Loving nepal news

Wednesday, September 22, 2010

बैंककबाट ल्याएको ४२ लाख नक्कली भारु बरामद


केदार ओझा

काठमाडौ, आश्विन ७ - नेपाल प्रहरीले बुधबार थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं ल्याएको भारतीय नक्कली रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ ।

थाई एयरवेजको टिजी ३१९ को जहाजबाट बुधबार काठमाडौं आएका यात्रु टेकबहादुर कार्कीको साथबाट प्रहरीको विषेश टोलीले उक्त रकम बरामद गरेको हो । बरामद नोट अभियुक्तले पाकिस्तानको इस्लामावादबाट बैंककक हुँदै काठमाडौं ल्याएको खुल्न आएको छ ।

विषेश टोलीका डिआइजी सुशीलवरसिंह थापाका अनुसार कार्कीबाट हजार दरका कुल ४१ लाख ९० हजार नोट बरामद भएको छ । 'अभियुक्त कार्की केही दिनअघि काठमाडौंबाट पाकिस्तानको राजधानी उडेका थिए,' डिआइजी थापाले भने, 'उनी काठमाडौंबाट इस्लामावाद उड्नेबित्तिकै हामीलाई शंका लागेको थियो ।' अभियुक्त कार्कीले काठमाडौंबाट उड्दा लगेको सुटकेसको सट्टामा अर्कै रङको सुटकेस ल्याएको देखेपछि शंका लागी जाँच गर्दा नक्कली भारतीय मुद्रा भेटिएको हो ।' कार्कीलाई विमानस्थलमै लिन आउनेहरू विनोदविक्रम शाह र विनोद खत्री पनि पक्राउ परेका छन् ।

'भारत र पाकिस्तान बाहेकका देशबाट नेपाली नागरिकलाई नै भरिया बनाई नक्कली भारतीय मुद्रा नेपालमा भित्रिएको सम्भवतः यो पहिलो घटना हो,' उनले भने, 'काठमाडौं विमानस्थलमा पाकिस्तानी रुटबाट आएको भारतीय मुद्रा पटकपटक बरामद भएपछि रुट परिवर्तन गरेका हुनसक्छन् ।'

अनुसन्धानमा संलग्न प्रहरी टोलीले पाल्पा देवीनगर स्थायी निवासी कार्की यसअघि पनि पटकपटक यो धन्धामा सक्रिय भएको हुनसक्ने अनुमान गरेको छ ।

विषेश सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको प्रहरीको विषेश टोलीले कार्की उत्रे लगत्तै बाहिर निस्कने क्रममा उनले बोकेको ब्यागेज एक्सरे जाँच गर्दा नोटका बन्डल देखिएपछि पछ्याएको थियो ।

प्रहरीले कार्की 'भरिया' मात्रै भएको आशंका गरेको छ । मुख्य कारोबारीलाई पक्राउ गर्ने क्रममा पछ्याउँदै जाँदा विमानस्थलमै लिन आएका दुईसहित उनीसँगै यात्रा गरी काठमाडौं आएका चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यका अनुसार बितेको दस महिनामा मात्रै प्रहरीले दुई करोडभन्दा बढी नक्कली भारतीय मुद्रा बरामद गरेको छ । पछिल्लो पटक एक अपांग पाकिस्तानी नागरिकलाई प्रहरीले हि्वल चेयरमा बस्ने फोमभित्र नक्कली नोट लुकाएर बाहिर ल्याउने क्रममा पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks