काठमाडौं, भाद्र २७ - प्रधानमन्त्री निर्वाचनमा सात पटकसम्म बहुमत जुटाउन नसकेपछि माओवादीले फेरि संघर्षमा जाने निर्णय गरेको छ ।
आइतबार सकिएको केन्द्रीय समिति बैठकले असोजभरी देशभर भित्तेलेखन गर्ने तथा जिल्ला जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ । 'आज सकिएको माओवादी केन्द्रीय समिति बैठकले शान्ति संविधान र राष्ट्रिय स्वाधीनता तथा जनजीविकाका सवाललाई लिएर फेरि शान्तिपूर्ण संघर्ष गर्ने निर्णय गर्यो,' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
बैठकमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको तीन प्रतिवेदनलाई अध्ययनका लागि जिल्ला तहसम्म पुर्याउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । अहिलेका लागि भने जनताको संघीय गणतन्त्रलाई कार्यदिसा बनाएर अघि बढ्ने बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री चुनावबाट बाहिरिने
माओवादीले जारी प्रधानमन्त्री निर्वाचनबाट बाहिरिने निर्णय गरेको छ । तर सात पटकसम्म लगातार भएको निर्वाचनमा मत दिने दल तथा सभासद्हरुसँग एकपटक अन्तर्क्रिया गरेरमात्र बाहिरिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
यससम्बन्धि निर्णय भने स्थायी कमिटी बेठकले गर्ने छ । सातपटकसम्म भएको निर्वाचनमा माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेलले बहुमत पुर्याउन सकेका छैनन् । 'यो परिणामविहीन चुनावको निरन्तरता चाहेका छैनौं,' शर्माले भने ।
'टेप साँचो हुन सक्छ'
माओवादीले अपरिचित चिनियाँसँग विदेश विभाग प्रमुख कृष्णबहादुर महराले आर्थिक लेनदेनका विषयमा गरेको भिडियो टेप साँचो हुन सक्ने बताएको छ । 'त्यो टेप साँचो हुन पनि सक्छ, नहुन पनि सक्छ,' प्रवक्ता शर्माले भने, 'तर आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको विदेशी शक्तिले निर्वाचनको मुखमा षड्यन्त्रपूर्ण तरिकाले जसरी सार्वजनिक गर्यो यो राष्ट्रिय सुरक्षासंग जोडिएको छ ।' टेप सार्वजनिक गरेर गोपनियताको हकको उलंघन भएको माओवादी जिकिर छ ।
माओवादी बैठकले राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद अहिलेकै कार्यादेशमा ६ महिना थप गर्न आग्रह गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks