Loving nepal news

Wednesday, September 15, 2010

बेलायती जेलमा रहेका तीन नेपाली छुटे

नवीन पोखरेल

लन्डन, भाद्र ३० - लागू औषध कारोवारको आरोपमा बेलायतस्थित जेलमा रहेका तीन नेपाली कृष्ण शर्मा, उनकी श्रीमती पवित्रा बस्याल र परशुराम थापा मंगलबार रिहा भएका छन् ।

आइजलवर्थ क्राउन कोर्टमा मंगलबार मध्यान्ह भएको सुनुवाईमा सरकारी वकिलले 'निजहरु विरुद्ध कुनै प्रमाण नभएकाले अभियोग फिर्ता लिने' जनाएपछि न्यायधिशको आदेशमा ति छुटेका हुन् ।

बस्यालको केस हेरिरहेको 'असगर एण्ड को सोलिसिर्टस' सम्वद्ध सोलिसिटर राजु थापाले सरकारी वकिलको बहसपछि न्यायधिशले उनीहरुलाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको कान्तिपुरलाई जनाए । 'प्रहरी अधिकारीहरुले अब उनीहरुका जफत सामान समेत फिर्ता गरिदिन्छौं भनेका छन्' थापाले भने ।

करिव ५ महिना जेल बसेर अदालतबाट फर्कने क्रममा प्रतिक्रिया दिंदै बस्यालले बेलायती न्यायलयको निर्णयबाट आफूहरु ज्यादै खुशी भएको जनाइन् । 'यसअघि हामी निर्दोष हुँदाहुँदै युकेको नेपाली समुदायले अपराधीका रुपमा हेरेर कुनै सहयोग नगरेकामा भने दुःखी छु' उनको गुनासो थियो ।

उनले आफूहरुलाई सहयोग गर्ने एनआरएन युके, लन्डनस्थित नेपाली दुतावास, सोलिसिटर राजु थापा र सञ्चारकर्मी भगीरथ योगीलाई धन्यवाद समेत दिएकी छन् । शर्माले जेल छँदा आफूले ठूलो मानसिक तनाव झेलेको उल्लेख गर्दै 'एसियन' वा 'अफ्रिकी' भन्ने वित्तिकै त्यहाँका अधिकारीले समेत हेयको दृष्टिकोणले हेरेको बताए । उता, थापाले आफूहरु अपरिचितको विश्वास गर्दा फस्नुपरेको जनाउँदै परदेशको ठाउँमा नचिनेको व्यक्तिलाई विश्वास वा संगत नगर्न सुझाव दिएका छन् ।

यसै वर्षको शुरुतिर अध्ययनका लागि युके आएका शर्मा, उनकी डिपेन्डेन्ट बस्याल र थापा 'ए' वर्गमा पर्ने 'हेरोइन' पाकिस्तानबाट ओसारपसार गरेको आरोपमा गत अप्रिल ७ मा समातिएका थिए । पाकिस्तानी नागरिक मुनिर अलीले बेलायतमा कामको संकट भइरहेका बेला बरु आफैं व्यवसाय गर्न लोभ्याएपछि शर्माले आफ्नी श्रीमतीको नाममा 'विनर इम्पोर्टस् लन्डन लि.' भन्ने कम्पनी खोलेका थिए । अलीले पाकिस्तान गएर त्यही कम्पनीका नाममा सर्ट र पेटीका सामानभित्र प्रतिवन्धित 'ए' वर्गको 'हेरोइन' समेत लुकाएर पठाएपछि सो सामान बुझ्ने क्रममा शर्मा र थापा एयरपोर्टमा समातिएका थिए । पछि प्रहरीले पवित्रालाई पनि उनी काम गर्ने ठाउँमै गइ पक्रेको थियो ।

पक्राउपछि उनीहरुले जेलबाट नेपालका प्रधानमन्त्री समक्ष ज्ञापनपत्र देखि विभिन्न मानवअधिकारवादी र स्थानीय संघसंस्थासंग आफूहरु निर्दोष भएको भन्दै रिहाईको पहल गरिदिन अपिल गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks