कान्तिपुर संवाददाता
विराटनगर, भाद्र २४ - कांग्रेस सभापतिका उम्मेदवार भीमबहादुर तामाङ, महामन्त्री उम्मेदवार नरहरि आचार्य र चक्रप्रसाद बाँस्तोला कार्यकर्ता भेटका क्रममा बिहीवार यहाँ आएका छन् ।
उनीहरुले महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा महासमिति सदस्यका साथै जिल्ला स्तरीय नेता तथा कार्यकर्तासँग छलफल गरे । उनीहरुले पत्रकारमाझ उपस्थित भएर आफूहरुको उम्मेद्वारी पार्टीलाई बलियो बनाउनका लागि भएको प्रष्ट्याए ।
सभापति पदका प्रत्यासी तामाङले पार्टीमा ब्यक्तिवाद हावी भएकाले आफूले उम्मेदवारी दिएको बताए । 'अहिले पार्टीमा वीपीले भने झै सुकिलामुकिलाहरु हावी छन्' उनले भने, 'त्यसकै विरुद्ध म उभिएको हुँ ।' अहिले सार्वजनिक स्थानमा एक्लै हिड्न नसक्नेहरु समेत आफुलाई ठूलो कांग्रेस भएको दावी गर्दै उम्मेदवार बनेको टिप्पणी गर्दै उनले भने, 'तिनीहरुलाई बेलामा नै चिनेर तहलगाउन नसके कांग्रेस अझ कमजोर भएर जाने छ ।'
आफ्नो उम्मेदवारीले पार्टी भित्रका अतिवादीहरु त्रसीत भएको भन्दै तामाङले कोइराला र देउवाको काम सवै हेरी सकेकाले आफ्नो पक्षमा 'पल्ला भारी' हुने दावी गरे । दुई पक्ष हुदा हार्ने र जित्नेबीचको दुरी बढ्ने खतरा रहेको वेला आफ्नो उम्मेदवारीले त्यसलाई समेत कम गरेको उनको भनाइ थियो ।
महामन्त्रीका उम्मेदवार आचार्यले आफुहरु तेस्रो धार नभइ विचारको एक समुह भएको दावी गरे । उनले आफुहरुले कसैलाई हराउन नभइ आफुहरुले जित्न उम्मेदवारी दिएको बताए । उनले पार्टीमा सैद्धान्तिक बिचलन आइरहेकोमा चिन्ता ब्यक्त गर्दै सञ्चा र इमान्दार कार्यकतालाई सोचेर निर्णय लिन आग्रह गरे ।
अर्का नेता चक्रप्रसाद बाँस्तोलाले आफुहरु सञ्चा विपी चिन्तनको हिमायती भएको दावी गरे । टोलीले जिल्लामा सवै पक्षसँग भेटी आफुहरुलाई सहयोग गर्न आग्रह गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks