कान्तिपुर संवाददाता
ललितपुर, भाद्र ३० - निर्माण सुरु भएको ५२ वर्षपछि कन्तिराजपथको दोहोरो ट्रयाक यासपाली पूरा हुने भएको छ । त्यसका लागि आयोजनाले काम अन्तिम चरणमा पुर्याएको छ । ८२ किलोमिटर लामो राजपथको ६० किलोमिटरमा दोहोरो ट्रयाक बनिसकेको छ । बाँकी २२ किलोमिटर यसपाली पूरा हुने आयोजनाले जनाएको हो ।
दोहोरो ट्रयाक निर्माण भएपछि काठमाडौं-हेटौंडा जोड्ने अहिलेसम्मकै छोटो सडक सञ्चालन हुने आयोजना प्रमुख रोशनलाल श्रेष्ठले बताए । टीकाभैरवदेखि थिंगन हुँदै हेटौंडा जोड्ने राजपथको सबै भाग कच्ची नै छ । तत्कालीन राजा महेन्द्रले २०१५ सालमा कान्तिराजपथको शिलान्यास गरेका थिए ।
बाग्मतीपारि मकवानपुर खण्डको अधिकांश भाग दोहोरो बनाइएको आयोजनाले जनाएको छ । हेटौंडा जिरो किलोमिटरदेखि जितपुरसम्मको २२ किलोमिटरमा अब दोहोरो सवारी चल्न सक्छन् । ललितपुरमा ११ किमि सडक दोहोरो ट्रयाक बनाउन बाँकी छ ।
राजपथको बीचमा पर्ने बाग्मती नदीमा पुल निर्माणाधीन छ । बजेट अभावका कारण निर्माण सम्पन्न गर्न ढिलाइ भएको आयोजनाको दाबी छ । टीकाभैरवदेखि राजपथ निर्माण भएकाले त्यसलाई अहिलेकै अवस्थामा राजधानीको चक्रपथसम्म जोडेर सञ्चालन गर्न साँघुरो सडकका कारण समस्या हुने जिल्ला विकास समिति ललितपुरले जनाएको छ ।
चापागाउँ, ठेचो र सुनाकोठीको बस्तीको बीचबाट सातदोबाटोसम्म जोडिएको सडकले पछि राजपथको सवारी चाँप थेग्न नसक्ने महसुस भएको स्थानीय विकास अधिकारी विष्णु ढकालले बताए । 'त्यसैले टीकाभैरवदेखि नख्खुपुलसम्म जोड्ने नख्खु करिडोरलाई प्राथमिकता दिइएको हो' उनले भने । उपभोक्ता समिति, दलका स्थानीय नेता र जिल्ला विकास समितिले सर्वपक्षीय निर्णय गरी राजपथलाई नख्खुसम्म विस्तार गर्न राष्ट्रिय योजना आयोगमा समेत ज्ञापनपत्र बुझाएको ढकालले बताए । कच्ची सडक कालोपत्रे गर्न ट्रयाक निर्माण भएको एक वर्ष लाग्छ । त्यसका लागि एक अर्ब २१ करोड लाग्ने अनुमान छ ।
कान्ति राजपथ दक्षिणी ललितपुरको विकट भाग हुँदै हेटौंडा जोड्ने छोटो मार्ग हो । सबैभन्दा छोटो मानिने फर्पिङ-कुलेखानी-हेटौंडा सडक साँघुरो र घुमाउरो भएकाले ठूला सवारी चल्न सक्दैनन् । १ सय ३५ किलोमिटरको त्रिभुवन राजपथ र २ सय २० किलोमिटरको नौबीसे-नारायणगढ-हेटौंडा सडकको तुलनामा कान्तिराजपथ हेटौंडा जोड्ने छोटो र उपयुक्त राजपथ हुने इन्जिनियरहरूको दाबी छ । 'ललितपुरका दुर्गम भागलाई त छुन्छ नै' आयोजना प्रमुख श्रेष्ठले भने, 'कालोपत्रे भए हेटौंडा जोड्ने उपयुक्त राजमार्गसमेत बन्नेछ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks