श्यामसुन्दर शशि
जनकपुर, भाद्र २८ - राजीनामा दिएपछि फर्सदिला भएका प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार आफू भूमिगत बसेको गाउँ धनुषाको मुरिवा आएका छन् । मुरिवामा उनले पुराना सहकर्मीसित भेट गरे ।
लामो समयपछि भए पनि आफ्नो गाउँलाई सम्झिएको भन्दै मुरिवाबासीहरुले प्रधानमन्त्रीलाई भव्य स्वागत गरेका थिए । 'प्रधानमन्त्रीसँग बसेरै छुट्टाछुट्टै भेट गर्ने ईच्छा थियो तर समय अभावले पाइएन,' केही स्थानीयको गुनासो थियो । यद्यपि प्रधानमन्त्रीले केही पुराना साथीहरुसँग मन्चमै भलाकुसारी गरे ।
भूमिगतकालमा आफूहरुलाई संरक्षण दिने तथा पार्टीको सेल्टरसमेत रहेको धनुषाको विकट गाउँ मुरिवा पुगेपछि उनले भने, 'मुरिवालाई सम्झिएपछि आफैलाई रोक्न सकिन र यहाँसम्म आइपुगे ।'
२०३० सालमा प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालिन महासचिव तथा वर्तमान अध्यक्ष झलनाथ खनालसहित नेपाल कम्युनिष्ट पार्टी मालेका नेताहरु मुरिवामा लामो समय बसेका थिए । त्यसबेला प्रधानमन्त्री नेपाल तत्कालिन मालेको धनुषा जिल्ला सचिव भएर काम गरेका थिए । नेपाल महासचिव भएका बेला मुरिवामै कम्युनिष्ट पार्टीको 'हेडक्वार्टर' पनि स्थापना गरिएको थियो ।
मुरिवाको ततमटोली (तत्मा जातिको टोल) र दुसाधटोलीमा उनले महिनौं विताएका थिए । उनका दर्जनौं सहकर्मीहरु अझै पनि जिवितै छन् । नेपाल मुरिवावाटै पक्राउ परेका थिए र जलेश्वर जेलमा १८ महिना बिताएका थिए । प्रधानमन्त्रीले जनकपुरका विभिन्न कार्यक्रममा मुरिवाको चर्चा गर्न छुटाउँदैनन् ।
आफ्ना पुराना राजनीतिक सहकर्मीहरुसँग भेट्न धनुषाको मुरिवा गाउँ जानु अघि प्रधानमन्त्रीले एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाको निवासमा खाना खाएका थिए । त्यसअघि उनले पार्टी कार्यकर्ताहरुसँग पार्टी कार्यालयमै कुरा गरेका थिए ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री सुरेन्द्र पाण्डे, पोलिटव्युरो सदस्य झा, केन्द्रीय सदस्य रघुवीर महासेठ, वैकल्पिक केन्द्रीय सदस्य शत्रुघ्न महतो, योगनारायण यादव, श्रीप्रसाद साहलगायतका नेताहरु पनि मुरिवा गएका थिए । मुरिवाबाट फर्केपछि प्रधानमन्त्रीले अपरान्ह जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित जिल्ला स्तरीय एमाले कार्यकर्ता भेलालाई सम्वोधन गरेका थिए ।
असोज १० मा प्रधानमन्त्री पक्का
प्रधानमन्त्री नेपालले नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेको कारण आम जनतामा निरासा छाएको उल्लेख गर्दै असोज १० गतेको निर्वाचनमा मुलुकले प्रधानमन्त्री पाउने दावी गरेका छन् । 'अगामी निर्वाचनबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ,' सोमवार जनकपुरस्थित एमाले पार्टी कार्यालयमा सञ्चारकर्मीसित उनले भने ।
एमालेको सहमति प्रस्तावमा अन्य दल पनि आउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । उनले माओवादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री नेपालले सांसद किनबेच गर्ने गतिविधि गणतन्त्रात्मक व्यवस्था विरोधी रहेको बताउँदै माओवादी नेता कृष्णवहादुर महरा र चिनियाँ अधिकारीबीचको टेलिफोन वार्ताबारे संसदमा छलफल हुने तथा घटनाको छानबिन गरिने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks