावली स्वीकृत गरिसकेको छ ।

नियमावलीअनुसार प्राधिकरणले पिक आवरमा उडान गर्ने विमान कम्पनीका लागि लिइने अवतरण शुल्कमा २५ प्रतिशतसम्म वृद्धि गर्न पाउनेछ । त्यस्तै लिन आवरका लागि २५ प्रतिशतसम्म छुट दिन सक्ने व्यवस्था छ । 'विमान कम्पनीलाई साँझ वा रातिको समयमा उडानका लागि प्रोत्साहित गर्न छुटको व्यवस्था गरिएको हो,' मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले भने ।

सरकारको स्वामित्वमा रहेको विमानस्थलको सम्पूर्ण सम्पत्ति गत मंसिरमा प्राधिकरणलाई हस्तान्तरण भएको थियो । त्यसै आधारमा प्राधिकरणले विमानस्थल दस्तुर पनि आफैं निर्धारण गर्ने भन्दै संशोधन गरेको नियमावलीमा अन्तर्राष्ट्रिय विमान कम्पनीको जहाज अवतरण शुल्कमा नयाँ व्यवस्था गरिएको हो । विमानस्थलमा बढ्दो उडान चाप र यात्रु चापको समस्या समाधानका लागि यो व्यवस्थाले निकै सघाउ पुग्ने विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले बताए । यसअघि विमानस्थल व्यवस्थापनले साँघुरिएको विमानस्थललाई व्यवस्थित गर्न दिउँसोको समयमा थप उडान अनुमति नदिने जनाएको थियो । यो निर्णयलाई यथावत् राख्न पिक समयमा कुनै कम्पनीले उडान कटौती गरे मात्र नयाँलाई अनुमति दिइने विकल्प विमानस्थल व्यवस्थापनसँग छ । 'त्यसमा पनि २५ प्रतिशतसम्म बढी अवतरण शुल्क लाग्नेछ,' उनले भने ।

नियमावलीमा राखिएको यस्तो व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले पिक र लिन आवरको समय/मौसम दुवै छुट्टयाउनुपर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सबैभन्दा बढी उडान हुने समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुने गर्छ । 'तर प्राधिकरणको सञ्चालक समितिको बैठकले आधिकारिक रूपमा पिक र लिन आवर नछुट्टयाएसम्म नियमावलीको व्यवस्था कार्यान्वयन गर्न सकिँदैन,' श्रेष्ठले भने, 'बैठकले छलफल गरेर समय तोक्नासाथ यो व्यवस्था लागू हुनेछ ।' संशोधित नियमावली एक साताअगाडि मन्त्रालयले स्वीकृति दिई प्राधिकरणलाई पठाएको छ ।

त्यस्तै चार्टर जहाजको हकमा मौजुदा शुल्कमा थप २५ प्रतिशतसम्म लिन सकिने र अन्तर्राष्ट्रिय उडानको कुनै जहाज गन्तव्य पुग्न नसकेर नेपालको कुनै विमानस्थलमा अवतरण गरेमा अवतरणको पूरै शुल्क लाग्ने व्यवस्था नियमावलीमा छ । यसरी लिइने अवतरण/विसान शुल्क जहाजमा ल्याइएका सामानको तौलका आधारमा फरक-फरक हुन्छ ।

जहाज र उडान संख्या बढ्नु राम्रो पक्ष भए पनि विमानस्थलको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यसका कारण आउने विमान कम्पनी र सञ्चालनमा रहेकालाई उडान थप्दा वा नयाँ अनुमति लिँदा साँझ तथा रातिको समय छनोट गर्न विमानस्थल व्यवस्थ्ाापनले आग्रहसमेत गरिसकेको छ । विमानस्थल चौबीसै घन्टा सञ्चालन हुन नसक्दा ट्राफिक समस्या बढी भएको हो । 'यसैले नयाँ व्यवस्था गरिएको हो,' श्रेष्ठले भने, 'चौबीसै घन्टा सञ्चालनका लागि पनि काम भइरहेको छ ।'

नयाँ नियमावलीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार अन्य दस्तुरमा पनि सामान्य फेरबदल गरिएको छ । संशोधित नियमावली अन्तर्राष्ट्रिय र सार्क क्षेत्रमा भएका नियमावलीलाई आधार बनाई तयार गरिएको अर्यालले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks