हङकङ, भाद्र २३ - नेपाल चीन कूटनीतिक सम्बन्धको ५५ औ बर्षगाँठको अवसरमा मंगलबार बेइजिङस्थित नेपाली दूतावास प्रांगणमा बुद्धमूर्ति प्रतिस्थापन गरिएको छ ।
नेपालस्थित विश्व शान्ति विहारका मुख्य भिक्षु ज्ञानपुणिर्क महाअस्थवीर, चिनियाँ बुद्धिष्ठ एसोसिएसनमा उपमहासचिव यङ जुई, हृवाइट पेगोडाका साइ रु कोङ र वाइ टासी लगायतले सयुंक्तरुपमा प्रतिमा प्रतिस्थापन गरेका थिए ।
५ सय केजी तौलको २.७ मिटर अग्लो बुद्धमूर्ति बेइजिङस्थित टूर म्यानेजमेन्ट एसोसिएसनले दूतावासलाई उपहार दिएको हो । उक्त मूर्ति चीनकै मूर्तिकारले बनाएको दूतावासले जनाएको छ ।
मूर्ति प्रतिस्थापनका क्रममा सोह्र भिक्षुले बौद्धिक मन्त्रोचारण गरेका थिए । समारोहमा अन्तिम पन्ध्र मिनेट भने नेपाली भिक्षु द्वारा थेरावाद संस्कार अनुरुप पुजाअर्चना गरिएको थियो ।
बुद्धमूर्ति प्रतिस्थापन नेपाली राष्ट्रिय विभूतिलाई चीनमा चिनाउन भएका प्रयासहरुमध्येका अर्को एउटा कडी भएको चीनका लागि नेपाली राजदूत टंक कार्कीले बताए । 'करोडौ बौद्ध धर्मावलम्बीहरु रहेको चीनमा दुई देशको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन बुद्धधर्मले ठूलो योगदान पुर्याएको छ,' राजदूत कार्कीले भने, 'अनावरित बुद्धमुर्तिले दूतावासमा आउने चिनियाँ जनतालाई प्रत्येकपटक नेपाल स्मरण गराउनेछ ।'
प्रतिस्थापन समारोहमा बेइजिङस्थित श्रीलंकाली र कम्बोडियाली राजदूत, विभिन्न दूतावास लगायत चीनको धार्मिक मामिला विभागका अधिकारीहरुको उपस्थिती थियो ।
छिन्दाओमा पहिलो नेपाली बौद्ध भिक्षुको प्रतिमा राखिदै
चीन भ्रमण गर्ने पहिलो नेपाली बौद्ध भिक्षु बुद्धभद्रको प्रतिमा छिट्टै उनले पहिलो पाइला टेकेको छिन्दाओ सहरमा अनावरण गरिने भएको छ ।
इस्वी सम्वत ३६९ मा कपिलबस्तुमा जन्मिएका बुद्धभद्र ४०९ मा भारतको काश्मीर हुँदै चीनको छिन्दाओ सहर आइपुगेका थिए । यिनले चीनका प्रख्यात बौद्ध भिक्षु फासियान सँग मिलेर बुद्धका दर्जनौ कृतिलाई चिनियँ भाषामा अनुवाद गरी बुद्धदर्शन र धर्मलाई चीनमा विकास विस्तार गर्न अतुलनीय योगदान पुर्याएका थिए । गौतम बुद्धकै बंशज बुद्धभद्रलाई चिनियँ बौद्धमार्गीहरु गुरुका रुपमा पुज्ने गर्छन् ।
दक्षिणी चीनको च्याङ्सी प्रान्तस्थित लुसान पहाडको फेदीमा रहेको बुद्धभद्रको समाधिस्थलमा नेपाली शैलीको चैत्य निर्माण गरिन लागेको जानकारी उक्त प्रान्तका नगर उपप्रमुख चिउ च्याङले गराएको समेत राजदूत कार्कीले सुनाए ।
इस्वी सम्वत ४२९ मा बुद्धभद्रले मृत्युवरण गरेका थिए । 'चिनियाँ बुद्धिष्ट सम्प्रदायमा अत्यन्तै लोकपि्रय बुद्धभद्रलाई राष्ट्रले भृकुटी र अरनिकोलाई जत्तिकै राष्ट्रिय विभुतिको सम्मान दिइनु पर्छ,' राजदूत कार्कीले भने 'बुद्धभद्र नेपाल चीन जनसम्बन्धको पहिलो ऐतिहासिक कडी हुन् ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks