Loving nepal news

Monday, September 27, 2010

कांग्रेसमा कोइराला पक्षको बहुमत * कोइराला पक्ष ३५, देउवा पक्ष २९

बलराम बानियाँ

काठमाडौ, आश्विन १२ - कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति सुशील कोइराला पक्षले बहुमत सिट हासिल गरेको छ । कार्यसमितिमा निर्वाचनबाट चुनिने ६४ जनामा कोइराला पक्षले सभापति र महामन्त्रीसहित ३५ सिट हात पारेको छ भने शेरबहादुर देउवा पक्षले कोषाध्यक्षसहित कार्यसमितिको २९ सिटमा विजय हासिल गरेको छ ।

कार्यसमितिमा संस्थापनले ५५ र देउवा पक्षले ४५ प्रतिशत सिट हात पारेका छन् । संस्थापन पक्षबाट केन्द्रीय समितिको खुलातर्फको २५ सिटमा १४, अञ्चलको १४ सिटमा ९, समावेशी २२ पदमा १० सदस्य विजयी भएका छन् । देउवा पक्षका खुलातर्फको २५ सिटमा ११, अञ्चलको १४ सिटमा ५, समावेशी २२ पदमा १२ जना विजयी भएका छन् ।

खुलातर्फको २५ सिटबाट चर्चित पूर्वविद्यार्थी नेता गगन थापा सबभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनले २०६१ मत पाएका छन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका थापा कांग्रेसमा सबभन्दा लोकपि्रय नेताका रूपमा स्थापित भएका छन् । ३४ वषर्ीय थापा कांग्रेसका सबभन्दा कान्छा केन्द्रीय सदस्यसमेत भएका छन् । अञ्चल कोटातर्फबाट राप्तीका दीपक गिरी सबभन्दा बढी मत ल्याई केन्द्रीय सदस्य चुनिएका छन् । उनले प्रतिद्वन्द्वी राजेन्द्रबहादुर शाहभन्दा दोब्बर बढी १४०९ मत पाई राप्तीबाट केन्द्रीय सदस्य चुनिएका हुन् ।

खुलातर्फ निवर्तमान सहमहामन्त्री अर्जुननरसिंह केसी दोस्रो बढी मत ल्याई केन्द्रीय सदस्य चुनिएका छन् । उनले २०३४ मत ल्याएका छन् । दसौं र एघारौं महाधिवेशनमा सबभन्दा लोकपि्रय मतका साथ विजयी निवर्तमान उपसभापति रामचन्द्र पौडेल यसपटक तल झरेर सातौं बढी मत प्राप्त गर्नेमा परेका छन् । पार्टीमा मध्यमार्गी मानिने नेता पौडेल सभापति कोइरालाको पक्षमा खुलेर लागेको र संस्थापन पक्षको प्यानल बनाउँदा नपर्नेहरू विरोधमा लागेका कारण यसपटक उनको मत कम आएको पार्टी स्रोतले उल्लेख गरेको छ ।

कांग्रेसमा खुमबहादुर खड्का १७९१, डा. शशांक कोइराला १७६७, प्रदीप गिरी १७४१, सुजाता कोइराला १७३९, डा. रामशरण महत १६९९ मतका साथ क्रमशः तेस्रो, चौथो, पाँचौ र छैटौं र आठौं बढी मतका साथ केन्द्रीय सदस्य चुनिएका छन् । बालकृष्ण खाँड १६०६, एनपी सावद १५५६ मतका साथ बढी मत ल्याउने १० जना (टप टेन) भित्र पर्न सफल भएका छन् ।

खुलातर्फ डा. शेखर कोइराला १५३१, महेश आचार्य १५०१, डा. मिनेन्द्र रिजाल १४३५, डा. प्रकाशशरण महत १३८२, कृष्ण सिटौला १३७३, चन्द्र भण्डारी १३६८, डा. नारायण खड्का १३४०, गोपालमान श्रेष्ठ १२८६, बलबहादुर केसी १२८६, पूर्णबहादुर खड्का १२४६, शंकर भण्डारी १२१९, कुलबहादुर गुरुङ ११५५, मनमोहन भट्टराई, १०८०, ज्ञानेन्द्रबहादुर कार्की १०६८, दीपकुमार उपाध्याय १०२० मतका साथ केन्द्रीय सदस्य विजयी भएका छन् ।

खुलातर्फ विजयी केन्द्रीय सदस्यमा थापा, केसी, शशांक, सुजाता, पौडेल, रामशरण महत, शेखर, आचार्य, सिटौला, चन्द्र भण्डारी, नारायण खड्का, केसी, गुरुङ, उपाध्याय कोइराला पक्षका तथा खुमबहादुर खड्का, गिरी, खाँड, सावद, रिजाल, प्रकाशरण महत, श्रेष्ठ, पूर्णबहादुर खड्का, शंकर भण्डारी, मनमोहन भट्टराई र कार्की देउवा समूहका हुन् ।

अञ्चलतर्फको सिटमा मेचीबाट नरेन्द्र नेम्वाङ १३००, कोसीबाट आमोदप्रसाद उपाध्याय १२७५, सगरमाथाबाट रामकुमार चौधरी १०७५, जनकपुरबाट आनन्द ढुंगाना ११५९, वाग्मतीबाट नवीन्द्रराज जोशी १३७५, नारायणीबाट रमेश रिजाल १०८९, गण्डकीबाट सुरेन्द्र पाण्डे १०१७, लुम्बिनीबाट कृष्णचन्द्र नेपाली १०८०, धौलागिरिबाट अर्जुन जोशी १२८९, राप्तीबाट दीपक गिरी १४०९, कणर्ालीबाट जीवनबहादुर शाही १३०८, भेरीबाट किशोरसिंह राठौर १०४९, सेतीबाट बद्री पाण्डे १११४, महाकालीबाट दिलेन्द्र बडु १४२७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मेचीमा सुधीर शिवाकोटी ११५४, कोसीमा उमेशजंग रायमाझी ९८०, सगरमाथामा सुवास पोखरेल ७७४, जनकपुरमा देवी न्यौपाने ५७७, वाग्मतीमा ध्यानगोविन्द रञ्जित ९६२, नारायणीमा राजेन्द्रबहादुर अमात्य ९९६, गण्डकीमा रघु पौडेल ७८९, लुम्बिनीमा भरतकुमार शाह १०३९, धौलागिरिमा किरण पौडेल १०५०, राप्तीमा राजेन्द्रबहादुर शाह ७१८, कणर्ालीमा दिनबन्धु श्रेष्ठ ११९३, भेरीमा हृदयराम थानी ८९१, सेतीमा अर्जुनजंगबहादुर सिंह ८८५, महाकालीमा रमेश लेखक १३३४ मत ल्याई निकटतम प्रतिद्वन्द्वी भए । अञ्चलतर्फ विजयी उपाध्याय, चौधरी, ढुंगाना, नवीन्द्रराज जोशी, नेपाली, अर्जुन जोशी, गिरी, बद्री पाण्डे र बडु कोइराला पक्षका र नेम्वाङ, रिजाल, सुरेन्द्र पाण्डे, शाही र राठौर देउवा समूहका हुन् । अञ्चल कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुने चौधरी एक जनामात्र मधेसी हुन् ।

खुलामा पुराना अनुहार तथा अरूमा नयाँ हावी

खुलातर्फबाट धेरैजसो पुरानै अनुहार विजयी भएका छन् । नयाँ र युवा अनुहार भने जम्मा तीन जना गगन थापा, चन्द्र भण्डारी र शंकर भण्डारीमात्र निर्वाचित भएका छन् । अञ्चल र समावेशीबाट विजयी हुनेमा भने नयाँ र युवा बढी छन् । बूढाहरूको पार्टी मानिने कांग्रेसमा ५ जना गगन थापा, जीवन परियार, बद्री पाण्डे, सीता गुरुङ र सुजाता परियार ३८ वर्षमुनिका छन् भने आधाभन्दा बढी केन्द्रीय सदस्य ५० वर्षमुनिका चुनिएका छन् । कांग्रेस केन्द्रीय समितिमा पुगेका अन्य नयाँ अनुहारमा पुष्पा भुसाल, कमला पन्त, ईश्वरी न्यौपाने, सीता गुरुङ, रत्ना शेरचन, कविता सरदार, मिनाक्षी झा, पार्वती चौधरी, अजय चौरसिया, महेन्द्र यादव, सुजाता परियार, मीन विश्वकर्मा, जीवन परियार, धनराज गुरुङ, सूर्यमान गुरुङलगायत छन् ।

बाहुन-छेत्री नै हावी

कांग्रेसमा पहिलोपटक पार्टीलाई समावेशी बनाउन महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिमलाई आरक्षण दिइए पनि केन्द्रीय समितिमा ती समुदायको प्रवेश अपेक्षाकृत रूपमा बढ्न सकेन । खुला र अञ्चल सिटबाट ती समुदायका अत्यन्त कम सदस्यमात्र चुनिएकाले कांग्रेसमा संविधानअनुसार अन्यमा पर्ने बाहुन, छेत्री नै हावी हुन पुगेका हुन् । कांग्रेसको दुई महत्त्वपूर्ण पद भने आदिवासी जनजाति र मधेसी महिलाले पाएका छन् । महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव विजयी भएका छन् ।

खुलातर्फको २५ सिटमा निर्वाचित २ जनाबाहेक बाँकी सबै बाहुन र छेत्री र त्यसमा पनि अधिकांश पुरुष छन् । महिला ६ सिटमा विजयी हुनेमा पनि बाहुन र छेत्रीमात्र छन् । खुलाबाट विजयी हुनेमा गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङमात्र जनजाति हुन् । कांग्रेसको खुला सिटबाट मधेसी र थारू एक जना पनि निर्वाचित भएनन् । खुलाबाट सुजाता कोइराला एक जनामात्र महिला विजयी भएकी छन् । खुलातर्फ उम्मेदवार भएका तीन महिलामध्ये सुजातामात्र निर्वाचित भएकी हुन् । कांग्रेस कार्यसमितिमा कोषाध्यक्ष यादव र सुजातासहित १४ जना महिला निर्वाचित भएका छन् । महिलाको खुलातर्फ ६, दलित, आदिवासी जनजाति र मधेसी कोटाबाट २/२ जना महिला निर्वाचित भएका छन् । अञ्चल सिटबाट पनि एक जनजाति र एक मधेसीबाहेक बाँकी सबै बाहुन र छेत्री निर्वाचित भएका छन् । अञ्चल सिटबाट जनजाति नरेन्द्र नेम्वाङ र मधेसी रामकुमार चौधरीमात्र विजयी भएका छन् । कांग्रेसमा आदिवासी जनजाति ९, मधेसी ७, दलित ५, मुस्लिम १ जनामात्र निर्वाचित भएका छन् ।

कार्यसमितिमा ६ जना डाक्टर

कांग्रेसमा खुला सिटबाट ६ जना डाक्टर केन्द्रीय समितिमा पुगेका छन् । केन्द्रीय समितिमा निर्वाचित डाक्टरहरूमा शशांक कोइराला, रामशरण महत, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, नारायण खड्का र शेखर कोइराला छन् । शशांक र शेखर मेडिकल डाक्टर हुन् भने रामशरण, प्रकाशशरण महत, रिजाल र खड्का अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका डाक्टर हुन् । कांग्रेसमा लामो र महत्त्वपूर्ण योगदान भएको कोइराला परिवारबाट केन्द्रीय समितिमा चार जना पुगेका छन् । कोइरालाबाट केन्द्रीय समितिमा निर्वाचित हुनेमा सभापति सुशीलसहित केन्द्रीय सदस्यत्रय शशांक, शेखर र सुजाता छन् ।

नेविसंघका पूर्वनेता हावी

कांग्रेस केन्द्रीय समितिमा नेविसंघका पूर्वनेताहरू ठूलो संख्यामा विजयी भएका छन् । नेविसंघका पूर्वअध्यक्षहरू बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, एनपी सावद, धनराज गुरुङ, पूर्वमहामन्त्रीहरू प्रकाशशरण महत, चन्द्र भण्डारी, गगन थापा र पूर्वउपाध्यक्ष बद्री पाण्डे, तरुण दलका अध्यक्ष महेन्द्र यादव केन्द्रीय समितिमा पुगेका छन् । नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला, पूर्वअध्यक्षहरू गुरु घिमिरे, गोविन्द भट्टराई र वर्तमान अध्यक्ष प्रदीप पौडेल, पूर्वमहामन्त्री उमेशजंग रायमाझी, तरुण दलका निवर्तमान अध्यक्ष विनोद कायस्थ भने पराजित भएका छन् ।

सबभन्दा कम मतले पराजित हुनेमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी भएका छन् । उनी पच्चीसौं नम्बरमा विजयी दीपकुमार उपाध्यायभन्दा १६ मत कम ल्याई पराजित भएका हुन् । जोशी पार्टीको एघारौं महाधिवेशनमा समेत १८ सिटका लागि भएको निर्वाचनमा १९ औं वरीयतामा परी पराजित भएका थिए । उनी दुवैपटक झिनो मतले पराजित हुने अभागी हस्ती भएका

छन् । नेविसंघका अध्यक्ष प्रदीप पौडेलसमेत २० औं स्थानमा आई झिनो मतले पराजित भए । उनले कुनै प्यानलमा नपरे पनि ९८३ मत पाएका थिए ।

तेस्रो धारका सबै पराजित

कांग्रेसमा गुटरहित ढंगले विचारका आधारमा पार्टीलाई अघि बढाउन जन्माइएको तेस्रो धारका नेता सबै जना पराजित भएका छन् । सभापति र महामन्त्रीमा भारी मतान्तरले पराजित तेस्रो धारका सदस्यका उम्मेदवार चक्रप्रसाद बाँस्तोला र सुप्रभा घिमिरेसमेत पराजित भएका छन् । खुलातर्फको २५ सिटमा बाँस्तोला तीसौं र घिमिरे सैंतीसौं स्थानमा परी पराजित भएका हुन् । उनीहरू दुवै जना अघिल्लो महाधिवेशनमा खुला सिटबाट सानदार मत ल्याई निर्वाचित केन्द्रीय सदस्य हुन् ।

दर्जनौं हस्ती र तीन मन्त्री पराजित

कांग्रेसका दर्जनौं हस्ती पराजित भएका छन् । खुला सिटमा पराजित हस्तीमा पूर्वसभामुख तारानाथ रानाभाट, चक्रप्रसाद बाँस्तोला, सुप्रभा घिमिरे, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जिपछिरिङ लामा, रामकृष्ण ताम्राकार, अमरराज कैनी, विनयध्वज चन्द, ढुण्डिराज शास्त्री, ओमकार श्रेष्ठ, विपिन कोइराला, हरिबोल भट्टराई, शुक्रराज शर्मालगायत छन् । अञ्चल र महिला सिटबाट पराजित हस्तीमा क्रमशः लक्ष्मण घिमिरे, सुनिल भण्डारी, रमेश लेखक र उमा रेग्मी छन् । बहालवाला तीन जना मन्त्रीसमेत केन्द्रीय सदस्यमा पराजित भए । खुलातर्फबाट स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा र ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई र भेरी अञ्चल सिटबाट स्थानीय विकास राज्यमन्त्री गणेश खड्का पराजित भए ।

'सन्तुलित परिणाम’

सभापति र महामन्त्रीजस्ता दुवै महत्त्वपूर्ण पदमा पराजित भएपछि असन्तुलित परिणाम आउने डरले अतालिएको देउवा पक्ष केन्द्रीय सदस्यमा आफ्नो पक्षका उम्मेदवार ठूलो संख्यामा निर्वाचित भएपछि उत्साहित भएको छ । महाधिवेशनले कांग्रेसका परम्परागत दुवै धारका उम्मेदवारलाई केन्द्रीय समितिमा सन्तुलित ढंगले विजयी गराएर एकताको सन्देश दिएको प्रतिक्रिया दुवै पक्षका नेताले व्यक्त गरेका छन् ।

देउवा पक्षका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी सावदले महाधिवेशनको परिणामले पार्टीमा एकताको सन्देश दिएको बताए । पार्टी एकतापछि पहिलोपटक भएको महाधिवेशन परिणामलाई हेर्दा साँचो अर्थमा 'एकताको महाधिवेशन' हुन पुगेको टिप्पणी दुवै पक्षका नेताको छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षका ५५ र देउवा समूहका ४५ प्रतिशत पदाधिकारी निर्वाचित भएका छन् । कांग्रेस एकीकरण हुँदा पनि संस्थापन पक्षलाई ६० र देउवा समूहलाई ४० प्रतिशत सिट दिएर मिलाइएको थियो । महाधिवेशनबाट देउवा समूहले ५ प्रतिशत बढी सिट प्राप्त गरेको हो ।

नवनिर्वाचित केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापति सुशीलले परिणामलाई सकारात्मक रूपमा लिएर काम गरेर पार्टी एकताबद्ध भएर जाने विश्वास व्यक्त गरे । 'परिणामलाई नवनिर्वाचित सभापतिले जति सकारात्मक रूपमा लिनुहुन्छ, त्यत्ति नै पार्टी एकताबद्ध भएर जान्छ । महाधिवेशनले पार्टी एकताको सन्देश दिएको छ, त्यसलाई सभापतिज्यूले ग्रहण गर्नुपर्छ,' उनले भने ।

सबभन्दा बढी मत ल्याएर विजयी थापाले महाधिवेशनको परिणामपछि कांग्रेसमा तरुण पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै युवाका सामु पार्टीका निम्ति बुढा पुस्ताले भन्दा राम्रो काम गरेर देखाउनुपर्ने बताए । 'हामीले पटकपटक पार्टीमा युवा पुस्ताले कुनै अवसर पाएन

भन्थ्यौं । महाधिवेशनपछि अब हाम्रो काँधमा जिम्मेवारी आएको छ । हामी -युवा) ले अब काम गरेर देखाउनुपर्छ,' उनले भने । नवनिर्वाचित अर्का युवा सदस्य बद्री पाण्डेले समेत कांग्रेसलाई २०४८ सालको जस्तै सशक्त पार्टी बनाउन तरुणहरूले आफ्नो जोसलाई सदुपयोग गर्ने बेला आएको बताए । अर्का सदस्य दीपक गिरीले कार्यसमितिमा युवा र नयाँ अनुहारको प्रवेशले पार्टीमा नयाँ रक्त सञ्चार गरेको र आम कार्यकर्तामा उत्साह थपिएको बताए ।

कांग्रेसका खुलातर्फका विजयीहरू

स्थान उम्मेदवारको नाम प्राप्त मत

१३ डा. मिनेन्द्र रिजाल १४३५

१४ डा. प्रकाशशरण महत १३८२

१५ कृष्ण सिटौला १३७३

१६ चन्द्र भण्डारी १३६८

१७ डा. नारायण खड्का १३४०

१८ गोपालमान श्रेष्ठ १२८६

१९ बलबहादुर केसी १२८६

२० पूर्णबहादुर खड्का १२४६

२१ शंकर भण्डारी १२१९

२२ कुलबहादुर गुरुङ -केवी) ११५५

२३ मनमोहन भट्टराई १०८०

२४ ज्ञानेन्द्रबहादुर कार्की १०६८

२५ दीपकुमार उपाध्याय १०२०

पराजितहरू

२६ गोविन्दराज जोशी १००४

२७ प्रदीप पौडेल ९८३

२८ जिपछिरिङ लामा ९५५

२९ शोभाकर पराजुली ९१५

३० चक्रप्रसाद बाँस्तोला ९१०

३१ चिरञ्जीवी वाग्ले ८८६

३२ गुरुराज घिमिरे ८५६

३३ तारानाथ रानाभाट ८४९

३४ रामकृष्ण ताम्राकार ८४९

३५ गोविन्द भट्टराई ८२४

३६ डीबी लामा ८२१

३७ सुप्रभा घिमिरे ७८३

३८ शुक्रराज शर्मा ६९२

३९ ओमकारप्रसाद श्रेष्ठ ६८३

४० चिनकाजी श्रेष्ठ ६८२

४१ मदनकृष्ण श्रेष्ठ ६७२

४२ जीवनप्रेम श्रेष्ठ ६५९

४३ ढुण्डीराज शास्त्री ६४८

४४ विनयध्वज चन्द ६३८

४५ डा. राजाराम कार्की ६३५

४६ खिलानाथ दाहाल ६१५

४७ डा. रणबहादुर रावल ५८४

४८ रामचन्द्र तिवारी ५८२

४९ पूर्णकुमार शेर्मा लिम्बू ५७३

५० तारानाथ दाहाल ५५९

५१ मोख्तार अहमद ५१६

५२ विपिन कोइराला ५०२

५३ शंकरप्रसाद पाण्डे ५०२

५४ हरिबोल भट्टराई ४९१

५५ गणेशबहादुर थापामगर ४८८

५६ हस्तबहादुर मल्ल ४८७

५७ टेकप्रसाद गुरुङ ४५६

५८ मित्रसेन दाहाल ४२४

५९ बालकृष्ण दाहाल ४११

६० केशरमणि पोखरेल ३८२

६१ भीमबहादुर श्रेष्ठ ३७०

६२ कृष्णबहादुर लामा ३६३

६३ चन्द्र सिंह भट्टराई ३४९

६४ रामबहादुर विष्ट ३३४

६५ विनोद कायस्थ ३२५

६६ देवप्रकाश त्रिपाठी ३१३

६७ मार्शलजुलुम शाक्य २८१

६८ कुमार रेग्मी २६६

६९ हाजी मो अब्दुल मियाँ २५०

७० वसन्तकुमार गौतम २४१

७१ हरि अधिकारी २३५

७२ नारायण शर्मा पौडेल २३४

७३ केशवराज कँडेल २१९

७४ अमरराज कैनी २१७

७५ दिव्यश्वरी शाह २१५

७६ अर्जुनकुमार खड्का २१४

७७ रामचन्द्र पोखरेल १९५

७८ चित्रबहादुर कार्की १८१

७९ जितेन्द्र महतो १७१

८० दामोदर गौतम १६५

८१ सम्पतलाल चौधरी -थारू) १५५

८२ पुष्पराज पराजुली १५३

८३ विकास लामा १५१

८४ ईश्वरभक्त श्रेष्ठ १२७

८५ इन्द्रमणि अधिकारी १२०

८६ वीरेन्द्रप्रसाद साह ११७

८७ परशुराम पोखरेल ९६

८८ थलकुमार लिंखा ८९

८९ जितबहादुर पुरी ७४

९० श्यामसुन्दर सिंह ६५

९१ इन्द्रप्रसाद पोखरेल ६०

९२ अशोककुमार उपाध्याय खनाल ५९

९३ प्रेमबहादुर डाँगी ५९

९४ गोपालप्रसाद सुवेदी ५७

९५ माधवप्रसाद आचार्य ५१

९६ भरत विडारी ४६

९७ बुद्धिसागर उपाध्याय २७

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks