Loving nepal news

Friday, September 10, 2010

अनमिनबारे एकमत * सरकार र माओवादीले एउटै पत्र पठाउने

सरोज अधिकारी/लोकमणि राई

काठमाडौ, भाद्र २६ - सरकार र माओवादीले नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) को समयावधि थपका सम्बन्धमा शनिबारसम्म सहमति कायम गरी राष्ट्रसंघीय सुरक्षापरिषद्मा एउटै धारणासहितको पत्र पठाउने भएका छन् । यसअघि सहमति जुट्न नसकेका कारण बेग्लाबेग्लै पत्र पठाएका सरकार र माओवादी प्रतिनिधिबीच शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा यसखाले सहमति भएको हो ।

माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले वार्ता सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिँदै सहमति कायम गरी एउटै पत्र पठाइने जानकारी दिए । केही विषय कुरा नमिलेकाले सरकार र पार्टी नेतृत्वसँग छलफल गरी शनिबारसम्म सहमति कायम गर्ने बैठकमा सहभागी सदस्यहरूले बताएका छन् । छलफलमा सरकारतर्फबाट गृहमन्त्री भीम रावल, संस्कृतिमन्त्री मिनेन्द्र रिजाल तथा माओवादीतर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य पुन सहभागी थिए ।

अनमिनको कार्यादेश र समयावधि थप सम्बन्धमा सिर्जित विवाद हल गर्न सरकारले बिहीबारै माओवादी नेतृत्वलाई सहमतिको छ बुँदे आधारपत्र पठाई वार्तामा बोलाएको थियो । रिजालले धेरै विषयमा सहमति नजिक पुगिसकेकाले थप छलफल गरी संयुक्त पत्र पठाइने जानकारी दिए । स्रोतका अनुसार सरकारद्वारा प्रस्तुत ६ मध्ये तीन बुँदामा माओवादीको सामान्य असहमति छ ।

सरकारले अन्तिम पटकका लागि अनमिनको म्याद ४ महिना थप्ने भनेको छ भने माओवादीले ६ महिना थप्नुपर्ने 'अन्तिमपटक' भन्ने शब्दावली झिक्नुपर्ने अडान लिएको छ । सरकारले लडाकु व्यवस्थापन पुससम्म सक्ने भनेकामा माओवादीले फागुनसम्मको प्रस्ताव गरेको छ । यसैगरी सेनाका अप्ठ्यारा फुकाउन तयार भए पनि लडाकु तथा हतियार व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता विपरीतका कार्य गर्न नपाउने माओवादी अडान छ ।

माओवादी नेता पुनका अनुसार सरकारसँग हुने सम्झौता आन्तरिक मार्गचित्रका रूपमा मात्र रहनेछ । 'राष्ट्रसंघमा भने अनमिनको अहिलेकै कार्यादेशमा म्याद थप्न पत्राचार गरिनेछ,' उनले भने । सुरक्षापरिषद्का स्थायी सदस्य मुलुकका नेपालस्थित प्रतिनिधिले फरक-फरक पत्र जाँदा निर्णय गर्न गाह्रो भएकाले सहमति कायम गर्न सुझाव दिँदै आएका छन् ।

अमेरिका, बेलायत र फ्रान्सका राजदूत र कार्यवाहक राजदूतले बिहीबारै प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाललाई भेटी अनमिनको कार्यादेशका विषयमा एकमत हुन आग्रह गरेका थिए । 'कार्यादेशका बारेमा पूर्ण सहमति नभइकन अनमिनलाई यहाँ प्रभावकारी रूपमा काम गर्न असम्भव हुने हाम्रो धारणा रहेको छ,' भेटबारे अमेरिकी दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'अनमिनको अनुगमनकारी भूमिकाको विषयमा पार्टीहरूबीच छलफल तथा सहमति जरुरी छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks