Loving nepal news

Tuesday, September 14, 2010

होम टिभी यसै साता बजारमा



कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ३० - होम टिभीले डाइरेक्ट टु होम (डिटिएच) सेवा यसै साता व्यावसायिक रूपमा उपभोक्तामाझ लैजाने भएको छ । यो कम्पनी डिचिएस सेवा सञ्चालन गर्ने पहिलो हुने भएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष डिबी शेरचनका अनुसार मुलुकभर डिटिएचको सेटअप बक्स बिक्री सुरु गरिनेछ । 'हामीले सबै क्षेत्रमा पुर्‍याउन डिलर र सबडिलर नियुक्त गरिसकेका छौं,' उनले भने, 'त्यहाँ सेटअप बक्स पुगेको छ ।'

कम्पनीले दुई सातादेखि डिलरमार्फत ५ हजार डिटिएच दिएर परीक्षण प्रसारण गरेको उनले बताए । 'परीक्षण सफल भएपछि व्यावसायिक बिक्री सुरु गर्न लागेका हौं,' उनले भने । होम टिभीले दुई साताअघि बुकिङ खुला गरेको थियो । 'मुलुकभर १ लाख २ हजारले बुकिङ गरेका छन्,' उनी थप्छन्, 'दसैं अगाडि ५० हजार र मंसिरभित्र सबैलाई सेवा दिन्छौं ।' अहिले कम्पनीसँग ३० हजार सेटअप बक्स छन् । थप २० हजार १५ दिनभित्र आउने उनको भनाइ छ । उपभोक्ताको माग बढी भएपछि १५ दिनमै ल्याउने उनले बताए ।

अहिले भएको बुकिङ पहाडी क्षेत्रका उपभोक्ताले बढी गरेको उनले बताए । सुरुमा ४० वटा च्यालनसहितको सेवा प्रदान गरिने शेरचनले जानकारी दिए । सुरुका उपभोक्ताबाट सेटअप बक्स किन्न शुल्क लिएर मंसिरसम्म मासिक शुल्क नलिई सेवा दिने कम्पनीले जनाएको छ । ८० वटा च्यालन सञ्चालन गर्नेगरी लाइसेन्स लिएको कम्पनीले मंसिरसम्म उपभोक्ताको माग हेरेर ८० वटै च्यानलसहितका विभिन्न प्याकेज ल्याउने भएको छ । 'हामी उपभोक्ताबाट प्रतिक्रिया लिन्छौं,' शेरचनले भने, 'त्यस आधारमा विभिन्न प्याकेज ल्याउँछौं ।'

चीन र भारतबाट आएका डिटिएच विस्थापित गर्न सरकारको पहल आवश्यक भएको उनको भनाइ छ । 'नेपाली कम्पनीलाई सेवा सञ्चालन गर्न अनुमति दिएपछि सरकारले अवैध डिटिएच हटाउने काम गर्नुपर्छ,' उनले भने, 'अहिलेसम्म सूचना निकाल्ने कामबाहेक केही भएको छैन । कारबाही गरेर देखाउनुपर्‍यो ।' हाल छिमेकी मुलुकबाट आएका १ लाख ५० हजार डिटिएच नेपालमा सञ्चालनमा रहेको अनुमान छ ।

ग्रामीण क्षेत्रमा सूचना पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने डिटिएच कम्पनीलाई सरकारले सहयोग नगरेको उनले बताए । 'ग्रामीण भेगका कम आय भएका व्यक्ति यसको प्रमुख उपभोक्ता हुन्,' उनले भने, 'तिनीहरूले सस्तोमा सेवा लिन सक्ने अवस्था सिर्जना गर्न सरकारले भन्सार, भ्याट, आय कर र सेवा शुल्कमा कम्पनीहरूलाई सहुलियत दिनुपर्छ ।'


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks